‘जोखिम छ, सर्तक रहौं’

साझा संवाद


कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेको छ । कर्णाली प्रदेशमा दैनिकजसो ठुलो संख्यामा कोरोनाका संक्रमित भेटिने गरेका छन् । रोजगारीका लागि भारत जानेहरू धमाधम फर्कन थालेका छन् । भारतबाट फर्कनेहरू सीधै गाउ“मा जाँदा संक्रमणको जोखिम झनै बढेको छ । भारतमा अहिले संक्रमण भयावह छ । त्यहाँ दैनिक एक लाखभन्दा बढी संक्रमित पुष्टि हुने गरेका छन् । कर्णालीमा बढ्दो जोखिमको न्यूनीकरण, नियन्त्रण तथा उपचारका लागि प्रदेश स्वास्थ्य सेवा निर्देशनालयलको तयारी के छ ? भन्ने सन्दर्भमा हाम्रा सहकर्मी सीता वलीले निर्देशक डा. रबिन खड्कासँग गरेको कुराकानीः

डा. रबिन खड्का निर्देशक, प्रदेश स्वास्थ्य सेवा निर्देशनालय

कर्णालीमा यो एक हप्ताको तथ्याङ्क हेर्दा परीक्षण गरिएका संक्रमणका आशंकितहरूमध्ये ८० प्रतिशत भन्दा बढीमा कोरोना पुष्टि हुने गरेको छ।

  • कोरोना संक्रमणको जोखिम बढेकै हो ?

कोरोना संक्रमण यसअघि पनि थियो नै । बीचमा केही महिना संक्रमण दर सामान्य रह्यो । हामीहरू जोखिमबाट भने मुक्त भएका थिएनौं । पहिलो चरणमा देखिएको भाइरस केही समय निष्क्रियजस्तै भए पनि अहिले फेरि संक्रमण बढेको छ । भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव परेको छ । कर्णालीमा झनै बढी जोखिम छ । दैनिक परीक्षण रिपोर्ट हेर्दा अहिले पुनः संक्रमणको जोखिम बढेको देखिन्छ । कर्णाली अलि बढी नै जोखिममा छ ।

दैनिक परीक्षण गर्दा कति प्रतिशतमा कोरोना संक्रमण पुष्टि हुने गरेको छ ?

कोरोना भाइरस संक्रमणको लक्षण देखिएकाहरूलाई मात्रै परीक्षण गर्ने गरिएको छ । गएको करिब ६ महिनादेखि हामीले लक्षण देखिएकाको मात्र परीक्षण गर्ने गरेका छौं । त्यसैले परीक्षण गर्न आउनेको संख्या पनि कमै छ । तर, परीक्षण गरिएकामध्ये अधिकांशमा कोरोना संक्रमण भने पुष्टि हुने गरेको छ । लक्षण विनाकालाई परीक्षण गर्ने गरिएको छैन । कर्णालीमा यो एक हप्ताको तथ्याङ्क हेर्दा परीक्षण गरिएका संक्रमणका आशंकितहरूमा ८० प्रतिशत भन्दा बढीमा कोरोना पुष्टि हुने गरेको छ । बुधवारको तथ्याङ्क हेर्ने हो भने ८८ जनाको स्वाब लिइएकोमा ८६ जनामा कोरोना पुष्टि भएको छ ।

  • पहिलो चरणको भन्दा दोस्रो चरणमा फैलिएको भाइरस बढी सक्रिय र खतरनाक हो ?

कोरोनाको जोखिम पहिले पनि थियो, आज पनि छ र भोलि पनि हुन सक्नेछ । पहिलो चरणको कम खतरनाक र दोस्रो चरणको बढि खतरनाकभन्दा पनि यो भाइरस छिटो सर्ने र लक्षण नदेखिने खालको पनि छ । पहिले ज्वरो आउने, रुघाखोकी लाग्ने लगायतका लक्षण देखिन्थे र प्रायः बयस्कहरूलाई यसले असर पारेको देखिन्थ्यो । तर, अहिले युवा र बालबालिकाहरूमा समेत यसको संक्रमण बढी देखिएको छ । जसले गर्दा नयाँ प्रजातीको भाइरस हो की भन्ने अनुमान पनि गर्न थालिएको छ । यद्यपि परीक्षणबाट मात्रै यसको थाहा हुन्छ । असर पहिले र अहिले भन्ने हुँदैन उत्तिकै असर र प्रभाव पर्छ । त्यसैले सबै नागरिकहरूलाई सचेत हुन आग्रह गर्दछु ।

  • स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए नभएको अवस्था के देख्नु हुन्छ ?

कर्णालीका अधिकांश युवाहरू रोजगारीको लागि भारत जानुपर्ने बाध्यता छ । भारतमा महामारीको प्रभाव पर्ने बित्तिकै नेपाल स्वतः त्यसको प्रभावमा पर्छ । बढी भिडभाड हुने व्यापार व्यवसाय, उद्योगधन्दा तथा कार्यालयहरू समेत खुला छन् । सार्वजनिक स्थलहरूमा समेत नागरिकहरूको उत्तिकै भिड देख्न सकिन्छ । अधिकांश नागरिक बेप्रवाह हिँडेको देखिन्छ । धेरैले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेका छैनन् । स्वास्थ्य सुरक्षामा लापरबाही बढ्दो छ । कर्णाली भित्रिने सीमा–नाकाहरूमा पहिलेजस्तो निगरानी गर्न पनि सकिएको छैन । त्यसैले कर्णाली कोरोनाको उच्च जोखिममा छ । यसबाट बच्नका लागि स्वास्थ्य सुरक्षाको विधि अपनाउनु बाहेकको विकल्प छैन ।

  • अहिलेको जोखिम न्यूनीकरणका लागि भए÷गरेका प्रयासहरू के हुन् ? कोरोना नियन्त्रण र उपचारका लागि अबको योजना के छ ?

