असुरक्षित बालबालिका

कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएको छ । हरेक दिन संक्रमितको संख्या थपिएको छ । संक्रमणदर निकै उच्च छ । जोखिम बढ्दो छ । नियन्त्रणका प्रयास र सावधानी भने अपेक्षित रूपमा हुन सकिरहेको छैन । यद्यपि जोखिम बढेपछि सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गरेको छ । विद्यालय सञ्चालन नभएपछि बालबालिका घरमै बसेका छन् । सावधानी अपनाउन विद्यालय बन्द गरिए पनि बालबालिकाहरूमाथिको जोखिम भने कम भएको छैन । झन् असुरक्षा बढेको देखिन्छ ।

संक्रमणको उच्च जोखिम भएको भन्दै विद्यालय बन्द गरिएका छन् । तर, बालबालिकाहरू भने विद्यालयभन्दा झनै असुरक्षित हुनेगरी भिडभाडमा खेलिरहेका भेटिन्छन् । विद्यालय पठाउँदा बालबालिका असुरक्षित हुने ठानेका अभिभावकले समेत घरमै रहेका बालबालिकाको बेवास्ता गरेका छन् । विद्यालय बन्द भएपछि विद्यार्थीहरूले दशैं तिहारको छुट्टी जसरी समूहमा खेल्ने र घुम्ने गरेका हुन् । बालबालिकाहरूलाई जोखिमबाट जोगाउन विद्यालय बन्द गरिए पनि उनीहरू भने सडकमै असुरक्षित तरिकाले खेलिरहेका छन् । विद्यालयहरूले वैकल्पिक सिकाइका माध्यमहरूबाट समेत पठनपाठन थालेका छैनन् । बालबालिकाहरूको सिकाइ र स्वास्थ्य सुरक्षाप्रति अभिभावकसमेत जिम्मेवार बनेको पाइँदैन ।

दोस्रो लहरमा फैलिएको कोरोना संक्रमणको उच्च जोखिममा बालबालिका छन् । बालबालिकामा छिटो संक्रमण फैलिएको छ । यस्तो समयमा विद्यालय बन्द गर्ने निर्णय उचित छ । तर विद्यालय बन्द गर्दैमा बालबालिका सुरक्षित हुँदैनन् भन्ने तथ्यलाई भने नजरअन्दाज गर्नु हुँदैन । उनीहरूको सुरक्षाका लागि अब अभिभावकहरू बढी सचेत हुन जरुरी छ । विद्यालय बन्द भए पनि बालबालिकाहरूको मन घरमा अडिएको छैन । बजार खुला भएकाले कहिले उनीहरू बजार पुग्छन् भने कहिले समूहमा साथीहरू जम्मा भएर खेल्छन् । अभिभावकहरू काममा निस्किएपछि बालबालिका दिनभर असुरक्षित तरिकाले घुमफिर गर्ने गरेका हुन् । उनीहरू सडकमै साथी बटुलेर खेल्नमै व्यस्त देखिन्छन् ।

विद्यालय बन्द भएपछि वैकल्पिक माध्यमबाट भए पनि पठनपाठन सञ्चालन गर्नुपर्ने हुन्छ । सरकारले विद्यार्थीलाई अनलाइन सिकाइ प्रणालीमा जोड दिन विद्यालयहरूलाई भनेको छ । तर, अहिले विद्यालयहरूले वैकल्पिक सिकाइका माध्यमहरूबाट पठनपाठन थालेका छैनन् । त्यसो त सबै बालबालिका इन्टरनेटको पहुँचमा समेत छैनन् । जसले गर्दा उनीहरू फुर्सदिला बनेका छन् । बालबालिकाहरूको सिकाइ र स्वास्थ्य सुरक्षाप्रति अभिभावक समेत जिम्मेवार नबन्दा जोखिम थप बढेको हो ।

एकातर्फ विद्यालय बन्द गरिरहँदा अर्कोतर्फ समाजममा हुने सामूहिक कार्यहरू भने रोकिएका छैनन् । जसमा बालबालिकाको प्रत्यक्ष सहभागिता भइरहेको छ । कोरोनाको जोखिमबाट जोगिन सबैखाले सावधानी अपनाउन जरुरी छ । यदि सबैले सही तरिकाले मास्कको प्रयोग गर्ने, हरेक अवस्थामा व्यक्तिगत दुरी कायम गर्ने, भिडभाड नगर्ने, भोजभतेर नगर्ने, हात सफा गरिरहने तथा सधैँ सजग हुने हो भने कोरोना नियन्त्रणमा सघाउ पुग्नेछ । यही नै सबैभन्दा सस्तो र प्रभावकारी उपाय हो । नत्र भने दिनप्रति दिन संक्रमण दर बढ्नेछ । जोखिम निम्तिनेछ ।

प्रकाशित मितिः   १२ बैशाख २०७८, आईतवार ०६:००