हिउँले स्याउ बगैंचामा क्षति

जुम्लासामान्यतः पुस, माघ र फागुन महिनामा पर्ने हिउँ यसपालि वैशाखमा पनि परेको छ । यो वर्ष जुम्लालगायत कर्णालीका हिमाली जिल्लामा वैशाखमा हिमपात भएको हो । मंगलवारदेखि पर्न थालेको हिउँले उच्च हिमाली भेकहरू सेताम्मे भएका छन् ।

लामो समयको खडेरी पछि वर्षासँगै हिमपात भएको हो । हिमपात भएपछि कृषकहरू खुसी भएका छन् । तातोपानी गाउँपालिकाको ताम्ती, तिलाको जुम्लाकोट, पातारासी, गुठिचौर र सिंजामा समेत हिमपात भएको छ । सिंजा गाउँपालिका वडा नम्बर ६ मा एक फिटसम्म हिउँ परेको छ ।

असोज, कार्तिक महिनामा तयार हुने अन्न कोदो, चिनो, कागुनो, मकै, सिमी र फापर उत्पादनका लागि हिमपातले निकै राम्रो भएको स्थानीयले बताएका छन् । स्थानीय दलबहादुर रावतले यो पटक परेको हिउँले स्याउ बगैंचामा भने ठुलो क्षति पुगेको बताए । भर्खर फूल हालेका स्याउ बगैंचामा एक फिटसम्म हिउँ पर्दा नोक्सानी भएको हो । सदरमुकाम खलङ्गा आसपासमा भने वर्षा मात्रै भएको छ । जसले गर्दा किसानहरूलाई राहत मिलेको छ । मंगलवार रातिदेखि मुगु, हुम्ला, जुम्ला लगायतका जिम्लामा हिमपात भएको हो ।

प्रकाशित मितिः   १० बैशाख २०७८, शुक्रबार ०६:०१