साइँला दाइको चिया पसल

पुस्तक अंश


पुनम बि.सी.

पारीपट्टीको पसले साइँला दाइ । हाम्रो सम्बन्धका बारेमा निकै डराउँथे । समाजको डर थियो उनलाई र समाजभन्दा अगाडि मेरी आमाको । आमाको अगाडि उनको सहयोगको पर्दाफासले उनी डराउँथे, युवती र युवकबीच प्रेमको लमी बन्नुको डर । फेरि, सुरुआत पनि उनकै पसलबाट भएको थियो । उनलाई सहयोग गर्ने बहाना र उनले पनि सहयोग माग्ने बहानाले मलाई प्रेममा पार्‍यो । जानीनजानी म उनको प्रेममा परेँ, सायद उनी मेरोमा ।

साइँला दाइको चिया पसलले पनि मेरो जीवनमा ठुलो मोड ल्याइदिएको हो । सबैले प्रश्न गर्छन्, ‘यो जोडी कसरी प्रेममा पर्‍यो ?’ तब प्रश्न सकिन नपाउँदै म साइँला दाइको चिया पसल एक पलमै सम्झन्छु । एकतले घरमा खरको पाली सम्झन्छु । खैरो कालो रङको खरबाट उड्ने धुवाँ सम्झन्छु । धुवाँ छिचोल्दैभित्र पस्दा दन्किरहेको सल्लेरी दाउरा सम्झन्छु । दन्किरहेको दाउराले जोडिएको चुलोमा पानी तताइरहने त्यो कालो किट्ली सम्झन्छु । जुन किट्लीको तातो पानीले नै मेरो उनलाई चिया बनाएर खुवाउँथे ।

छेउमै साइँला दाइको पसल, जहाँ दाइ दाउरा जाँदा आगो नजिकै दराजमा भएको चाउचाउ, बिस्कुट बेच्ने जिम्मा मेरै हुन्थ्यो । सहयोग गर्दै गर्दा माया बसेको न मैले पत्तो पाएँ, मेरी आमाले नै ? त्यसैले पनि साइँला दाइ आफूलाई मेरी आमाविरुद्ध सम्झन्थे । आमासँग डराउँदै उनी आफूलाई सधै‌ आमाको दोषी सम्झन्थे र सम्झिरहन्छन् पनि ।

दाइको ‘नोकिया ११ सय’ हाम्रो मायाको साधन बनेको थियो । नजिकिन नपाउने दुई शरीरको लाप्को बनेको थियो । समाजको डरको त्यही लाप्कोबाट हामी प्रेम तारिरहन्थ्यौं । तारिरह्यौं । समाजको डर माथिको लाप्कोमा हामी हाम्रा साझा सपनाहरू साटासाट गथ्र्यौं । मेरो उनीसँगको कुराकै लागि पनि हप्ताका केही रात त्यो टर्च बल्ने नोकिया मसँगै आउँथ्यो । साइँला दाइ र उनको मोबाइल, मेरो प्रेम कहानीको अविस्मरणीय हिस्सा बनेका छन् ।

खै, जानी नजानी म उनको भइसकेको थिएँ । ‘खाना खायौं ?’, देखि सुरु हुने गफहरू मोबाइलमा चुम्बनसम्म आएर सकिन्थे । रात बितेको पनि पत्तै लाग्थेन । भालेको डाँकोले प्रायः सुत्न अह्राउँथ्यो । मोबाइलमा चुम्बन पछिको एकपल, मेरा ओठ आफैं मुस्कुराउँथे । सायदै जीवनमा मेरा ओठहरू मेरो अनुमतिविना शतप्रतिशत मुस्कुराउने त्यही एउटा क्षण मात्र हो ।

ओठको मुस्कानसँगै उनको साथको कल्पनाले मलाई निदाउन बेर लाग्थेन । किनकि म उनकोसाथमा सन्तुष्ट थिएँ । आभारी थिएँ ।

टाढाको पलले पनि मायालाई गाढा बनाइदिएको थियो । आमाको निर्णयविरुद्धमा म लागेकी थिएँ । जुम्लाको सिँजा घर भएका उनीसँग एकतर्फी तय भएको निर्णयको मुनिपट्टी म प्रेमको आभास गरिरहेकी थिएँ । आभाससँगै उसको पूर्णअधिकार ममा थियो । मेरा हरेक सोचाइहरूमा उसको अधिपत्य भइसकेको थियो । गलत होस् या सही, उसका विचारहरूलाई म सम्मान गर्थें । उसको अधिपत्यलाई म अनुसरण पनि । त्यसैले त नेपाली नारी हुँ । जसले आफ्नोको सधैं अनुसरण गर्छ, तथ्यविना उसको जवाफलाई पूर्णरूपमा आत्मसात् गर्छ । आखिर प्रेमको अर्कोरूप सर्मपण नै हो ।

