विकास बजेट कोरोना कोषमा

कर्णाली सरकारले विकास बजेटबाट एक अर्ब रकमान्तर गरी कोरोना प्रतिकार्यमा खर्चिने भएको छ ।

कर्णाली प्रदेश सरकारले विकास बजेट कटौती गरी कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा उपचारमा खर्च गर्ने भएको छ । कोरोना प्रतिकार्य र स्वास्थ्य पूर्वाधार निर्माणमा लगानी गर्न सरकारले ५० करोड बजेट रकमान्तर गरेको छ । प्रदेश सरकारले यही आर्थिक वर्षमा स्वास्थ्यमा थप एक अर्ब लगानी गर्न लागेको हो । तत्कालका लागि ५० करोड रकमान्तर गरिएको र केही दिनभित्र अरु ५० करोड रकमको व्यवस्था गरिने सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले बताइन् । सरकारले विकास बजेट कटाएर कोरोना प्रतिकार्य योजनामा खर्च गर्न लागेको हो ।

बिहीवार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री केसीले कोरोना रोकथाम, उपचार तथा प्रतिकार्यका लागि एक अर्ब रूपैयाँ खर्चिने तयारी गरिएको जनाइन् । ‘तत्काल विकास खर्चबाट रकमान्तर गरेर कोभिड कोषमा ५० करोड राखिएको छ,’ उनले भनिन्, ‘यो कार्यान्वयनमा गएपछि थप ५० करोड व्यवस्था गरिने छ ।’ सरकारले सोही कोषबाट प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड, रुकुम–पश्चिमको चौरजहारी सामुदायिक अस्पताल र अन्य रणनैतिक अस्पतालहरूलाई १२ करोड रूपैयाँ पठाइसकेको छ ।

कर्णाली सरकारले विकास बजेटबाट एक अर्ब रकमान्तर गरी कोरोना प्रतिकार्यमा खर्चिने भएको छ ।

प्रदेश अस्पताल तथा जिल्ला अस्पतालहरूमा आईसीयू र आइसोलेसन सुविधा थप गर्ने सरकारको तयारी छ । मन्त्री केसीले प्रदेश अस्पतालमा तत्कालै आईसीयू बेड थपिने बताइन् । उनका अनुसार कोरोना संक्रमितलाई उपचार गर्न एक सय बेड थपिने छ । हाल प्रदेश अस्पतालमा कोरोना संक्रमितका लागि २५ वटा मात्रै आईसीयू बेड छन् ।

सरकारले स्वास्थ्य जनशक्तिको अभाव पनि पूर्ति गरिने बताएको छ । अहिले एक सय नौ जना चिकित्सकसहित स्वास्थ्यकर्मीहरू करारमा लिएर परिचालन गरिएको बताइएको छ । एक सय ५० जना सहायकस्तरका स्वास्थ्यकर्मीहरूको भर्ना प्रक्रिया थालिएको सरकारको भनाइ छ । कर्णालीमा दरबन्दीको एक तिहाई मात्रै स्वास्थ्यकर्मी कार्यरत छन् । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि मुख्य चुनौति स्वास्थ्य जनशक्ति रहेको बताएको छ । अक्सिजनको अभावलाई पूर्ति गर्न सबै जिल्लामा अक्सिजन प्लान्ट बनाउने प्रक्रिया थालिएको सरकारका प्रवक्ता मन्त्री केसीले बताइन् । प्रदेशका १० वटै जिल्लामा अक्सिजन प्लान्ट निर्माणका लागि ४०÷४० लाख रूपैयाँ विनियोजन गरिएको छ ।

हाल सुर्खेत र जुम्लामा मात्र अक्सिजन प्लान्ट निर्माण भएका छन् । प्रदेशभरका अस्पतालहरूमा चार सय ७३ अक्सिजनका सिलिण्डर छन् । आन्तरिक क्षमताले नभ्याउने भएकाले नेपालगन्जबाट दैनिक एक सय ५० सिलिण्डर अक्सिजन आपूर्ति गर्ने व्यवस्था मिलाइएको मन्त्री केसीले जानकारी दिइन् ।

यस्तै, सरकारले गरिब तथा विपन्न समुदायका लागि कोभिड उपचारमा आवश्यक पर्ने औषधि र रेम्डीशिविर सञ्चालन गर्ने जनाएको छ । कर्णालीमा कोरोनाका तीन हजार संक्रमित गम्भीर बिरामी हुन सक्ने प्रदेश सरकारको अनुमान छ । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी समेत सम्हालेकी मन्त्री केसीले सोहीअनुसार सरकारले तयारी अघि बढाएको बताएकी छन् ।

प्रकाशित मितिः   १७ बैशाख २०७८, शुक्रबार ०५:००