किटजन्य रोगको जोखिममा कर्णाली

सुर्खेत: कर्णाली प्रदेशमा औलो ‐मलेरिया) रोग अझै पनि स्वास्थ्य समस्याका रूपमा रहेको छ । औलोको जोखिम घट्दोक्रममा भए पनि यहाँ प्रत्येक वर्ष नयाँ बिरामी फेला पर्ने गरेका हुन् । तराई र गर्मी हुने स्थानमा औलो देखिने गरेकोमा पछिल्ला वर्षहरूमा हिमाली क्षेत्रमा पनि बिरामी भेटिन थालेका छन् । औलो पहाडसँगै उच्च हिमाली क्षेत्रसम्म फैलिन थालेको छ । लामखुट्टे पहाडी र हिमाली क्षेत्रमा भेटिन थालेपछि औलो पनि सँगसँगै देखा परेको हो ।

गतवर्ष कर्णालीका विभिन्न जिल्लामा गरी ५२ जना औलोका बिरामी थिए । यो वर्ष २९ जना औलोका बिरामी रहेका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार हाल सुर्खेतमा १३, कालीकोट र हुम्लामा ६÷६, मुगु र रुकुम–पश्चिममा दुई÷दुई जना औलो रोगका बिरामी छन् ।
औलो एनोफिलिज प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । उक्त प्रजातिको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट औलो मानिसमा सर्छ । हिमाली क्षेत्रहरूमा पनि तापक्रम बढ्दा एनोफिलिज लामखुट्टेका लागि उक्त स्थान वातावरण अनुकूल बनेको विशेषज्ञहरू बताउँछन् । मुगु र हुम्लाजस्ता उच्च हिमाली भेकमा एनोफिलिज पोथी लामखुट्टे देखापर्न थालेको हो । लामखुट्टेले टोकेको १० देखि १५ दिनसम्म ज्वरो आउनु, काम छुट्नु, टाउको दुख्नु, बान्ता हुनु, जोर्नी दुख्नु, थकान महशुस हुनु, शरीरमा रगतको मात्रा कम हुनु, अङ्ग सुनिनु जस्ता लक्षण देखिएमा औलो भएको हुनसक्छ ।

यसको निदानका लागि सबै सरकारी स्वास्थ्य संस्थाहरूमा परीक्षण र उपचार सेवा निःशुल्क पाइन्छ । चार दशकअघिसम्म सुर्खेतको वीरेन्द्रनगर उपत्यका औलोको उच्च जोखिमा थियो । औलोकै कारण यहाँ बाँस बस्न समेत मानिसहरू डराउँथे । वि.सं. २०२४ सालपछि औलो नियन्त्रणमा आएपछि उपत्यकामा बस्ती बिस्तार भएको हो ।

केही वर्षयता कर्णाली प्रदेशमा औलोबाट हुने मृत्युदर भने शून्यमा झरेको छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेका अनुसार अझै पनि औलोको जोखिम भने कायमै छ । उनले कर्णालीमा औलो स्वास्थ्य समस्याकै रूपमा रहेको बताए । सुर्खेतको वीरेन्द्रननगर, भेरीगंगा, गुर्भाकोट, पञ्चपुरी र चौकुने औलोको जोखिममा छन् । ती स्थानीय तहमा नयाँ बिरामी भेटिने गरेका हुन् । वाग्ले भन्छन्, ‘कर्णाली विशेषगरी संक्रामक तथा किटजन्य रोगको जोखिममा छ ।’ प्रदेशमा औलो, कालाजार र पछिल्लो समय कोभिड जस्ता किटजन्य रोगको जोखिम बढेको हो ।

सन् २०२५ सम्ममा नेपाललाई औलोबाट मुक्त गर्ने सरकारको लक्ष्य छ । शून्य औलोको लक्ष्यमा पुग्नेगरी परीक्षण, नियन्त्रण र उपचारका कामहरू भइरहेको सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मितिः   १३ बैशाख २०७८, सोमबार ०९:५१