संक्रमण बढ्दो, सतर्कता शून्य
अस्पतालमा भर्ना भएका संक्रमितमध्ये ९६ प्रतिशतको अवस्था जटिल
वैशाख महिना लागेयता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिमा फैलिएको छ । पछिल्ला दिनहरूमा समुदायस्तरमा कोरोनाका संक्रमित छ्यापछ्याप्ती भेटिन थालेका हुन् । कर्णाली प्रदेशमा संक्रमणको दर ह्वात्तै बढेको छ । गएका दुई सातामा प्रदेशमा ६ सय भन्दा बढीमा संक्रमण देखिएको हो । हालसम्म कर्णालीमा कोरोना संक्रमणका कारण ३४ जनाले ज्यान गुमाएका छन् ।
सोमवार मात्रै एक सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहितको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा सक्रिय संक्रमितको संख्या चार सय ८९ जना रहेको छ । तीमध्ये धेरैजसो संक्रमित लक्षणसहितका छन् । गम्भीर प्रकृतिका संक्रमितको संख्या बढ्दै गएकाले भयावह अवस्था आउन सक्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् । सुुर्खेतमा तीन सय ६६, जाजरकोटमा १६, दैलेखमा ४१ र सल्यानमा ६६ जना सक्रिय संक्रमित छन् । वीरेन्द्रनगर कोरोनाको ‘हट स्पट’ जस्तै बनेको छ । यहाँ उच्च जोखिम देखिएको हो । सुर्खेतमा पुष्टि भएका अधिकांश संक्रमित वीरेन्द्रनगरका हुन् । संक्रमणको अवस्था विकराल बन्दै गए पनि स्वास्थ्य सावधानीमा भने लापरबाही बढ्दो छ । सार्वजनिक स्थलहरूमा भइरहेको हेलचक्य्राइँले कोरोना महामारीले भयावह रूप लिनसक्ने जोखिम बढाएको छ ।
कोरोना संक्रमण बढेपछि सरकारले सहरी क्षेत्रका विद्यालयहरू बन्द गराएको छ भने सभा–सम्मेलन र भेला तथा भिडभाड हुने गतिविधिमा रोक लगाएको छ । तर, त्यसको बेवास्ता गर्दै मानिसहरू निष्फिक्री जमघट गरिरहेका देखिन्छन् । बजारमा क्षेत्रमा भिडभाड बाक्लै छ । सामाजिक दूरीलगायतका अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको छैन । कोरोना महामारीलाई गिज्याउने खालका दृश्य बजारमा देखिने गरेका हुन् । यद्यपि स्थानीय प्रशासनले आज मधयरातिदेखि जिल्लाभर निषेधाज्ञा जारी गर्ने भएको छ । संक्रमण बढ्दै गएको र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरिएको पाइएपछि प्रशासनले सुर्खेतमा संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा गरेको छ । समुदायमा संक्रमण व्यापक भइसकेको अवस्थामा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो ।
संक्रमितको संख्या बढेसँगै अस्पतालमा गम्भीर प्रकृतिका बिरामी चाप पनि बढेको छ । यसरी नै संक्रमित थपिँदै गए उपचारमा समस्या हुने चिकित्सकहरूले बताएका छन् । केही दिनयता कर्णालीमा दैनिक सरदर एक सयको हाराहारीमा लक्षणसहितका संक्रमित भेटिन थालेका हुन् । संक्रमितको संख्या बढेपछि अस्पतालहरूमा बेड र अक्सिजनको अभाव हुन थालेको छ । प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. के.एन. पौडेलले अस्पतालमा भर्ना भएका संक्रमितमध्ये ९६ प्रतिशत जटिल प्रकृतिका रहेको बताए ।
प्रदेश अस्पतालमा अहिले २८ जना कोरोना संक्रमितले उपचार गरिरहेका छन् । तीमध्ये २६ जनालाई अक्सिजन दिनुपरिरहेको डा. पौडेल बताउँछन् । ‘अब अस्पतालमा अक्सिजनको समेत अभाव हुने देखिन्छ,’ उनले भने, ‘यही अवस्था रहे अस्पतालले बिरामी थेग्न मुस्किल छ ।’ प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट भए पनि मेसिन बिग्रिएकाले हाल सञ्चालनमा छैन । अस्पतालमा ४० वटा अक्सिजन सिलिण्डर छन् । डा. पौडेलले भेन्टिलेटरमा राखिएका संक्रमितलाई दुई–तीन घण्टाको फरकमा एउटा अक्सिजन सिलिन्डर फेर्नुपर्ने बताए ।
कर्णाली प्रदेश अस्पतालमा हाल कोरोना संक्रमितको उपचारका लागि २५ आईसीयू र आठ वटा भेन्टिलेटर बेड छुट्याइएको छ । तर, बिरामी २८ जना राखिसकिएको पौडेलले जनाए । मानिसहरूले कोरोनालाई अझै सामान्य रूपमा लिए अवस्था थप जटिल बन्दै जाने उनी बताउँछन् । स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा नगर्दा यस्तो अवस्था आएको उनको भनाइ छ ।
भारतमा कोरोना संक्रमणले भयावह रूप लिएपछि रोजगारीका लागि त्यहाँ रहेका कर्णालीवासी धमाधम घर फर्किएका छन् । जसले गर्दा पनि संक्रमणको जोखिम उच्च बनाएको छ । त्यसरी फर्कनेहरूको सीमा नाकाहरूमा निगरानी समेत गरिएको छैन । उनीहरू सिधै गाउँ जान थालेपछि झनै जोखिम बढेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार चैत १३ गते यता तीन वटा नाकाबाट भारतबाट फर्किएका झण्डै ६ हजार कर्णाली भित्रिएका छन् । प्रदेश भित्रिने मुख्य नाका सुर्खेतको बबई र कुहिने तथा सल्यानको कपुरकोट भएर उनीहरू कर्णाली आएका हुन् ।
प्रकाशित मितिः १४ बैशाख २०७८, मंगलवार ०५:००
साझा बिसौनी ।