सुर्खेतमा एक साता निषेधाज्ञा

जनस्वास्थ्यका मापदण्डको पालना गरी दैनिक उपभोग्य वस्तु खाद्य, तरकारी, दुग्ध र ग्यास पसल भने बिहान ६ देखि नौ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण बढ्दै गएपछि आज (मंगलवार) मध्यरातिदेखि सुुर्खेतमा एक साता निषेधाज्ञा लागू गरिने भएको छ । सोमवार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आज राति १२ बजेदेखि जिल्लाभर लागूहुने गरी निषेधाज्ञा गर्ने निर्णय गरेको हो । छिमेकी जिल्ला बाँके र बर्दियामा समेत संक्रमण उच्च देखिएकाले जोखिमको ख्याल गर्दै नियन्त्रण, रोकथाम र उपचारका लागि निषेधाज्ञा गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

जनस्वास्थ्यका मापदण्डको पालना गरी दैनिक उपभोग्य वस्तु खाद्य, तरकारी, दुग्ध र ग्यास पसल भने बिहान ६ देखि नौ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले संक्रमणको जोखिम बढेकाले निषेधाज्ञा गर्नुपरेको बताए । उनकाअनुसार यो अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने छन् । बैंक, वित्तीय संस्था, सवारी साधन, पसल व्यवसाय सञ्चालन र आवश्यक काम बाहेकको हिँड्डूलमा रोक लगाइएको हो । निषेधाज्ञाको समयमा स्वास्थ्य, सुरक्षा, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटीएम सेवा लगायतका अत्यावश्यक सेवा सञ्चालन हुुने छन् । प्रजिअ रिजालका अनुसार भौतिक दूरीलगायत जनस्वास्थ्यका मापदण्डको पालना गरी दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दुध र ग्यास पसल भने बिहान ६ देखि नौ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन प्रशासनले सर्वसाधारणमा अपिल गरेको छ । निषेधाज्ञा अवधिभर सबै सरकारी कार्यालय बन्द हुनेछन् ।

यस्तै, निषेधाज्ञामा विकास निर्माणका कामहरू भने नरोकिने प्रशासनले जनाएको छ । सार्वजनिक निर्माण कार्यसँगै हवाई सेवा पनि सञ्चालन हुने बताइएको छ । एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाला सरकारी गाडी, निलो प्लेटका सवारी साधनहरू, अत्यावश्यकीय सेवा सञ्चालन र त्यसमा खटिने जनशक्तिले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ । त्यस्ता व्यक्तिहरूले परिचय–पत्र भने अनिवार्य बोक्नुुपर्ने छ । सुर्खेतमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दो छ । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लामा झण्डै चार सय जना कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रकाशित मितिः   १४ बैशाख २०७८, मंगलवार ०५:०३