फिचर

त्यसपछि हट्यो नन्दभाउजुको छोइछिटो

फिचर


वि.सं. २०५१ सालताका तिलसरा कामीले माइत जाँदा ओटालो (आँगन) भन्दामाथि कहिल्यै टेक्न पाइनन् । माइतीमा बासै बस्नु परे गोठमा रात बिताउँथिन् । माइती पक्षकालाई छोइयो भने सुनपानी छर्ने चलन थियो ।

त्यो उनको आफ्नै माइतीघर नभए पनि मितेरी दाइको घर थियो । तिलसराकी भाउजु जुवारा शाहीले पनि नन्दले छोएको कहिल्यै खाइनन् । उनी मितेरी घरकी नन्द भए पनि दलित समुदायकी थिइन् ।

तिला गाउँपालिका–४ कि जुवारा र ७ कि तिलसरा एक आपसमा पारिवारिक सुख–दुःख साट्थे । मेलापात सँगै गर्थे । तर भौतिक दूरी कायम राखेर ।
तिलसरालाई छोए पनि जुवाराले सुनपानी छर्थिन् । नाता र भावनाले नजिक बनायो तर भौतिक दूरी भने उनीहरूको टाढै थियो । तिलसराले बालखैदेखि समाज र नातागोता खासगरी माथिल्लो जात भनिनेहरूबाट यस्तै व्यवहार भोग्दै आइन् । जुवाराले पनि उसैगरी तिलसराजस्तै दलित समुदायका नागरिकलाई व्यवहार गरिन् ।

२०५२ साल अगाडि जुम्लाको तिला गाउँपालिकाका यी दुई नन्दभाउजुको सम्बन्ध केवल नातामा सीमित थियो । मनमा माया भए पनि समाजको कुप्रथाले सम्बन्ध कहिल्यै गाढा हुन दिएन ।

वर्षाैंसम्म उनीहरूबीचमा भौतिक दूरी रह्यो । छोइछिटो चलि नै रह्यो । उनीहरूले एक अर्कोलाई छोएनन् । जुवारा र तिलसरासँगै खान पाए, सँगै बस्न पाए भन्ने चाहन्थे । तर, समाजको डरले उनीहरूको चहाना पूरा भएको थिएन ।

उसो त राजनीतिक रूपमा पनि उनीहरूको आस्था एउटै थियो । उनीहरू माओवादी जनयुद्धमा समेत सँगै सामेल थिए । माओवादीमा लागेर भूमिगत भए । जुवाराका श्रीमान् बितिसकेका थिए, छोरा बेपत्ता थिए । जुवारा र उनकी छोरीले घरसम्पत्ति सबै पार्टीको नाममा गरिदिए । यता तिलसरा पनि युद्धका मोर्चाहरूमा सहभागी थिइन् । जुवाराले माओवादीको वडा प्रमुख, गाजस प्रमुख, एरिया प्रमुख भएर पार्टीमा काम गरिन् । उनी साविकको महावै पातलखोला गाउँ विकास समिति, बड्की गाउँ विकास समिति र कालिका खेतु गाउँ विकास समितिको एरिया प्रमुख भएकी थिइन् ।

त्यो समयमा माओवादीले एक घर एक भूमिगत अभियान नै सञ्चालन गरेको थियो । २०२१ सालमा जन्मिएकी जुवारा २७ वर्षको उमेरमा विधवा भइन् । कलिलै उमेरमा श्रीमान् गुमाएकी उनले जीवन गुजरा गर्न थुप्रै संघर्ष गर्नुप¥यो । जुवारा ३१ वर्षको उमेरमा भूमिगत भएकी थिइन् ।

