अनियमित विद्युतले सास्ती

एक सय ३२ केभीए प्रसारण लाइन नल्याइँदासम्म समस्या रहिरहने

शुक्रवार साँझ करिब ७ बजे सुर्खेत, दैलेख र जाजरकोटमा एकै पटक विद्युत गयो । त्यसपछि पटक–पटक आउने र जाने गरेको विद्युत राति ९ बजेदेखि अवरुद्ध नै भयो । झण्डै १८ घण्टापछि शनिवार दिउँसो १ बजेमात्रै विद्युत सुचारु भयो । यो समस्या शुक्रवारको मात्र होइन वर्षौंदेखिको हो । यसरी नै सुर्खेत, दैलेख र जाजरकोट लगायतका कर्णाली प्रदेशका नागरिकहरूले हरेक दिन विद्युत आपूर्तिमा अनियमित हुँदा सास्ती खेपिरहेका छन् । यहाँका नागरिकले १२ देखि ३६ घण्टासम्म निरन्तर बत्तीविना अँध्यारोमा गुजारेका छन् । कर्णालीका केही जिल्ला सधैं अँध्यारोमा छन् तर विद्युतीय सेवा पुगेका ठाउँहरूमा समेत नियमित बिजुली आपूर्ति हुन सकेको छैन ।

एक सय ३२ केभीए प्रसारण लाइन नल्याइँदासम्म समस्या रहिरहने

सामान्य हावाहुरी र पानी पर्दासमेत बिजुली जान थालेपछि उपभोक्ताहरू हैरान छन् । हावाहुरी नचलेको अवस्थामा पनि बत्ती नियमित हुँदैन । बत्ती गइरहँदा इलेक्ट्रोनिक्स व्यवसाय र उद्योग सञ्चालकहरू बढी मारमा छन् । विद्युत समस्याले व्यापार व्यवसाय नै चौपट भएको उनीहरूको गुनासो छ । विद्युत अवरुद्ध भइरहनु पुराना संरचना मुख्य कारण भएको बताउने गरिएको छ । समस्या दोहोरिरहनुमा जीर्ण संरचना र भोल्टेज मुख्य कारण भएको विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ । कोहलपुर–सुर्खेत ३३ केभीए प्रशारण लाइन जंगलक्षेत्र भएर ल्याइएकाले मर्मतमा चुनौती हुने र भोल्टेज कम भएका कारण पनि आपूर्तिमा समस्या भइरहेको हो । यद्यपि सुर्खेत वितरण केन्द्रले यस्तो जवाफ दिन थालेको पनि दशकौं बितेको छ । तर, विद्युत आपूर्तिमा भने कुनै सुधार हुन सकेको छैन ।

करिब ३३ वर्षयता यस क्षेत्रका नागरिक एक सय ३२ केभीए प्रसारण लाइनको प्रतिक्षामा सोही लाइन नल्याएसम्म विद्युत अनियमितको समस्या झेल्नुको विकल्प नरहेको प्राधिकरणले बताउँदै आएको छ । विभिन्न कारणले विद्युत अवरुद्ध हुँदा मर्मतमा समेत ढिलासुस्ती हुने गरेको छ । सुर्खेतको वीरेन्द्रनगर लगायतका स्थानमा बढ्दो सहरीकरणसँगै पछिल्लो समय विद्युतको माग समेत बढेको छ । बिजुली नियमित गर्न सुधारका प्रयासहरू थाल्नुको साटो अवस्था झनै जटिल बन्दै गएको हो । बढ्दो जनसंख्या र तीव्र विकासको चाहनासँगै विद्युतीय सेवाको गुणस्तर नबढ्दा नागरिकहरू आजित भएका हुन् ।

पुराना र जीर्ण संरचना तथा जंगल क्षेत्र भएर ल्याइएको लाइन भएका कारण विद्युत अनियमित हुने गरेको सुर्खेत वितरण केन्द्र प्रमुख टंकराज गिरी बताउँछन् । हावा चलेको समयमा रुखका हाँगाहरू तारमा पर्ने भएका कारण विद्युत अवरोध हुन्छ,’ उनले भने, ‘यो समस्या आजको मात्र नभइ पुरानै हो ।’ उनले एक सय ३२ केभीए प्रशारण लाइन सुचारु नभएसम्म समस्याबाट मुक्ति पाउन सम्भव नदेखिएको जनाए । जंगल क्षेत्र भएकाले विद्युतमा कहाँनिर समस्या आएको हो भन्ने पत्ता लगाउनै समस्या हुने गरेको प्रमुख गिरीले बताए । बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै ल्याइएको हालको लाइन एक सय ७४ किलोमिटर जंगल क्षेत्रमा पर्छ । रुखका साना हाँगाबिँगाले समेत पोलमा बारम्बार क्षति पुग्ने गरेको छ । विद्युत अवरुद्ध हुँदा मर्मतका लागि निकुञ्जको अनुमति लिनुपर्ने हुन्छ । जसका कारण मर्मतमा समेत ढिलाइ हुने गरेको हो । कोहलपुर–सुर्खेत प्रसारण लाइनको क्षमता ३३ केभीए छ ।

