अपर्याप्त तयारी

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दै छ । जोखिम बढेसँगै सावधानीका विभिन्न उपाय अवलम्बन गर्न थालिएको छ । कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पूर्वसावधानी अपरिहार्य हुन्छ । सोही सावधानीअन्तर्गत सरकारले विभिन्न मापदण्ड बनाएको छ । ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ नै सार्वजनिक गरिएको छ । जसअनुसार सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । यसका साथै वैशाखभर विवाह, व्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाइएको छ । जुन अपरिहार्य थियो ।

कोभिड संक्रमण नियन्त्रणकै लागि भनेर वीरेन्द्रनगरसहित प्रमुख सहरका विद्यालयहरू वैशाख महिनाभर बन्द गर्ने निर्णय गरिएको छ । कोरोना जोखिमको मध्यनजर गर्दै सरकारले यस्तो निर्णय गरेको हो । सुुर्खेतलाई पनि कोरोना संक्रमणको उच्च जोखिम जिल्लाका रूपमा राखिएको छ । संक्रमणका हिसाबले अति प्रभावित सहरी क्षेत्रमा रहेका विद्यालयको पठनपाठन वैशाखभर बन्द गर्ने निर्णय गरिएको हो । सरकारले वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन पहिले नै सहरी क्षेत्रका विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । तर, मन्त्रिपरिषद्ले निर्णय नगरेपछि मन्त्रालयले सुर्खेतसहित १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राख्दै बालबालिकालाई विद्यालय नपठाउन अपील गरेको थियो । सरकारले विद्यालयका साथै सिनेमा हल, पार्टी प्यालेस, रंगशाला लगायतका भीडभाड हुने क्षेत्र पनि बन्द गरिने जनाएको छ । एक साता पहिले नै हुनुपर्ने निर्णय बल्ल भयो । तर अब यसको पूर्ण रूपमा कार्यान्वयन हुन जरुरी छ ।

दोस्रो लहरको कोभिड–१९ संक्रमण फैलिएको अनुमान गरिएका बेला कर्णाली प्रदेशमा परीक्षणको दायरा भने बढाइएको छैन । प्रदेशमा परीक्षण दर कम हुँदा पनि दैनिक नयाँ संक्रमित थपिने गरेका छन् । हाल लक्षण भएका संक्रमितको मात्र कोरोना परीक्षण हुँदै आएको छ । पछिल्ला महिनाहरूमा संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ समेत गर्न छोडिएको छ । सरकारले अहिले ‘कन्ट्याक्ट ट्रेसिङ’को काम पालिकाहरूलाई दिएको छ । पालिकाहरूमा जनशक्ति र स्रोत–साधन नहँुदा प्रभावकारी रूपमा संक्रमितको पहिचान हुन सकेको छैन । सीमा नाका र भिडभाड हुने सार्वजनिक स्थलहरूमा निगरानी बढाइएको छैन । जसले गर्दा संक्रमण फैलने जोखिम उच्च रहेको जनस्वास्थ्य विज्ञहरूले बताएका छन् । प्रदेश सरकारले संक्रमण नियन्त्रणका लागि तयारी अवस्थामा रहेको जनाए पनि पूर्वतयारीका काम पर्याप्त नभएको स्वास्थ्यकर्मीहरू नै बताउँछन् ।

दोस्रो लहरको कोरोना संक्रमण बालबालिका र युवाहरूमा बढी देखिएको छ । शैक्षिक संस्था बन्द गर्ने निर्णयले जोखिम घटाउन सघाउँछ । सार्वजनिक स्थान र कार्यालयहरूमा हुने भिडभाड नियन्त्रणलाई पनि कडाइका साथै कार्यान्वयन गर्न जरुरी छ । संक्रमण बढ्दै जाँदा आवश्यक क्वारेन्टाइन, आइसोलेसनको संख्या बढाउनुपर्ने हुन्छ । स्वास्थ्य संस्थाहरूमा उपचार कक्ष, आइसीयू र भेन्टिलेटरको क्षमता बढाउनेतर्फ सकारको ध्यान जान जरुरी छ ।

प्रकाशित मितिः   ८ बैशाख २०७८, बुधबार ०६:००