फोनको घण्टौं गफले मेरा सारा दुःखहरू भुलाइदिन्थे । आफैंलाई भाग्यमानीको संज्ञा आफैं दिन थाली सकेकी थिएँ । कहिले समाज, कहिले परिवार त फेरि भविष्यको गफले ज्यादै रोमाञ्चित बनाउँथ्यो । विस्तारै सुरु हुन्थ्यो यौवनका कुरा । अंगप्रत्यंगका कुरा । यौवनका कुरामा म उसलाई रोक्थँे पनि । मेरा शब्दहरूले ती सबै रोक्न चाहेता पनि मनले भने चाहन्थेन । आखिर नारी जो थिएँ । यौवन पुरुषलाई जस्तै नारीलाई पनि आवश्यक छ नि । तर सामाजिक गिद्धे नजरको अगाडि शब्दले भन्दा मनले यौवनको कुरा गर्न बाध्य बनाउँथ्यो ।

आन्तरिक रूपमा उसको पूर्णाधिकार ममा थियो । र, मेरो उसमा । पटक–पटक आउने यौवनका कुराले मनमा कताकता काउकुती जगाउँथ्यो । बाक्लो सिरकको भित्र यौवनको काउकुती सम्झँदा अझैं पनि मेरा ओठहरू मुस्कुराउँछन् । सिरकको न्यानोपनमा यौवनको काउकुतीले कल्पनामा फरक महसुस गराउँथ्यो । बस्त्र भएता पनि हामी नांगिन्थ्यौं । टाढा भए पनि, मेरोसिरानी भएर ऊ आउँथ्यो । सिरानी पनि चाहेकै भूमिका निभाउँथ्यो ।
विवाह–सिन्दूरलाई लाइसेन्स वा कुनै संस्थानले यौनकै लागि दिएको परिचय–पत्र ठान्ने समाजको अगाडि हाम्रा कुरा क्रान्तिकारी भूमिकामा थिए । ऊ नजिक भइदिए म सारा बिर्सिदिन्थेँ । आफूलाई उसको सामु सुम्पिदिन्थेँ ।

साइँला दाइको मोबाइलले पनि औधी साथ दियो । मायाको पहिलो पुरस्कारको रूपमा स्काईको फोन पनि पाएँ, ९७४८०२७६७० । दाइको मोबाइलबाट कुरा गर्दा घरी यता, घरी उता फर्कनुको झन्झटबाट मुक्तिका लागि । उसले साइँला दाइसँग मोबाइल र सिम पठाएको थियो ।

‘लाभा’, मेरो जीवनको पहिलो फोन । उसले आफ्नो पहिलो महिनाको तलबबाट पठाएको । गाउँमा सबैस्थानमा फोन नटिप्ने समस्याबाट मुक्त, दिनभर कोठामा लुकाएर राख्थेँ, साँझ परेपछि उसँग कुराकानीका लागि खोल्थेँ । मेरो फोनको ब्याट्री चार्जको जिम्मा चाहिँ साइँला दाइकै थियो । आफ्नो फोनबाट मुक्ति पाए पनि उनले फोन चार्ज गरिदिनुपर्ने समस्याबाट भने मुक्त पाएका थिएनन्, मेरो प्रेमको पहिलो साक्षी ।

झाडापखाला जस्तो सामान्य रोगले परलोक भएकी आमाकी एक्ली सन्तान अब आफ्नै भविष्य कोर्दै थिइ । प्रेमको पहिलो साक्षी तथा विश्वासिलो पात्र साइँला दाइ, सम्बन्धमा आएको खटनपटन पनि समाधान गर्थे । कहिले ऊ मसँग रिसाउँथ्यो त कहिले म । हामी दुवैलाई फकाउने सम्झाउने चाहिँ साइँला दाइ थिए । उनी मलाई पटक–पटक सम्झाउथे ‘बैनी कसैलाई नभन्यै है, फेरि कुरा काट्छन् ।’ हाम्रो प्रेम सम्बन्धले आधिकारिकता नपाएसम्म उनी आफूलाई जोगाउन भने चाहन्थे ।

प्रेम सम्बन्धले आखिर एकदिन आधिकारिकता पाउनु नै थियो । त्यो समय पनि आयो । साँझ स्कुलबाट फर्किँदा घर पुग्नासाथ आमाको हँसिलो मुहार देखेँ । सायदै उनको हँसिलो मुहार मेरो मानसपटलमा अझै ताजै छ । किनकि उनको हँसिलो मुहार मेरा जीवनकालमा पहिलो र अन्तिम पटक बनेको थियो ।

