संक्रमितको उपचारका लागि एम्बुलेन्स र हेलिकोप्टर
कर्णाली प्रदेश सरकारले कारोना संक्रमितको उपचारका लागि एम्बुलेन्स र हेलिकोप्टरको व्यवस्था गर्ने भएको छ । सरकारले गम्भीर प्रकृतिका संक्रमितको उपचारमा सहज पहुँच पु¥याउन १० वटा एम्बुलेन्स सञ्चालन गर्ने र विकट क्षेत्रका लागि हेलिकोप्टरसहितको व्यवस्था गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीवार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि यस्तो निर्णय गरेको हो ।
कर्णालीमा सञ्चालन हुने एम्बुलेन्सहरूको सेवा दिने स्थल छनोट र सेवा प्रदायक संस्थाहरूको छनोट गरी जीपीएस प्रणालीमार्फत एम्बुलेन्स सेवा एप्स सञ्चालन गर्ने सरकारको तयारी छ । यस्तै, बैठकले कोरोना नियन्त्रण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि स्वीकृत लिन मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने, आवश्यक स्वास्थ्य जनशक्ति पूर्ति गर्न र कोभिड संकट व्यवस्थापनका लागि आवश्यक बजेटसहित एकीकृत सेवा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
कोभिड संकट व्यवस्थापन सम्बन्धी विस्तृत ठोस योजना तयार गर्ने, उपचार सेवालाई प्रभावकारी बनाउन कोभिड विशेष अस्पताललाई आवश्यक सहयोग गर्ने निर्णय गरिएको छ । प्रदेश अन्तर्गतका कोभिड अस्पतालहरूमा चौबिसै घण्टा विद्युत आपूर्ति गर्ने, आइसोलेसनका लागि आवश्यकताअनुसार निजी क्षेत्रको होटलहरूलाई सुरक्षा मापदण्डसहित उपयोग गर्ने निर्णय भएको जनाइएको छ ।
त्यस्तै, पाँच जनाभन्दा बढीको संख्यामा भेला हुन नदिने, भिडभाड नियन्त्रण गर्ने, कोरोना संक्रमण बढेकाले सम्बन्धित निकायले नियन्त्रण र उपचारका लागि विशेष ध्यान दिने निर्णय समेत वैठकले गरेको छ । बैठकले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई पाँच जनाभन्दा बढी भेला हुुन नदिन र कोभिड सतर्कता अपनाउन जनसमुुदायमा व्यापक प्रचारप्रसार गर्न जिम्मेवारी दिएको छ ।
प्रकाशित मितिः १० बैशाख २०७८, शुक्रबार ०६:०३
साझा बिसौनी ।