चार जना सांसदको पद गुम्यो

कर्णाली प्रदेशसभाका चार जना सांसद पदमुक्त भएका छन् । दलको ह्वीप विपरीत फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका सांसदको पद रिक्त भएको छ । प्रदेश सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, अमरबहादुर थापा र नन्दसिंह बुढाको पद गुमेको हो । पद रिक्त भएका चारजना सांसदले वैशाख ३ गते मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए ।

सांसद ज्वाला सल्यान १ (ख), थापा दैलेख १ (ख), शाही कालीकोट १ (क) र बुढा डोल्पा १ (क) निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । ज्वाला यसभन्दा अघि आर्थिक मामिला तथा योजनामन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए ।

प्रदेशसभा नियमावलीको दफा १९१ बमोजिम उनीहरूको पद रिक्त भएको सोमवार सातांै अधिवेशनको दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले संसद्लाई जानकारी गराएका हुन् । राजनैतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) बमोजिम आवश्यक कार्यार्थ प्रदेशसभामा प्रदेशसभा सदस्यबाट निष्कासन गरिएको पत्र नेकपा एमालेले संसद् सचिवालयमा दर्ता गराएको थियो । उक्त पत्रलाई सोमवारको संसद् बैठकमा सभामुख शाहीले दल त्यागसम्बन्धी नियमावलीअनुसार संसद्लाई जानकारी गराएका थिए ।

फ्लोर क्रस गर्ने ज्वालाबाहेक तीन जना अहिले मन्त्री बनेका छन् । विना सांसद पनि ६ महिनासम्म मन्त्री नियुक्त गर्न मिल्ने प्रावधान संविधानमा उल्लेख छ । एमालेले ह्वीप जारी गरे पनि दलको निर्देशन विपरीत गैरजिम्मेवार, असंसदीय र लज्जास्पद गतिविधि गरेको भन्दै उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ । फ्लोर क्रस गरी दलीय पद्दतिमाथि आँच आउने काम गरेको ठहर गर्दै वैशाख १० गतेदेखि लागूहुने गरी एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले उनीहरूलाई कारबाही गरेको हो । चार जनालाई नेकपा एमाले प्रदेशसभा संसदीय दलको सदस्य, प्रदेशसभा सदस्य र पार्टीको सदस्यबाट निष्कासन गरिएको छ ।

एमाले कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलद्वारा हस्ताक्षरित पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३, प्रदेशसभा नियमावली २०७४, नेकपा एमाले प्रदेशसभा संसदीय दलको विधान २०७७ बमोजिम फ्लोर क्रस गर्ने चार जनालाई प्रदेशसभा सदस्य पदबाट निष्कासन गरिएको उल्लेख छ । योसँगै अब कर्णाली प्रदेशसभा सभामुखसहित ३५ सदस्यीय बनेको छ । ४० सदस्यीय प्रदेशसभामा पाँच जनाको पद खोसिएको हो । माओवादी केन्द्रका सांसद धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि उनी यसअघि नै पदमुक्त भइसकेका छन् ।

यसैबीच, सोमवारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले फ्लोर क्रस गर्ने काम राजनीतिक अपराध भएको बताए । ‘त्यस्तो गर्नु राजनीतिक अपराध हो । भगौडा जस्तो भागेर जाने कुरा कसैका निम्ति त रमाइलो होला । त्यसले यो व्यवस्थाप्रति जनतामा नकारात्मक धारणा बनाउन सहयोग पुग्ने छ ।’ राजनीतिक अपराध गरेर भागेका एमालेका भगौडालाई पुरस्कार दिने सरकार पनि कर्णालीमा देखिएको भन्दै उनले सरकारको आलोचना गरे ।
यस्तै, नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेशसभामा रहेका दलबाट एकएक जना प्रतिनिधि रहने गरी कोरोनाको अनुगमन गर्ने व्यवस्था मिलाउन सभामुखसँग आग्रह गरेका छन् । उनले कोरोना नियन्त्रण गर्न सरकार जिम्मेवार बन्नुपर्ने बताएका हुन् ।

प्रकाशित मितिः   १४ बैशाख २०७८, मंगलवार ०५:०३