सांसदबाट निष्कासनको पत्र दर्ता

नेकपा एमालेले कर्णाली प्रदेशसभाका आफ्ना चारजना सांसदलाई कारबाही गरेको छ । एमालेले फ्लोर क्रस गरी माओेवादी केन्द्रको सरकारका पक्षमा विश्वासको मत दिने सांसदहरूलाई प्रदेशसभा सदस्यबाट निष्कासन गरेको हो । दलले निष्कासन गरेको सूचनासहितको पत्र आइतवार प्रदेशसभामा दर्ता भएको छ । एमाले प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले पत्र दर्ता गराएका हुन् ।

दलको ह्वीप विपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सरकार बचाउन भूमिका खेलेको भन्दै उनीहरूलाई प्रदेशसभा सदस्य पदबाट मुक्त गराउन एमालेले पत्र दर्ता गरेको हो । संसद् सचिवालयमा प्रदेशसभामा पत्र दर्ता भएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए । उनकाअनुसार वैशाख १३ गते (आज) बस्ने संसद् बैठकमा कारबाही पत्र छलफलमा लगिने छ । ‘हाउस नचलेको भए उक्त पत्र सूचना बोर्डमा टाँस हुन्थ्यो’ उनले भने, ‘हाउस चल्ने भएको हुँदा उक्त कारबाही पत्र त्यसमै छलफल हुन्छ ।’ प्रदेश सभाको सातांै अधिवेशनको दोस्रो बैठक आज दिउँसो दुई बजे बस्दैछ ।

पदमुक्त हुने प्रदेशसभा सदस्यहरूमा प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही छन् । ज्वालाबाहेक तीन जना माओवादी नेतृत्वको सरकारका मन्त्री छन् । फ्लोर क्रस गरेर सरकार जोगाइ दिएपछि मुख्यमन्त्री शाहीले उनीहरूलाई मन्त्री बनाएका थिए । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीले समेत उनीहरूलाई प्रदेश सांसद र पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरिसकेको छ ।

यही वैशाख ३ गते बसेको कर्णाली प्रदेश सभाको सातौं अधिवेशनमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए । शाहीको पक्षमा उनको दल माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेका चार जनाले विश्वासको मत दिएका हुन् ।

प्रकाशित मितिः   १३ बैशाख २०७८, सोमबार ०५:३६