एमालेमा नेताहरूको कार्यविभाजन

नेकपा एमालेले पार्टीका नेताहरूको कार्यविभाजन गरेको छ । एमालेले स्थायी कमिटी गठन तथा अन्य कमिटीहरूमा जिम्मेवारी तोकेको हो । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दसौं महाधिवेशन आयोजक कमिटी बैठकले स्थायी कमिटी गठन गरेको छ । माओवादीबाट आएका नेताहरूलाई समेत समेटेर स्थायी कमिटी गठन गरिएको हो । माधवकुमार नेपाल र झलनाथ खनाल समूहलाई बाहिर राख्दै १९ सदस्यीय स्थायी कमिटी गठन गरिएको छ । स्थायी कमिटीमा नेपाल–खनाल पक्षका नेतालाई राखिएको छैन ।
एमाले स्थायी कमिटी सदस्यमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, मणि थापा र पुष्पराज कँडेल रहेका छन् । बाँकी सदस्यहरू पछि थप गर्ने निर्णय बैठकले गरेको छ ।
पार्टी अध्यक्ष ओलीलाई स्कुल विभागको जिम्मेवारी दिइएको छ भने महासचिव ईश्वर पोखरेललाई कार्यालय प्रमुख र उपत्यका विशेष कमिटीको इञ्चार्ज बनाइएको छ ।
यस्तै, अग्निप्रसाद खरेललाई निर्वाचन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ भने गणेशसिंह ठगुन्नालाई सामान्य प्रशासन विभाग प्रमुख र सुदूरपश्चिम प्रदेशको सहइञ्चार्जको जिम्मेवारी दिइएको छ । यस्तै, एमालेले केशवप्रसाद बडाललाई सल्लाहकार परिषद् अध्यक्षको जिम्मेवारी दिइएको छ ।
यसैगरी, बैठकले युवा संघको इञ्चार्जको जिम्मेवारी महेश बस्नेतलाई, अनेरास्ववियुको इञ्चार्ज खिमलाल भट्टराई, प्रेस चौतारीको इञ्चार्ज सूर्य थापा र मजदुर इञ्चार्जको जिम्मेवारी विनोद श्रेष्ठलाई दिने निर्णय पनि गरेको छ । वैशाख ६ देखि सुरू भएको बैठक शुक्रवार सकिएको छ । बैठकमा अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रस्तावमाथि छलफल पनि भएको थियो ।
प्रदेशका नेतालाई थप जिम्मेवारी
नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटी बैठकले कर्णाली प्रदेशमा पनि नेताहरूलाई विभिन्न जिम्मेवारी तोकेको छ । बैठकले कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेललाई सुर्खेत इञ्चार्जको जिम्मेवारी पनि दिएको छ । प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीलाई थप जिम्मेवारी दिँदै हुम्ला र डोल्पाको इञ्चार्ज बनाएको हो ।
यस्तै, एमाले कर्णाली प्रदेश सचिव धर्मराज रेग्मीलाई रुकुम–पश्चिम इन्चार्जको जिम्मेवारी पनि तोकिएको हो । केन्द्रीय सदस्य लक्ष्मीप्रसाद पोखरेललाई प्रदेश सह–इन्चार्ज तथा कालीकोट र दैलेखको इञ्चार्ज दिइएको छ । प्रदेश सहइञ्चार्ज गुलाबजंग शाहले सल्यान इञ्चार्जको जिम्मेवारी पनि पाएका छन् ।
त्यस्तै, यसअघि विदेश विभाग उपप्रमुखको जिम्मेवारीमा रहेका विष्णु रिजाललाई एमालेले सोसहित दैलेखको सह–इञ्र्चाजको जिम्मेवारी दिएको छ । एमाले नेपाल समूहका नेता उनी केही दिन पहिले मात्र ओली समूहमा लागेका थिए । एमालेले कर्णाली प्रदेशको सहइन्चार्जमा थप दुई जनालाई जिम्मेवारी दिइएको छ । भैरबसुन्दर श्रेष्ठ र मोहन बानियाँलाई प्रदेश सह–इन्चार्ज तोकिएको हो । श्रेष्ठलाई जाजरकोट र बानियाँलाई जुम्ला तथा मुगुको इञ्चार्जको जिम्मेवारी समेत दिइएको छ ।
प्रकाशित मितिः ११ बैशाख २०७८, शनिबार १०:४६
साझा बिसौनी ।