‘सिँजा मामाको छोराकन कुरा छिनेकी छु । वैशाखमाँ ब्या गन्र्या हो ।’

न त त्यो प्रस्ताव थियो, न त कुनै राय नै । उनले आफ्नो आदेश सुनाएकी थिइन् । मेरा ओठहरूमा मुस्कान छाए । आमैले पनि त्यो मुस्कानलाई हुन्छ भन्नेको रूपमा लिइन सायद । तर उनलाई थाहा थिएन, मेरो त्यो मुस्कान उसको प्राप्तिमा थियो जसलाई म माया गर्थे । जसलाई रमा, सुम्पिदिएकी थिएँ । त्यो कुरा आमाले कहिल्यै बुझिनन् । उनको आदेशले मलाई नयाँ गन्तव्यका लागि झनै पाइँला चलाउन बाध्य पार्दै थिए ।

उनले पनि मलाई सहर्ष स्वीकारे । भागेर बिहे गर्ने ? किनकि वैशाखमा सिँजाको राजा आउनेवाला थियो, घोडा चढेर । त्यो राजालाई मेरो मन होइन शरीर मात्र सुम्पन सक्थेँ । आखिर मन कसैले आफ्नो बनाइसकेको थियो । साइँला दाइलगायत हामी तीनबीच निकै छलफलहरू भए । निर्णयहरूमा साइँला दाइ भावी जीवनका दुःखहरूमा आफूलाई दोष नदिन सुझाउँदै थिए ।

छलफल केही दिन नै चल्यो, ती दिनहरूमा आमा मलाई शंकाका नजरले पनि हेर्न थालिसकेकी थिइन् ।

‘त्यो रामे मास्टरतिर सल्क्या त छैनी ?’

उनको प्रश्नमा म उनलाई सान्त्वना उत्तर दिन्थेँ । ‘छ्या त्यो पुड््केसँग नि को जाँदो हो?’ आमा मेरो उत्तरलाई ढुक्कको रूपमा लिन्थिन् । तर उनलाई थाहा थिएन, भित्र के चल्दै छ ?

‘त्योभन्दा त मेरो भाइसँग तेरो जोडी जम्दह ।’

‘मामाले टिकाटालो मात्र गर्दिए हुन्छ, भन्याछन् ।’

‘केही माग्या छैनन् । आफन्तमा चेली दिन्या झन् राम्रो सम्बन्ध हुन्छ ।’

‘केटो खाइलाग्दो छ । दुई पटक देश गैसक्या हो ।’ बुहारी के लिएर आई भन्दै हेर्ने मेरी आमाको समाजले बुहारीले के छोडी ?, कहिल्यै सोचेन ।

आमाको प्रस्तावमा म मुस्कुराइरहेकी थिएँ । किनकि आफूलेभन्दा पनि आफूलाई माया गर्ने ऊ मेरो साथमा थियो । हुर्केकी छोरी हाम्रो समाजको सधैँ चिन्ताको विषय बन्छन् । त्यो बोझिलो चिन्ता, नेपाली समाज र समाजका नारी आफूलाई कहीँ न कतै पराईको नासो झैं हेरचाह गरिएको भोग्छन् । दाइजोविरुद्ध विदेशी संस्थाले जति विज्ञापन बजाए पनि अझैं हामीहरू टिभी र दराजसँगै सजिएर ससुराल आएका छौं ।

आमाको सल्लाहभन्दा बुवाको धारणा फरक होला भन्ने सोचेकी थिएँ, किनकि म उनकै खुन हुँ । आखिर एउटी चेली सधैँ राम्रै बचनको पर्खाइमा हुन्छे । तर बुवाको पनि लाचारीपन देख्दा छोरी हुनुमा पहिलो पल्ट धिक्कार लागेर आयो ।

त्यो आमाको भाइ भनाउँदो हरिलठ्ठकसँग कसरी जीवन बिताउन सक्थेँ ? आमाको काइँलो मामाको छोरा थियो । ६ बहिनी–दिदीपछि अन्तिममा जन्मेको । बाआमा ८०–९० वर्ष पुग्दा ऊ २४ वर्षको । बुढेसकालमा बुढाले अरूको बुढी भगाए र त्यही हरिलठ्ठकलाई जन्माउन ६ वटी दिदी वर्षौटे पाए । चार कठ्ठा बेशीको धान फलाउने खेत पनि उनै श्रीमतीका लागि जारी दिए ।

