देउती अस्पतालले पत्रकारलाई उपचार शुल्कमा छुट दिने

वीरेन्द्रनगरस्थित देउती अस्पताल प्रालिले सुर्खेतमा कार्यरत पत्रकारहरूलाई उपचार शुल्कमा छुट दिने भएको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखा र देउती अस्पतालबीच उपचार खर्चमा छुट दिने सहमति भएको हो । आइतवार अस्पतालद्वारा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक डा. लोकेन्द्र थापाले देउती अस्पतालमा उपचार गर्न आउने पत्रकारहरूलाई १० हजारसम्मको उपचार खर्चमा छुट दिने घोषणा गरेका हुन् ।
अस्पतालका प्रबन्ध निर्देशक डा. थापाले पत्रकारहरू समाजलाई सुसूचित गर्न अग्रपंक्तिमा खटिने भएकाले महासंघ सुर्खेत शाखाको समन्वयमा उपचार सेवामा छुट दिन लागेको बताए । उनले सामाजिक उत्तरदायित्वका अन्य गतिविधिमा पनि अस्पताल महासंघसँग सहकार्य गरेर जाने बताएका छन् । केही दिनभित्र महासंघ र अस्पतालबीच सो सम्बन्धमा लिखित सहमति गरिनेछ ।
प्रबन्ध निर्देशक डा. थापाले देउतीमा प्रदेशमै पहिलो पटक ३२ स्लाइसको सिटी स्क्यान सेवा र गुणस्तरीय ल्याव सेवा सञ्चालन ल्याइएको जानकारी दिए । उनका अनुसार अस्पतालले अबको केही दिनमै आईसीयू र भेन्टिलेटर सेवा पनि सञ्चालन गर्नेछ । विगत लामो समयदेखि विशेषज्ञ सेवा दिइरहेको देउतीले स्वास्थ्य सेवा–सुविधाहरू थप गर्दै लैजाने बताइएको छ । देउती अस्पतालमा कार्यरत हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. शुभ श्रेष्ठले भाँच्चिएको हिप जोडेर प्रदेशमै पहिलो पटक जटिल सेवा दिन सफल भएको बताए । देउतीले पछिल्ला दिनहरूमा बाहिरबाट दक्ष चिकित्सक ल्याएर पनि सुपर विशेषज्ञ सेवा सञ्चालन गरिरहेको छ । बिरामीहरू उपचारका लागि बाहिर जानु नपर्ने गरी सेवा सुधार–विस्तार गर्दै लैजाने अस्पतालले जनाएको छ ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले देउती अस्पतालले महासंघसँग सहकार्य गरेकोमा खुसी व्यक्त गर्दै पत्रकारहरूलाई उपचार शुल्कमा १० हजारसम्म छुट दिने घोषणा गरेकोमा धन्यवाद दिए । यसबाट जिल्लाका पत्रकारहरूले उपचारमा केही राहत महसुस गर्ने उनले बताए । आगामी दिनमा पनि महासंघ अस्पतालसँग सहकार्य गरेर जान तयार रहेको अध्यक्ष बसेलको भनाइ थियो । सोही अवसरमा देउती अस्पताल प्रालिले नेपाल पत्रकार महासंघका नवनिर्वाचित कार्यसमितिलाई सम्मान समेत गरेको छ । सम्मान कार्यक्रममा देउती अस्पतालका डा. पारश पौडेल, डा. अम्बु थापा र डा. कविता थापासमेतको उपस्थिति रहेको थियो ।
प्रकाशित मितिः १३ बैशाख २०७८, सोमबार ०५:३२
साझा बिसौनी ।