पुख्र्यौली सीपले बनायो उद्योगी

जुम्लामा पहिलो पटक निगालो प्रशोधन उद्योग सञ्चालनमा

जुम्लामा पहिलो पटक निगालो प्रशोधन उद्योग सञ्चालनमा


जुम्ला: जुम्लाको हिमा गाउँपालिका–६ का गंग अधिकारीले डोको बुन्ने सीप सिकेको पाँच दशक भयो, सीपको सम्मान भने कहिल्यै भएन । एक वर्ष अघिसम्म गाउँघरमा उनका छोराछोरीलाई डोको बुन्नेका सन्तान भनेर गिज्याउने गर्थे । जब गाउँका ६ जना ज्येष्ठ नागरिक मिलेर निगालो प्रशोधन उद्योग सञ्चालनमा ल्याए त्यसपछि सबैको मुख थुनियो । सीपलाई व्यावसायिक कर्ममा लगाएपछि उनीहरूका छिमेकीहरू अहिले चकित परेका छन् ।

उनीहरूले सञ्चालन गरेको उद्योगमा निगालोबाट डोको, डाला, मुडा, मुगाला, सिन्के टोकरी, सोली, सुपा, भकारी, दराज, पिँजडा, छ्यान्नो लगायतका १४ प्रकारका सामग्री निर्माण गर्छन् । पहिले हेपेर बोल्नेहरूले अहिले सम्मान गर्न थालेका छन् । जुम्ला र कालीकोटको सीमाना नाग्ममा जुगेनी निगालो प्रशोधन उद्योग सञ्चालनमा ल्याएको हो ।

यसअघि परम्परागत सीप मात्र भएका यी उद्यमीहरूलाई पेस नेपालले एक महिना तालिम दिएको थियो । अहिले उनीहरू आधुनिक र विभिन्न मोडेलका सामग्री बनाउन सक्ने भएका हुन् । निगालोका दराज, मुडा, सिन्के टोकरी बनाएर बेच्ने गरिएको अधिकारीले बताए । उनका अनुसार बसेर गर्न सकिने काम भएकाले यसमा शारीरिक कष्ट समेत कम हुन्छ ।

कर्णालीका अधिकांश जिल्लामा अत्यधिक प्रयोगमा आउने डोको, डालो, सुपा लगायतका सामग्री बनाएर बेच्ने र परिवारको गुजरा चलाउने धेरै भए पनि सामूहिक प्रयासबाट पहिलो पटक उद्योग स्थापना गरिएको हो । जुम्लाका ज्येष्ठ नागरिकले पहिलो पटक निगालो प्रशोधन उद्योग सञ्चालनमा ल्याएका हुन् । ‘पुख्र्यौली सीपको संरक्षण पनि हुनेर घर खर्च पनि चल्ने देखिएपछि उद्योग सञ्चालन गर्न हौसिएका हौं,’ अर्का उद्योग सञ्चालक नन्दबहादुर अधिकारीले भने ।

निगालो र चोयाबाट बनेका सामग्री घर–घरमा प्रयोग हुने हुँदा बजारीकरणको समय नभएको उद्योग सञ्चालकहरूले बताएका छन् । परम्परागत सीपलाई व्यावसायिक बनाउन आफूहरूले सीपमूलक तालिमहरू दिँदै आएको पेस नेपालका वन प्राविधिक विष्णु लुइँटेलले बताए । ‘थुप्रै सरकारी तथा गैरसरकारी संघ–संस्थाबाट विभिन्न सीपमुलक तालिम लिए पनि त्यसलाई व्यवहारमा उतारेको कमै देखिने गरेपनि निगालो प्रशोधन उद्योग भने नमुना भएको उनले बताए । यस्तै, निगालो प्रशोधन उद्योगको दिगो व्यवस्थापनमा आवश्यक सहयोग गरिने हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले प्रतिबद्धता जनाएका छन् । यस्ता सीपहरू युवा पुस्तामा समेत हस्तान्तरण गर्ने खालका कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।

प्रकाशित मितिः   ८ बैशाख २०७८, बुधबार ०६:००