अस्पतालमा अक्सिजनको अभाव
सुर्खेत: कोरोना संक्रमितको सख्या बढ्दै गएपछि कर्णाली प्रदेश अस्पतालमा अक्सिजनको अभाव देखिएको छ । प्रदेश अस्पतालमा हाल १९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । तीमध्ये अधिकांश गम्भीर प्रकृतिका संक्रमित हुन् । उनीहरूलाई अक्सिजन दिनुपर्ने बाध्यता रहेका कारण अक्सिजनको अभाव भएको अस्पताल प्रशासनले जनाएको हो ।
अस्पतालमा हाल ४० वटा अक्सिजन सिलिण्डर छन् । प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा अक्सिजन चलाउनुपर्ने १९ जना संक्रमित रहेको र तीमध्ये चार जनालाई भेन्टिलेटरमा राखिएको कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । उनकाअनुसार भेन्टिलेटरमा राखिएका संक्रमितलाई दुई–तीन घण्टाको फरकमा एउटा अक्सिजन सिलिन्डर फेर्नुपर्ने हुन्छ । कर्णाली प्रदेश अस्पतालमा हाल कोरोना संक्रमितको उपचारका लागि २५ आईसीयू र आठ भेन्टिलेटर बेड छुट्याइएको छ ।
यसैबीच, सुर्खेतका सबै पालिकामा अक्सिजनसहितका आइसोलेसन बेड निर्माण गर्ने तयारी थालिएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतका सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन बेड निर्माण गर्ने निर्णय गरेको छ । प्रदेश अस्पतालमा संक्रमितको चाप बढ्दै गएपछि जिल्लास्थित सबै पालिकाहरूले कोरोना संक्रमितको लागि अक्सिजनसहितको आइसोलेसन बेड राख्ने निर्णय भएको हो ।
प्रकाशित मितिः १३ बैशाख २०७८, सोमबार ०५:३०
साझा बिसौनी ।