संक्रमण दर उच्च

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर उच्च देखिएको छ । केही दिनयताको तथ्याङ्क हेर्दा संक्रमणको दर बढ्दै गएको पाइएको हो ।

एक सय ५६ जनाको कोरोना परीक्षण गर्दा एक सय २६ जनामा संक्रमण पुष्टि

परीक्षण गरिएकामध्ये ८० प्रतिभन्दा बढीलाई संक्रमण पुष्टि हुने गरेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । बिहीवार एक सय ६ जनाको परीक्षण गर्दा ८७ जनामा संक्रमण देखिएकोमा शुक्रवार एक सय ५६ जनाको कोरोना जाँच गर्दा एक सय २६ जनामा संक्रमण पुष्टि भएको हो । एक सातायता संक्रमण दर उच्च देखिएको चिकित्सकहरूले बताएका छन् । उनीहरूका अनुसार पछिल्लो समय पुष्टि भएका संक्रमितहरू अधिकांश गम्भीर लक्षणसहितका छन् ।

कोरोनाको दोस्रो लहरको संक्रमण फैलिएसँगै गम्भीर प्रकृतिका संक्रमितको सख्या पनि बढेको हो । निर्देशनालयका अनुसार कर्णालीमा शुक्रवारसम्म दुई सय ३१ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । हालसम्म प्रदेशमा कोरोना संक्रमितको संख्या झण्डै आठ हजार पुगेको छ भने संक्रमितमध्ये ३३ जनाको ज्यान गएको छ । शुक्रवारसम्म प्रदेशभर तीन सय बढी सक्रिय संक्रमित छन् । तीमध्ये अधिकांश संक्रमित सुर्खेतका हुन् ।

प्रकाशित मितिः   ११ बैशाख २०७८, शनिबार १०:४१