बालबालिका विद्यालयबाहिर झनै असुरक्षित

बिहीवार दिउँसो साढे दुई बजे वीरेन्द्रनगर–४ भैरवस्थानस्थित एउटा खुला चौरमा बालबालिकाहरू समूहमा खेलिरहेका थिए । उनीहरू त्यहाँ कुनै स्वास्थ्य सावधानी नअपनाइ साथीहरूबीच निष्फिक्रि खेलिरहेको देखिन्थ्यो । विद्यालयमा कोरोना भाइरस ‐कोभिड–१९) को जोखिम बढेको भन्दै सरकारले सहरी क्षेत्रका विद्यालय पुनः बन्द गरेको छ । गत वर्ष लामो समय बन्द रहेका विद्यालयले गएको माघदेखि विद्यालयमा पठनपाठन सुरू गरेका थिए । पछिल्लो समय कोरोनाको दोस्रो लहरको जोखिम बढेसँगै विद्यालय फेरि बन्द भएका हुन् । वीरेन्द्रनगर पनि संक्रमणको उच्च जोखिम भएको भन्दै विद्यालय बन्द गरिएका छन् । तर, बालबालिकाहरू भने विद्यालयभन्दा झनै असुरक्षित हुनेगरी भिडभाडमा खेलिरहेका भेटिन्छन् । विद्यालय पठाउँदा बालबालिका असुरक्षित हुने ठानेका अभिभावकले समेत घरमै रहेका बालबालिकाको बेवास्ता गरेका छन् । विद्यालय बन्द भएपछि विद्यार्थीहरूले दशैं तिहारको छुट्टी जसरी समूहमा खेल्ने र घुम्ने गरेका हुन् ।

बालबालिकाहरूलाई जोखिमबाट जोगाउन विद्यालय बन्द गरिए पनि उनीहरू भने सडकमै असुरक्षित तरिकाले खेलिरहेका छन् । विद्यालयहरूले वैकल्पिक सिकाइका माध्यमहरूबाट समेत पठनपाठन थालेका छैनन् । बालबालिकाहरूको सिकाइ र स्वास्थ्य सुरक्षाप्रति अभिभावकसमेत जिम्मेवार बनेको पाइँदैन ।

दिउँसोको समयमा सडकमा साथीहरूसँगै रमाइरहेकामध्ये एक जना विपिन वली भैरवस्थानको छबि आधारभूत विद्यालयमा पढ्छन् । कक्षा ७ मा अध्ययनरत विपिनले घरमा बसेर पढ्न मन नलागेपछि साथीहरूसँग खेल्न निस्किएको बताए । ‘पढ्न मन लाग्दैन,’ उनले भने, ‘दिनभर के गरेर कोठामै बस्नु । त्यसैले बाहिर निस्केको हो ।’ उनले दिउँसो साथीहरूसँग घुम्न र खेल्न निस्के पनि बिहान–बेलुका भने पढ्ने गरेको बताए । विपिनको विद्यालय बन्द छ । विद्यालय कहिले खुल्छ र वार्षिक परीक्षा कहिले हुन्छ उनलाई थाहा पनि छैन । अनलाइन कक्षा सञ्चालनका लागि सरहरूले आफूहरूले केही जानकारी नदिएको उनी बताउँछन् ।

वीरेन्द्रननगर–४ कै भैरव माध्यमिक विद्यालय परिसरमा केही विद्यार्थीहरू छरिएर बसेका थिए । कतिपय विद्यालयको गेटबाट बाहिर र भित्र गर्दै थिए । उनीहरू पढ्नका लागि त्यहाँ गएका भने होइनन् । विद्यालय बन्द भए पनि चौरमा खेल्न आएको उनीहरूले सुनाए । त्यो समूहमा कक्षा ४ मा अध्ययनरत गणेश बस्याल पनि थिए । उनलाई समेत विद्यालय बन्द भएपछि घरमा बसेर पढ्न मनै लाग्दैन । ‘आज हाम्रो विद्यालयमा गेम थियो । कराँते खेल्न विद्यालय आएको हुँ,’ उनले भने । गणेशको अनलाइन कक्षा पनि हुँदैन । उनको घरमा इन्टरनेट छैन । उनी भन्छन्, ‘इन्टरनेट चलाउने मोबाइल पनि छैन, नेट पनि छैन ।’ गतवर्ष समेत विद्यालय बन्द हुँदा उनले अनलाइन कक्षा लिन पाएनन् । उनलाई विद्यालय बन्द भएको राम्रो लागेको छैन ।

