एकैदिन दुई सय बढीमा संक्रमण पुष्टि
कर्णाली प्रदेशमा मंगलवार एकैदिन दुई सय एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आरटी–पीसीआर विधिबाट एक सय ३८ र रेपीड–एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६३ जनामा संक्रमण भेटिएको हो । कोरोना पुष्टि हुनेहरूमा सुर्खेतका एक सय २९, जाजरकोटमा ३७, दैलेखका १५ र सल्यानका ११ जना छन् । यस्तै, मंगलवार नै कालीकोटमा सात, रुकुम–पश्चिम र जुम्लामा एक÷एकजना संक्रमित पुष्टि भएका हुन् ।
योसँगै प्रदेशभर हालसम्म्म कोरोना भाइरसको संक्रमण पुष्टि हुनेहरूको संख्या आठ हजार पाँच सय ८४ पुगेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो तथ्याङ्कमा कर्णालीमा सक्रिय कोरोना संक्रमितको संख्या सात सय सात जना रहेको छ । जसमा सुर्खेतका मात्रै चार सय ८६ संक्रमित छन् । यस्तै, सल्यानमा ९६, दैलेखमा ५४, कालीकोटमा २१, जाजरकोटमा ४९ र रुकुम–पश्चिममा एक जना सक्रिय संक्रमित छन् ।
तिला गाउँपालिका–२ जुम्लाकी ७६ वर्षीय एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । वैशाख १२ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा भर्ना भएकी उनको १३ गते राति ज्यान गएको हो । योसहित प्रदेशमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
प्रकाशित मितिः १५ बैशाख २०७८, बुधबार ०५:००
साझा बिसौनी ।