लापरबाहीले क्षति

कर्णाली प्रदेशमा बर्सेनि आगलागीबाट ठुलो जनधनको क्षति हुँदै आएको छ । वनजङ्गलदेखि बस्तीसम्म जल्छन् । चालु आर्थिक वर्षको यो अवधिममा मात्र एक सय ११ वटा आगलागीका घटना भएका छन् । वनमा लागेको आगो निभाउने क्रममा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । चालु आर्थिक वर्षको १० महिनामा आगलागीबाट १६ करोड ४५ लाख ४१ हजार पाँच सय १४ रूपैयाँ बराबरको धनमालको क्षति भएको प्रहरीले जनाएको छ । यो वर्ष वनजङ्गलमा समेत आगलागीका घटना बढेका छन् ।

पछिल्ला चार वर्षको तथ्याङ्क हेर्दा कर्णालीमा आगलागीबाट ठुलो क्षती भएको देखिन्छ । बस्ती र वनमा लाग्ने आगोले जनधनको क्षती हुने गरेको हो । प्रहरीका अनुसार २०७३ यता कर्णालीका १० जिल्लामा आगलागीका कारण २० जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । यो अवधिमा एक अर्ब ७९ करोड १७ लाख नौ हजार आठ सय रूपैयाँ बराबरको धनमालमा पूर्णरूपमा क्षती पुगेको छ । यसरी हरेक वर्ष आगलागीका घटनाले ठुलो क्षति पु¥याएपनि यसको रोकथाम तथा नियन्त्रणमा भने बेवास्ता गरिएको छ । आगलागीबाट बच्न पूर्वतयारीमा बेवास्ता गर्दा जनधनको क्षती हुने गरेको छ । अग्नि नियन्त्रणका लागि न योजना बनाइएको छ न त पूर्वाधार तयार छन् । पूर्वतयारी नहुँदा आगलागी भइसकेपछि नियन्त्रण लिन निकै चुनौती हुने गरेको छ । स्रोतसाधनको अभावमा ठुलो क्षति बेहोर्नु पर्ने अवस्था छ । आगलागी हुनै नदिन वा भइहाले नियन्त्रण गर्ने ठोस कार्ययोजना र प्रभावकारी पूर्वतयारी कुनै पनि निकायले गरेको पाइँदैन ।

बाढी–पहिरोलगायतका प्राकृतिक विपद्मा प्रतिकार्य योजना बनाउने गरिएपनि आगलागी नियन्त्रण तथा रोकथामका लागि पूर्वतयारीसम्बन्धी योजनाहरू प्राथमिकतामा पर्ने गरेका छैनन् । अहिले अधिकारसम्पन्न स्थानीय सरकार छन् । हरेक वर्ष बजेट खर्च गर्न नसकेर फ्रिज हुने गरेको छ । तर अग्नी नियन्त्रणका लागि आवश्यक साधन खरिदमा ध्यान पुगेको छैन । प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीका ७९ वटा स्थानीय तहमध्ये चार वटा तहसँग मात्र आगो निभाउने यन्त्र दमकल छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, दैलेखको नारायण नगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकामा मात्रै अग्नि नियन्त्रणका लागि दमकल राखिएको हो । हुम्ला, डोल्पा, मुगु, रुकुम–पश्चिम, जाजरकोट र सल्यानमा आगो नियन्त्रण गर्ने दमकल लगायतका कुनै पनि साधन छैनन् । जहाँ अत्यधिक आगलागीका घटना हुने गरेका छन् । यो तथ्याङ्कले पनि आगलागी र यसबाट हुने क्षतिप्रति राज्य कति गैरजिम्मेवार बनेको छ भन्ने प्रष्ट हुन्छ ।

विपद् प्रतिकार्य योजना नहुँदा आगो नियन्त्रण गर्न पनि समस्या हुने गरेको छ । घटना भइहाले सबैभन्दा पहिला सुरक्षाकर्मी खटिन्छन् । तर स्रोतसाधनको कमीले सुरक्षाकर्मीलाई पनि आगलागी नियन्त्रण गर्न कठिनाइ हुने गरेको छ । न त नागरिकलाई आगलागीबाट जोगाउन पर्याप्त जनचेतना नै प्रवाह गरिएको छ । चौतर्फी बेवास्ताका कारण कर्णालीले बर्सेनि क्षति बेहोर्नुपरिरहेको छ ।

प्रकाशित मितिः   ९ बैशाख २०७८, बिहीबार ०६:००