सुर्खेतमा दैनिक अघोषित लोडसेडिङ भइरहेको नागरिकहरूको गुनासो छ । पटके बिजुलीको समस्याबाट आफूहरू निकै हैरानीमा परेको वीरेन्द्रनगर–७ का रामकिशोर कार्कीले बताए । छिनमै आउने र छिनमै अवरुद्ध हुने विद्युतका कारण समस्या भइरहने उनको भनाइ छ । सुर्खेतमा एक सय ३२ केभीए विद्युत प्रसारण लाइन पु¥याउने सरकारको योजना सार्वजनिक भएको पनि ३३ वर्षभन्दा बढी भएको छ । २०४५ सालमा नेपाल विद्युत प्राधिकरणले सुर्खेतमा उक्त क्षमताको लाइन विस्तार गर्ने योजना बनाइएको थियो । तर पनि यो कामले अझै पूर्णता पाउन सकेको छैन ।

सुर्खेतसहित कर्णाली प्रदेशमा विद्युत लाइन विस्तारका लागि कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाइन आयोजनाले २०७७ भदौ महिनादेखि काम थालेको हो । उक्त लाइनको बत्ती बाल्न अझै यस क्षेत्रका नागरिकले दुई वर्षभन्दा बढी कुर्नुपर्ने आयोजना प्रमुख रविकुमार चौधरीले जानकारी दिए । उनकाअनुसार आयोजनाले पहिलो चरणको विस्तृत सर्भेको काम सुरू भएको छ । हाल लाइन ल्याउने बाटोमा पर्ने रुखको गणना गर्ने काम सकिएको छ । ‘ट्रि काउन्टको काम सकियो,’ उनले भने ‘अब रिपोर्ट आउन बाँकी छ ।’ रिपोर्ट आएलगत्तै वन तथा वातावरण मन्त्रालयले रुख कटान अनुमतिका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस लैजाने छ । मन्त्रिपरिषद् बैठकले रुख कटानको स्वीकृति दिएपछि आयोजनाले रुख काट्ने काम थाल्ने चौधरीले जनाए ।

बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर रुख कटान गरिने छ । चौधरीले रुख गनिसकिएको र रिपोर्ट नआए पनि करिब सात हजारभन्दा बढी रुखहरू कटान गर्नुपर्ने अनुमान गरिएको बताए । रुख कटानको काम पछि फाउण्डेशनको काम अगाडि बढाइने छ । कोहलपुर–सुर्खेत एक सय ३२ केभीए विद्युत लाइन विस्तारका लागि २०७७ असार २२ गते आयोजनाले भारतीय निर्माण कम्पनी आरएस इन्फाप्रोजेक्ट प्राइभेट लिमिटेडलाई ठेक्का दिएको हो । झण्डै ७० करोड लागतमा आयोजनाले निर्माण कम्पनीसँग सम्झौता गरेको छ । सम्झौताअनुसार निर्माण कम्पनीले विद्युत लाइन प्रशारणको लागि डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्टको खरिद लगायतका सम्पूर्ण काम दुई वर्षभित्र गरिसक्नु पर्नेछ ।

वर्षाैंदेखि सुर्खेत, दैलेख, सल्यान, रुकुम–पश्चिम र जाजरकोटका नागरिकले विद्युत अनियमित तथा कम भोल्टेजको हैरानी खेप्दै आएका छन् । कोहलपुरदेखि रामघाटको बीचमा बिग्रिए सुर्खेतसहित दैलेख र जाजरकोटमा विद्युत अवरुद्ध हुने गरेको छ । रामघाटदेखि सुर्खेततिरको भागमा लाइन बिगिँ्रदा सुर्खेत र दैलेखमा विद्युत अवरुद्ध हुन्छ । यी जिल्लाहरूमा छिनछिनमा बत्ती गइरहने अर्को समस्या भोल्टेजको हो । कहिले बढी र कहिले कम भोल्टेजका कारण बत्ती जाने आउने भइरहन्छ । एक सय ३३ केभीए प्रसारण लाइन ल्याइए मात्रै अहिलेको समस्याबाट मुक्त हुन सकिने प्राधिकरणले जनाएको छ । उक्त प्रसारण लाइनमा ठूला र बलिया पोलहरू हुने भएकाले रुखका हाँगा र हावाहुरीले असर नगर्ने हुँदा दीर्घकालीन समाधानका लागि यही नै उत्तम विकल्प ठानिएको छ ।

प्रकाशित मितिः   १२ बैशाख २०७८, आईतवार ०६:००