२८ जनामा संक्रमण पुष्टि

कर्णाली प्रदेशमा आइतवार थप २८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ¥यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित फेला परेका हुन् । ७७ जनामा एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । सल्यानका १७, कालीकोटका सात र दैलेखका चार जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार हालसम्म आरटी–पीसीआर विधिबाट ९८ हजार सात सय ९२ जनाको परीक्षण भएकोमा सात हजार नौ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ । ¥यापिड एन्टिजेनबाट पाँच हजार सात सय ५० जनाको परीक्षण गरिको छ । तीमध्ये दुई सय ८६ जनामा कोरोना पुष्टि भएको छ । आइतवारसम्म प्रदेशभर कोरोना भाइरसका कारण ३४ जनाले ज्यान गुमाएका छन् भने चार सय जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये अधिकांश सुर्खेतका हुन् । कर्णालीमा केही दिनयता कोरोना संक्रमणको दर उच्च देखिएको छ । चिकित्सकहरूका अनुसार सक्रिय संक्रमितमध्ये धेरैजसो लक्षणसहितका छन् ।

प्रकाशित मितिः   १३ बैशाख २०७८, सोमबार ०५:३१