पार्टिका लागि चन्दा संकलन गर्नुपथ्र्यो । कार्यकर्ता र जनमुक्ति सेनाका लागि आवश्यक खर्च, लत्ताकपडा र खाना खर्च चलाउनु पथ्र्यो । गाउँमा अन्न, पैसा उठाएर जुवाराले जनमुक्ति सेनालाई बुझाउने गर्थिन् । चन्दा उठाउँदा कसैले नदिए कारबाही गर्ने अधिकार जुवारालाई पार्टीले दिएको थियो । तै पनि उनले कारबाही भने कसैलाई गरिनन् । तीनवटै गाउँ विकास समिति जुवाराका कार्यक्षेत्र थिए । ‘ती दिन सम्झि ल्याए आज आँसु आउँदा,’ उनले भन्छिन्, ‘यइथोगरी देशमा शान्ति आउला र बाँचौला भनि उहीबेला सोच्याँ कै नाइँ ।’

जुवारा पार्टाीको सिद्धान्त बुझेर न माओवादीमा लागेकी हुन न त भूमिगत नै भएकी हुन् । माओवादीले एक घर एक भूमिगत अभियान चलाएपछि आफू पार्टीमा लाग्न बाध्य भएको उनले सुनाइन् ।

उतिबेला माओवादीले कडा रूपमा उठाएको मुद्दामध्ये एक थियो, जातीय छुवाछुतको अन्त्य । पार्टीका नेताहरूले जातीय छुवाछुतको अन्त्य र महिला समानताका कुरा गरेको सुन्दा उनलाई माओवादीप्रति सकारात्मक धारणा बन्दै गएको थियो । उनी महिला थिइन्, त्यो पनि एकल । उसैपनि एकल महिलालाई समाजमा संघर्ष गर्न सजिलो थिएन । माओवादीले आफ्नै अधिकारका लागि आवाज उठाइदिए जस्तो लाग्थ्यो उनलाई ।

गाउँका धेरै बाटाहरू माओवादी भूमिगत हुँदाका बेला नै खनेको तिलसराले बताइन् । ‘हामीकन तल्ला जातका भनि हेला अर्दाथिया,’ उनले भनिन्, ‘माओवादीमा लाग्या पछि भन्न छोड्याका थिया ।’ अहिले समाजमा जातीय छुवाछुत हट्दै जानुमा उतिबेला माओवादीले चलाएका अभियानहरूको सकारात्मक प्रभाव ठान्छिन् उनी । युद्धमा भोग्नु परेका दुःख र पीडाभन्दा जातीय छुवाछुतले उनको मन पोल्थ्यो । युद्धपछि उतिधेरै विभेदको सामना गर्न नपरेको उनको अनुभव छ ।

गएको चैत महिनामा एकै ठाउँमा बसेर भलाकुसारी गरिरहेका अवस्थामा भेटिएका जुवारा र तिलसराले भने, ‘माओवादी हुनुभन्दा पहिला यसरी कहिल्यै सँगै टासिएर बस्थेनौं ।’ ‘उहिल यैथोअरी नन्दभाउजु बस्या नाइँ,’ तिलसराले भनिन् । माओवादीको युद्धपछि आफूहरूले छोइछिटो बार्न छोडेको उनले बताइन् ।

उनीहरूका दिन फेरिएका छन् । अहिले तिलसरा र जुवारा जनप्रतिनिधि छन् । स्थानीय तहको निर्वाचनमा उनीहरूले उम्मेदवार बन्ने अवसर पाए र जीत हासिल गरे । जुवारा हिमा गाउँपालिका जुम्लाकी कार्यपालिका सदस्य हुन् भने तिलसरा दलित वडा सदस्य हुन् । उनीहरू अहिले एउटै भान्सामा खान्छन् । ‘समाजको डर छैन । बरु हामी समाज रूपान्तरणमा लागेका छौं । महिला अधिकार, स्वतन्त्रता र जातीय विभेदविरुद्ध खुलेरै बोल्छौं,’ उनीहरूले एकै स्वरमा भने ।

प्रकाशित मितिः   ११ बैशाख २०७८, शनिबार १०:४८