विद्यालय बन्दप्रति महासंघको ध्यानाकर्षण

शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णयप्रति नेपाल शिक्षक महासंघ सुर्खेतले ध्यानाकर्षण भएको जनाएको छ । विद्यालय बन्द गरिँदा वार्षिक परीक्षामा असर परेको महासंघले जनाएको हो ।

सरकारको यस्तो निर्णयले एकीकृत परीक्षामा असर पर्ने भन्दै महासंघले बिहीवार प्रेस विज्ञप्ती जारी गरी संघीय सरकारको नीति बमोजिम जेठ महिनामा विद्यालयले आफ्नो अनुकूलताअनुसार वार्षिक परीक्षा सञ्चालन गर्नुपर्ने बताएको छ ।

कतिपय पालिकाहरूले तत्काल वार्षिक परीक्षा सञ्चालन गर्न विद्यालयहरूलाई दबाब दिइरहेको र वैशाखमै वार्षिक परीक्षाको मिति तोकिएकाले उक्त कार्य नगर्न भन्दै महासंघले विज्ञप्तीमार्फत अनुरोध गरेको छ । महासंघ सुर्खेतका अध्यक्ष कृष्ण थापाले पाठ्यक्रम आधा पनि नभएको अवस्थामा तत्कालै वार्षिक परीक्षा गर्न सम्भव नहुने बताए । कोरोना संक्रमणको जोखिम उच्च भएको र वार्षिक परीक्षाको कार्यतालिका समेत जेठमा भएकाले पालिकाहरूले वैशाखमै वार्षिक परीक्षा लिन विद्यालयलाई दवाव दिनु उपयुक्त नभएको थापाको भनाइ छ । यतिबेला विद्यालयहरूले वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउनुपर्ने समेत महासंघले जनाएको छ ।

प्रकाशित मितिः   १० बैशाख २०७८, शुक्रबार ०६:००