प्रदेशसभा बैठक स्थगित

कर्णाली प्रदेशसभाको बुधवारको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका कारण बैठक स्थगित भएको हो । बैठक सुरु भएलगत्तै एमालेका प्रमुख सचेतक गुलाबजङ्ग शाहले सरकारले निषेध आदेश जारी गरेका बेला संसद् सञ्चालन गर्नुको औचित्य नहुने बताएका थिए । कोरोना महामारीले जनता लकडाउनमा भएका बेला संसद् चलाउनु उपयुक्त नहुने भन्दै उनले सदन स्थगित गर्न आग्रह गरेका हुन् । प्रमुख सचेत शाहले भने, ‘जनता कोठाभित्र थुनिएका छन्, यस्तो अवस्थामा संसद् चलाउनुको औचित्य हुँदैन ।’ जनताले दुःख पाइरहेको अवस्थामा सरकारले साथ दिनुको साटो सदन सञ्चालन गरिनु उपयुक्त नहुने उनको धारणा थियो ।

बैठकमा एमालेका सबै प्रदेशसभा सदस्यहरूले बैठक स्थगित गर्नुपर्ने माग राखेर उभिएका थिए । एमालेका सांसदको अवरोधपछि सभामुख राजबहादुर शाहीले पटक–पटक बैठक सञ्चालनका लागि दलीय सहमति गर्न आग्रह गरेपनि सहमति नजुट्दा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो । प्रमुख प्रतिपक्ष दल एमालेले कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताएको छ ।

प्रकाशित मितिः   १६ बैशाख २०७८, बिहीबार ०५:०३