फेरि बन्दाबन्दीको मार
नागरिकहरूले गतवर्ष कै जस्तो कष्टकर जीवन पद्धतिमा प्रवेश गर्नु परेको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा पर्याप्त पूर्वतयारी नगरेरै सरकारले धमाधम निषेधाज्ञा लागू गरेको छ । निषेधाज्ञा भनेको एक प्रकारको बन्दाबन्दी नै हो । यस्तो बेला मानवअधिकार र व्यक्तिगत स्वतन्त्रताको समेत हनन् हुन्छ । निषेधाज्ञामा जनजीवन कष्टप्रद हुनेछ । दिनभरि काम गरेर हातमुख जोड्नुपर्ने नागरिक अब सबैभन्दा ठूलो मारमा पर्नेछन् । यसरी मानिसहरू हिँड्डूलमा रोक लगाउन सकिए पनि संक्रमण नियन्त्रण गर्न भने परीक्षण, उपचार तथा स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा जोड दिनुपर्छ । संक्रमण समुदायमा व्यापक भइसकेपछि स्थानीय प्रशासनहरूले निषेधाज्ञा जारी गरेका छन् । निषेधाज्ञाले संक्रमण रोकथाममा भने अवश्य सहयोग पु¥याउने छ । तर, संक्रमण थेग्न प्रभावकारी उपाय यो मात्रै होइन । अघिल्लो वर्षको बन्दाबन्दी र निषेधाज्ञामा रोगभन्दा पनि सर्वसाधारणलाई भोकले सताएको थियो । त्यतिबेला ज्याला मजदुरी गरेर छाक टार्नुपर्ने बाध्यमा रहेका नागरिक निकै मर्कामा परेका थिए । त्यो नियति यस पटक पनि दोहोरिने निश्चित प्रायः छ ।
सरकारको अहिलेको तयारी र विगतका गतिविधि हेर्दा नागरिकले सास्ती झेल्नैपर्ने देखिन्छ । कोरोना संक्रमणको त्रास एकातिर छ भने अर्कोतिर दैनिक गुजरा कसरी चलाउने भन्ने चिन्तामा सर्वसाधारणमा छन् । विशेषज्ञहरूका अनुसार कोभिड–१९ को दोस्रो लहर अत्यन्त डरलाग्दो छ । छिमेकी मुलुक भारतले संक्रमणलाई थेग्न सकिरहेको छैन । त्यही भयावहस्थिति नेपालमा र खासगरी कर्णाली प्रदेशमा देखिन सक्ने आकलन गरिएको छ । रोजगारीका लागि कर्णालीबाट भारत जानेहरूको संख्या ठूलो छ । उनीहरू त्यहाँ संक्रमण बढ्दै गएपछि आफ्नो गाउँ फर्किएका छन् । जसले गर्दा संक्रमणको उच्च जोखिममा यो प्रदेश छ । भारतबाट फैलिएको भनिएको कोभिड–१९ को दोस्रो लहर नेपाल भित्रिरहेको छ । भारतमा काम गर्दै बसेका २० भन्दा बढी नेपालीको कोरोनाका कारण मृत्यु भएको छ । भारतले सम्हाल्न नसकिरहेको संक्रमण कर्णाली जस्तो स्वास्थ्य पूर्वाधार कमजोर भएको प्रदेशमा फैलिए अवस्था कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ ।
कर्णालीमा दिनहुँ नयाँ संक्रमित थपिनेक्रम बढ्दो छ । अस्पतालका बेडहरू संक्रमितले भरिएका छन् । कोरोना विशेष अस्पतालमा प्राणवायु (अक्सिजन) समेतको अभाव छ । स्वास्थ्य सामग्री र जनशक्तिको समेत राम्रो प्रबन्ध छैन । यसपटक प्रदेश सरकारले कारोना नियन्त्रणका लागि पूर्वतयारी, रोकथाम तथा उपचारमा उल्लेख्यि काम गर्न नसकेको हो । गतवर्ष लकडाउका बेला कयौं व्यक्तिले आत्महत्या गरे । उपचार नपाएर अस्पतालको मुखै देख्न नपाई धेरैले ज्यान गुमाए । रोजगारी गुमाएका कति नागरिक भोकभोकै बस्न बाध्य भए । रोग र भोकबाट निम्तिन सक्ने अप्रिय अवस्था आउन नदिन सरकार सजग हुनुपर्छ । विपद्मा परेका आफ्ना नागरिकको जीउ र ज्यानको रक्षा गर्नु उसको दायित्व हो । यसका लागि उचित व्यवस्थापन गर्ने संयन्त्रको स्थापना सरकारले गर्नुपर्छ । अहिलेको संक्रमण मूलतः तपाईं हाम्रो लापरवाहीका कारण नै बढेको हो । फेरि पनि नबिर्सौं, हामी सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै अनुशासित र व्यवस्थित जीवनशैली अपनाऊँ ।
प्रकाशित मितिः १५ बैशाख २०७८, बुधबार ०५:००
साझा बिसौनी ।