मर्नुभन्दा अगाडि छोराको बिहे भएको हेर्न चाहन्थे बुढाबुढी । बुवाआमा हुन्थे त जीवनको भेलमा हरिलठ्ठकको सहारा पनि बन्थे । नभए ? मेरी आमा जानीजानी मलाई त्यो घरको व्यवहार सम्हाल्न पठाउँदै थिइन् । २४ वर्षको हरिलठ्ठकसँग म १६–१७ की ? के–के गरिसक्थे हुँला ? बालीनाली लगाउने ? फेरि स्याहार्ने, गाईवस्तु घाँसपात के–के, के–के ? यी सबै त्यो हरिलठ्ठकको साथविना सम्भव थिएन र उसको साथको कुनै ग्यारेन्टी पनि ।

मनलाई बाँध्न सकिनँ । सम्झाउन सकिनँ, कठोर हुन पनि । आशारूपी बुवाको लाचारीपन र आमाको एकतर्फी निर्णयको अनुसरणबाहेक मेरो उनी नै अर्को विकल्प बनेका थिए । आमाको स्वःनिर्णय नकारेर पनि नकारिने अवस्था थिएन । नकार्दैमा निर्णय फेरिने अवस्था पनि । किनकि आमा र उनको निर्णयसँग म परिचित थिएँ । नकार्दैमा निर्णय फेरबदल गरिँदैन हाम्रो समाजमा । सम्झाइन्छ, बुझाइन्छ । छोरी बुवाआमाको बचन र इज्जतमा हिँड्नुपर्छ । बचन पूरा गर्नतर्फ छोरीको स्वतन्त्रता तथा अधिकारको वास्ता कहिल्यै आउँदैन । प्रायः बाउआमाहरूको बचन छोराछोरीहरूको अधिकार बोकेर पनि त आउँदैनन् ।

बिहानीको समय, सूर्यको लालीमा सुरु हुनु केही घण्टा अगावै । म आफ्नो संसार आफैं रोज्दै थिएँ । राती ऊसँग भएको कुराकानी र योजना अनुरूप दुई जोर कपडा पोको पारेँ । म एक्लै थिएँ, तर मलाई उसले भगाएको थियो । उसको मायाको डोरी पछ्याउँदै म मेरो जन्मथलो छोडी आफैं भागेँ । एउटा विश्वासको कर्तव्य पूरा गर्न । मायाको लागि म भागेँ ।

कुनै दिन सबैले आफ्नो माइती छोड्नु छ । मैले पनि छोडेँ । कुनै नौलो विषय भने थिएन । तर मेरा लागि भने नौलो थियो । आत्मविश्वासले भरिएको मन, तर पनि कताकता डर ? किनकि समाज महिलाको पहिलो बिहेलाई मात्र स्वीकार्छ, सकारात्मक लिन्छ । त्यसपछि नानाथरी संज्ञाले हेरिन्छ । भए नभएका आकलन गरिन्छ । कथा बनाइन्छ र कथा बन्छ पनि ।

तरकारीले भरिएको जिपको अगाडि सवार थिएँ म । धन्न त्यति बिहानै गाडी पाइएको थियो । नत्र मूल बाटोमा पुगेपछि बाटैबाटो हिँड्ने सोच बनाएकी थिएँ । उसकै फोनमा उसका ‘कहाँ आइपुग्यौ ?’ भन्ने प्रश्नहरूले मेरो पाइलाहरूलाई थप हौसला दिएका भने थिए । छेउमा खलासी अनि एकजना बूढो मान्छे, म र ड्राइभर साथमा थियौं । अपरिचित उनीहरू मेरा बारेमा प्रश्न गर्थे र पटक पटक एउटी नारीको सामु आएका उनीहरूका प्रश्नको पनि म जवाफ नदिइरहन सक्थिनँ । आधै परिचय दिएँ तर आफ्ना पाइला बारे अनभिज्ञ बनाएँ ।

सुर्खेत वीरेन्द्रनगर, जिल्ला प्रहरी कार्यालयको पूर्वपट्टी चोकमा रातो मोटरसाइकलमा ऊ मेरै प्रतिक्षा गरिरहेको थियो । देख्नासाथ म मुस्कुराएँ । उसको मुहारमा पनि तनाव तथा डरको रेखाहरू स्पष्ट झल्किन्थे । तर पनि ऊ गर्वको भाव झल्काइरहेको थियो । गाडीको भाडा खलासीलाई दियो र उसको मोटरसाइकलमा हामी हुइँकियौं । सुनौलो जीवनको कल्पनामा रम्दै काँपेका ओठको साथमा प्राप्तिले मात्तिएका आंैलाले उसलाई अँगालोमा बेर्दै म ऊसँग हुइँकिएँ । उसको मोटरसाइकलको पछाडि हुइँकिएँ ।

(बि.सी.को पहिलो उपन्यास ‘रमा’ यहि वैशाख ३१ गते बिमोचन हुँदै छ)