प्रदेशका चार जिल्लामा कोरोना परीक्षणका लागि ल्याब छन् । पहिलो चरणको भाइरस सामान्य अवस्थामा आएपछि प्रदेश अस्पताल बाहेकका अन्य ल्याबहरू बन्द नै थिए । अब ती प्रयोगशाला पनि सञ्चालन गर्ने तयारी गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी अस्पताल रुकुम–पश्चिम र जिल्ला अस्पताल दैलेखमा रहेका ल्याबहरूले आजभोलिबाटै पुनः परीक्षण थाल्ने छन् । आरटी–पीसीआर विधिबाट मात्रै कोरोना भाइरसको परीक्षण हुने गरेकोमा हाल प्रत्येक जिल्लामा एन्टिजेन विधिबाट पनि परीक्षण थालिएको छ । त्यसका लागि प्रत्येक जिल्लामा आवश्यक किट र अन्य स्वास्थ्य सामग्री पठाउने काम भएको छ । परीक्षणको दायरा बढाउने र सहज बनाउने गरी हामी लागिरहेका छौं । परीक्षण सुलभ बनाउन स्थानीय तहहरूमा समेत एन्टिजेन विधिका लागि किट पठाउने तयारी भएको छ । कुनै पनि स्वास्थ्यकर्मीलाई काज बिदा नदिने, धेरै जनशक्ति भएका स्थानबाट कम जनशक्ति भएका ठाउँमा खटाइ व्यवस्थापन गर्ने, गत चैतमा सञ्चालन गरिएको मेडिकल मार्च अभियान पुनः सञ्चालन गर्ने तयारी भएको छ ।

त्यस्तै, सबै जिल्लाहरूमा आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीहरूको तथ्याङ्क मागी खरिद प्रक्रिया अगाडि बढाउने, कोरोना उपचारको लागि प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरजहारी अस्पताललाई तयारी अवस्थामा राख्ने र जिल्लाका अन्य अस्पतालहरूलाई समेत तयारी अवस्थामा रहन निर्देशन गरिसकिएको छ । सबै अस्पतालहरूमा ५० प्रतिशत बेड कोरोना उपचारका लागि छुटाउनुपर्ने नेपाल सरकारको निर्देशन अनुरूप कर्णालीमा पनि त्यसको कार्यान्वयन हुनेछ । करिब दुई हजार जना क्षमताका आइसोलेसन बेडहरू पुनः तयारी अवस्थामा राख्न सम्बन्धित जिल्ला अस्पताल तथा कोरोना विशेष अस्पताललाई निर्देशन दिइएको छ ।

  • संक्रमणको जोखिम उच्च भए पनि यसपटक सरकारी निकायले नै बेवास्ता गरिरहेको नागरिकहरूको गुनासो छ नी ?

जोखिम कम गर्नका लागि स्वास्थ्यकर्मीले मात्रै सक्दैन । सर्वपक्षीय सहयोग र सहकार्य आवश्यक पर्छ । नागरिकहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरिदिनु प¥यो, राजनीतिक दलहरूले सभा, सम्मेलन जस्ता क्रियाकलापहरू रोक्नुप¥यो । बाहिरबाट आउनेहरूले कम्तीमा पनि दुई हप्ता होम क्वारेन्टाइनमा बस्नु पर्छ । त्यस्तो नगरिएको अवस्था छ । यसमा सबैको उत्तिकै भूमिका र जिम्मेवारी छ । हामीहरूले कर्णाली भित्रिने चार वटा मुख्य नाकाहरूमा स्वास्थ्य सहायता कक्ष राखेका छौं । बबई, कपुरकोट, कुइने र सुर्खेत विमानस्थल । त्योबाहेक थुप्रै साना नाकाहरूबाट दैनिक ठुलो संख्यामा मानिसहरू प्रवेश गरेको पाइन्छ । पहिले जसरी नाकाहरूमा कडाइ गर्न हामीले पनि नसकेकै हो । तर नागरिकहरू स्वयम् पनि यसमा जिम्मेवार बन्नुपर्छ । हिजोआज प्रदेशमा दैनिक एक सय भन्दा बढीको कोरोना परीक्षण गरेका छौं । यसलाई अझै बढाउने तयारी भएको छ । विशेषगरी कर्णालीको मुख्य प्रवेशद्वार बबई नाकामा होल्डिङ्ग सेन्टर गराउने र उनीहरूलाई होटेलमा सुरक्षित राख्ने तथा सम्बन्धित स्थानीय तहले व्यवस्थापन गर्ने गरी तयारी गर्दैछौं ।

  • कोरोनाबाट बच्न आम नागरिकहरूले के गर्ने ?

कोरोनाबाट बच्ने सबैभन्दा अचुक औषधी सामाजिक दूरी कायम गर्नु हो । मास्क तथा सेनिटाइजरको प्रयोग र पटक–पटक साबुनपानीले हात धुने गर्नुपर्छ । यो बाहेक खानपानमा विचार गर्ने, अनावश्यक घरबाट बाहिर नजाने, बुढाबुढी र बालबालिकाको विशेष ख्याल राख्ने, भिडभाडमा नजाने, नियमित ब्यायाम गर्ने गर्नुपर्छ । पछिल्लो समय कोरोना केही होइन, सामान्य हो भन्ने भ्रम धेरैमा देखिन्छ । यसरी भ्रम फैलाउनु र त्यसकै पछि लाग्नु राम्रो होइन । हामी अहिलेदेखि नै सचेत भयौं भने महामारीले ठुलो रूप लिने छैन । भयावहस्थिति आउनबाट जोगिने छौं ।