पूर्वाधार तयार गर

नियन्त्रणउन्मुख देखिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण फेरि फैलिएको छ । दोस्रो चरण फैलिएसँगै संक्रमितको संख्या पनि दिनानुदिन बढ्दो छ । दैनिक परीक्षण गर्दा ठूलो संख्यामा संक्रमित भेटिने गरेका छन् । कतिसम्म भने कर्णालीमा बुधवार ८८ जनाको परीक्षण गर्दा ८६ जनामा संक्रमण देखियो । यो संख्या बढ्दै गएको छ । पछिल्ला दिनका दैनिक परीक्षण रिपोर्टले समुदायमा संक्रमण व्यापक भएको पुष्टि गरेको छ । जसले गर्दा स्वास्थ्यकर्मीहरू नै त्रसित बनेका छन् । नियन्त्रणबाहिर जाने अनुमान गर्न थालेका छन् । समयमै सतर्क रहन र आवश्यक तयारी गर्न सुझाव दिइरहेका छन् । तर सरकारतर्फबाट अपेक्षित पूर्वतयारी हुन सकेको छैन । सामान्य काम भइरहेपनि तीव्र गतिमा हुन सकेको छैन ।

परीक्षण दर घटेपछि संक्रमितको संख्यामा पनि कमी भएको थियो । पछिल्लो ६ महिना यतादेखि लक्षण देखिएका सीमित व्यक्तिहरूको मात्र परीक्षण गर्ने गरिएको हो । तर के कुरालाई बेवास्ता गरियो भने कोरोना संक्रमण यसअघि पनि थियो । बीचमा केही महिना संक्रमण दर सामान्य रह्यो । तर जोखिमबाट भने मुक्त भएका थिएनौं । पहिलो चरणमा देखिएको भाइरस केही समय निष्क्रियजस्तै भए पनि अहिले फेरि संक्रमण बढेको छ । भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव परेको छ । कर्णालीमा झनै बढी जोखिम छ । दैनिक परीक्षण रिपोर्ट हेर्दा अहिले पुनः संक्रमणको जोखिम बढेको देखिन्छ । कर्णाली अलि बढी नै जोखिममा छ । अहिले पनि कोरोना भाइरस संक्रमणको लक्षण देखिएकाहरूलाई मात्रै परीक्षण गर्ने गरिएको छ । त्यसैले परीक्षण गर्न आउनेको संख्या पनि कमै छ । तर, परीक्षण गरिएकामध्ये अधिकांशमा कोरोना संक्रमण भने पुष्टि हुने गरेको छ । लक्षण विनाकालाई परीक्षण गर्ने गरिएको छैन । कर्णालीमा यो एक हप्ताको तथ्याङ्क हेर्दा परीक्षण गरिएका संक्रमणका आशंकितहरूमा ८० प्रतिशतभन्दा बढीमा कोरोना पुष्टि हुने गरेको छ । यो निकै डरलाग्दो तथ्याङ्क हो ।

जोखिम बढ्दै गएपनि पूर्वाधार तयारीमा भने ध्यान पुगेको छैन । प्रदेशमा रहेका चार वटा प्रयोगशालामध्ये एउटाबाट मात्र कोरोना परीक्षण हुँदै आएको छ । प्रदेश अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि आठ वटा भेन्टिलेटर र २५ वटा आईसीयू बेड छन् । रूकुममा भएको एउटा भेन्टिलेटर पनि जनशक्ति अभावका कारण सञ्चालनमा छैन । त्यति मात्र होइन परीक्षणका लागि किटको समेत अभाव छ । भएका उपकरण समेत प्रयोगविहीन अवस्थामा छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २० वटा आईसीयू र १० वटा भेन्टिलेटर छन् । यसले के देखाउँछ कर्णालीमा जोखिमसँग लड्न आवश्यक पूर्वाधारको कमी छ । अहिलेकै दरमा संक्रमण बढ्दै गए अबको केही समयभित्रै थेग्न नसक्ने गरी संक्रमितको संख्या पुग्ने चिकित्सकहरूले बताएका छन् । त्यसकारण पनि सरकारले समयमै आवश्यक सतर्कता अपनाउने र पूर्वाधार तयार गर्न ध्यान दिनु अनिवार्य छ ।

प्रकाशित मितिः   १० बैशाख २०७८, शुक्रबार ०६:००