भेलामा रोक, विद्यालय बन्द
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दर फेरि बढेपछि सुर्खेतमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । मंगलवार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको संयोजकत्वमा बसेको बैठकले कोरोना नियन्त्रणका लागि विभिन्न अन्य निर्णयणहरू पनि गरेको छ ।
मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको हो । विवाह वा व्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिनुपर्ने बताइएको छ । सभा, सम्मेलन, गोष्ठी, सेमिनार, समीक्षा, बैठक, तालिम, प्रशिक्षण जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चूअल माध्यमबाट गर्ने र यदि भौतिक रूपमा उपस्थित भइ गर्नैपर्ने भएमा भिडभाड नहुनेगरी मात्र गर्न भनिएको छ ।
यसैगरी, होटल तथा रेष्टुरेण्टहरू जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म खोल्ने, वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र विद्यालय, कलेज ट्यूशन सेन्टर, तालिम केन्द्रहरू वैशाख मसान्तसम्म बन्द गर्ने, वैकल्पिक शिक्षण विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्ने र अन्य पालिकाको हकमा संक्रमणको दर र जोखिमलाई मध्यनजर गरी सम्बन्धित पालिकाले व्यवस्था मिलाउने निर्णय भएको छ ।
विद्यालय तथा कलेजका पूर्वनिर्धारित परीक्षा कार्यक्रम जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्ने स्थानीय प्रशासनले जनाएको छ । सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, ना“चघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको प्रशासनले जनाएको हो । मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा २०७८ साल वैशाख मसान्तसम्म नित्यपूजा, ध्यान र प्रार्थना मात्र गर्ने÷गराउने निर्णय भएको छ ।
त्यस्तै, सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, मास्क अनिवार्य रूपमा प्रयोग गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजको व्यवस्था गर्ने र चालक तथा सह–चालकले मास्क र भाइजर लगाउनुपर्ने छ । स्वास्थ्यसम्बन्धी मापदण्ड पालना भए÷नभएको अवस्थाको अनुगमन गरी पालना नभएको पाइए प्रचलित नीति, निर्णयअनुसार पालना गर्न÷गराउन सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा अनुगमन समिति समेत गठन गरिएको छ ।
यसैबीच, कर्णाली प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलवार ७९ जनाको परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सुर्खेतका ४४, दैलेखका ६ र हुम्लाका एक जनामा संक्रणम देखिएको हो । कर्णालीमै रहेका कैलाली र लमजुङका एक÷एक जनामाा पनि मंगलवार नै संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या सात हजार सात सय ६३ पुगेको छ भने संक्रमितमध्ये ३३ जनाको ज्यान गएको छ ।
प्रकाशित मितिः ८ बैशाख २०७८, बुधबार ०६:०५
साझा बिसौनी ।