गणेश र विपिन जस्तै धेरै बालबालिका अहिले कोरोना संक्रमणको जोखिममा छन् । विद्यालय बन्द भए पनि उनीहरूको मन घरमा अडिएको छैन । बजार खुला भएकाले कहिले उनीहरू बजार पुग्छन् भने कहिले समूहमा साथीहरू जम्मा भएर खेल्छन् । अभिभावकहरू काममा निस्किएपछि बालबालिका दिनभर असुरक्षित तरिकाले घुमफिर गर्ने गरेका हुन् । उनीहरू सडकमै साथी बटुलेर खेल्नमै व्यस्त देखिन्छन् ।

श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्रामका प्रधानाध्यापक यामलाल घिमिरेले विद्यार्थीलाई संक्रमणको जोखिमबाट सुरक्षित राख्न अभिभावकहरूले निगरानी बढाउनुपर्ने बताए । विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित मात्र नभए उनीहरू जहाँ त्यही खेल्न र घुम्न जाँदा थप असुरक्षित हुने देखिएको घिमिरे बताउँछन् । ‘अनलाइन कक्षा सबै विद्यार्थीको पहुँचमा छैन । घरमा बस्दा समेत उनीहरूले पढाइ र स्वास्थ्य सुरक्षामा ध्यान दिएको पाइँदैन,’ उनी भन्छन् । उनले अघिल्लो वर्ष अनलाइन कक्षा सञ्चालन गरिए पनि प्रभावकारी हुन नसकेको अनुभव सुनाए ।

‘अनलाइन कक्षा त सुरू गरियो,’ उनले भने, ‘तर गतवर्ष २० प्रतिशत भन्दा बढी विद्यार्थीलाई सहभागी गराउन सकिएन ।’ कक्षा ५ भन्दा तलका बालबाबालिकाहरूलाई भर्चूअल माध्यमबाट पठनपाठन गराउन निकै चुनौती हुने उनले बताए ।

जोखिमबाट बालबालिकाहरूलाई जोगाउनको लागि विद्यालय बन्द गरिए पनि बालबालिकाहरू भने सडकमै असुरक्षित तरिकाले खेलिरहेका छन् । विद्यालयहरूले वैकल्पिक सिकाइका माध्यमहरूबाट पनि पठनपाठन थालेका छैनन् । बालबालिकाहरूको सिकाइ र स्वास्थ्य सुरक्षाप्रति अभिभावक समेत जिम्मेवार नबनेका हुन् । विद्यालय बन्द गरिए पनि यो पटक श्रीकृष्ण संस्कृत तथा साधारण माविमा अनलाइन कक्षा सुरू गरिएको छैन । ‘विद्यार्थीलाई कसरी अनलाइन कक्षामा सहभागी गराउने भन्नेबारे अभिभावक र शिक्षकहरूसँग छलफल भइरहेको प्रधानाध्यापक घिमिरे बताउँछन् ।

नेवारेस्थित अमरज्योति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले अनलाइन कक्षामा धेरै विद्यार्थीहरूको पहुँच नभएको बताए । ‘विद्यार्थीसँग मोबाइल नै हुँदैन,’ उनले भने, ‘आफ्ना बुवाआमासँग कुरा गर्ने फोन नभएका बच्चाहरूले कसरी अनलाइन कक्षा लिन सक्छन् ?’ थापाले विद्यालयले अघिल्लो वर्षदेखि नै अनलाइन कक्षा सञ्चालन गरेर अध्ययन अध्यापनको कार्य थालिए पनि पहुँच र प्रभावकारिता दुवै नभएको सुनाए । विद्यालय कहिले बन्द गर्ने र कहिले खोल्ने सरकारको नीतिबाट आफूहरू आजित भएको थापा बताउँछन् । ‘कोर्ष आधा पनि सकिएको छैन । आखिर विद्यार्थी घरमा पनि संक्रमण हुनबाट सुरक्षित छैनन् । ‘दूरी कायम गरी २० जनाको मात्रै समूहमा विद्यालयमै पढाउँदा पनि उपयुक्त हुन्थ्यो,’ उनले भने । अहिले अम्मरज्योतिका केही शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सरकारले कोरोना अति प्रभावित जिल्लाका सहरी क्षेत्रमा रहेका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण सरकारले विद्यार्थीलाई अनलाइन सिकाइ प्रणालीमा जोड दिन विद्यालयहरूलाई भनेको हो । तर, अनलाइनमा सबै विद्यार्थीको पहुँच र प्रभावकारिता पनि नभएकोले अन्य क्षेत्रको भिडभाड घटाएर कक्षा चलाउनुपर्ने सामुदायिक तथा निजी विद्यालयहरूले बताएका छन् । अनलाइन कक्षाको अभ्यास प्रभावकारी नभएको विद्यालयले जनाएका छन् ।

प्रकाशित मितिः   १० बैशाख २०७८, शुक्रबार ०६:००