जिम्मेवार बनौं
कोरोना भाइरस (कोभिड–१९)को जोखिम निकै बढेको छ । केही महिना सामान्य बनेको संक्रमण वैशाख लागेयता पुनः तीव्र गतिमा फैलिन थालेको छ । कर्णाली प्रदेशमा पछिल्ला दिनहरूमा कोरोना संक्रमणको दर उच्च देखिन्छ । दैनिक परीक्षण गरिएकामध्ये झण्डै ८० प्रतिशतमा संक्रमण पुष्टि हुनुले भयावह अवस्थाको संकेत गरेको छ । समुदायमा संक्रमण व्यापक देखिए पनि परीक्षणको दायरा भने बढाइएको छैन । जनस्वास्थ्य विज्ञ तथा चिकित्सकहरूले कोरोनाको दोस्रो लहर सुरू भएकाले जोखिम उच्च रहेको आंैल्याइसकेका छन् । मानिसहरूमा संक्रमणको सुरूवाती चरणजस्तो त्रास र सतर्कता पनि अहिले देखिएको छैन । स्वास्थ्य सुरक्षामा गरिएको लापरबाही हेर्दा उच्च जोखिममा रहेको भनिएको प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरलगायतका ठाउँमा भयावहस्थितिको आकलन गर्न सकिन्छ । सोहीअनुसार तीनै तहका सरकारले संक्रमण नियन्त्रण तथा उपचारका लागि समयमै पूर्वतयारी थाल्नुपर्ने थियो । तर, न पूर्वतयारीका लागि पर्याप्त काम भएका छन् न त उपचारका लागि राम्रो प्रबन्ध नै हुन सकेको छ । बढ्दो संक्रमणलाई ध्यानमा राखेर उच्च सतर्कता अपनाउनुपर्नेमा सरकारी निकायले नै योजनाबद्ध तयारी गर्न नसकिरहेका हुन् ।
आम सर्वसाधारणले पनि कोरोनालाई गम्भीरतापूर्व लिएको पाइँदैन । संक्रमणको बेवास्ता र स्वास्थ्य सावधानीमा हदैसम्मको हेलचक्य्राइँ हुँदै आएको छ । संक्रमणको जोखिम बढेकै कारण सरकारले सहरी क्षेत्रका शैक्षिक संस्था बन्द गरेको छ भने भिडभाड हुने सार्वजनिक स्थलहरूमा समेत जान रोक लगाएको छ । सरकारले विशेष परिस्थितिबाहेक घरबाहिर ननिस्कन र भेला तथा भिडभाड नगर्न भनिरहे पनि त्यसको पालना भएको छैन । मानिसहरूले जोखिमको बेवास्ता गर्दै स्थानीय प्रशासनले जारी गरेको आदेशको समेत अवज्ञा गरिरहेको पाइन्छ । एक जनाको असावधानीले परिवार र समाजलाई नै असर पर्ने हो । कसैको सानो खेलाँचीबाट समुदायमा कोरोना फैलियो भने त्यसले नसोचेको प्रभाव र क्षति पुग्न सक्छ । यसतर्फ आम मानिसले बेलैमा सचेत बन्न आवश्यक छ । कि न कि पछि हुने नोक्सानीबाट पछुताउनुभन्दा पूर्वतयारी र सतर्कतामा जोड दिनु बढी बुद्धिमानी ठहरिन्छ । यसरी नै संक्रमण बढ्दै गए अस्पतालहरूले स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने अवस्था रहँदैन । उसै पनि कर्णालीबासीले भरपर्दो र सुलभ स्वास्थ्य सेवा पाइरहेका छैनन् । कोरोना संक्रमण नियन्त्रणबाहिर गए थप स्वास्थ्य सेवाको संकट भोग्नुपर्ने हुनसक्छ । चिकित्सकहरूले यही गतिमा संक्रमण बढ्दै गए अस्पतालहरूले संक्रमितको चाप धान्नै नसक्ने अवस्था आउने पूर्वानुमान गरिसकेका छन् । त्यसैले कुनै पनि निकाय तथा व्यक्तिले अहिलेको परिस्थिति र वस्तुस्थितिको नजरअन्दाज गर्नु हुँदैन । पछिल्ला दिनहरूमा आउन सक्ने जटिलताहरूको समेत अहिले नै ख्याल गर्नु राम्रो हुन्छ । त्यसका लागि सबै उत्तिकै जिम्मेवार बन्नैपर्ने हुन्छ ।
प्रदेश सरकारले जनशक्तिको व्यवस्थापन र स्वास्थ्य सामग्री सहज आपूर्तिको प्रबन्ध मिलाएर नाकाहरूमा विशेष सतर्कता अपनाउनुपर्छ । कोरोना संक्रमण नियन्त्रणका लागि परीक्षणको दायरा बढाउने, बजार तथा भिडभाड हुने क्षेत्रमा निगरानी गर्ने र उपचार व्यवस्था प्रभावकारी बनाउनुपर्ने हुन्छ । यस्ता विषयलाई समय छँदै गहनतापूर्वक लिन सके संक्रमणका कारण हुने मानवीय क्षति कम हुनेछ । सर्वसाधारणले पनि आफू जोगिने उपाय अपनाउनै पर्छ । भिडभाड हुने गतिविधिमा सहभागी नबन्ने, घरबाहिर निस्किँदा मास्क लगाउने, पटक–पटक साबुन–पानीले हात धुने लगायतका स्वास्थ्य सावधानी अपनाउनुपर्ने हुन्छ । हात मिलाउने, अंकमाल गर्नेजस्ता अभिवादन शैलीका कारण पनि कोरोना संक्रमणको जोखिम बढी हुने जनस्वास्थ्य क्षेत्रका जानकारहरूले बताउँदै आएका छन् । एक अर्काबीचको भौतिक दूरी कायम गर्न सके संक्रमणबाट बच्न सकिन्छ । व्यक्तिगत अनुशासन र व्यवस्थित जीवनशैलीले आफू मात्र होइन अरू पनि जोगिने छन् । त्यसैले यसतर्फ सबै उत्तिकै जिम्मेवार र चनाखो बन्न आवश्यक देखिन्छ ।
प्रकाशित मितिः १३ बैशाख २०७८, सोमबार ०५:३५
साझा बिसौनी ।