आगलागी नियन्त्रणमा बेवास्ता

कर्णालीका ७९ स्थानीय तहमध्ये चार वटामा मात्र अग्नि नियन्त्रणका लागि दमकल छन् ।

कर्णालीका ७९ स्थानीय तहमध्ये चार वटामा मात्र अग्नि नियन्त्रणका लागि दमकल छन् ।


आगलागीका कारण कर्णाली प्रदेशमा बर्सेनि ठुलो जनधनको क्षति हुँदै आएको छ । पूर्वतयारी नहुँदा आगलागी भइसकेपछि नियन्त्रण लिन निकै चुनौती हुने गरेको छ । सालैपिच्छे आगलागीका घटना भएर बस्ती र वनजङ्गल सखाप हुने गरेको छ । आगलागी नियन्त्रण गर्ने स्रोतसाधनको अभावमा ठुलो क्षति बेहोर्नु पर्ने अवस्था छ । आगो निभाउनेक्रममा समेत हरेक वर्ष कर्णालीबासीको ज्यान ज्याने गरेको छ । आगलागी हुनै नदिन वा भइहाले नियन्त्रण गर्ने ठोस कार्ययोजना र प्रभावकारी पूर्वतयारी कुनै पनि निकायले गरेको पाइँदैन ।

प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीका ७९ वटा स्थानीय तहमध्ये चार वटा तहसँग मात्र आगो निभाउने यन्त्र दमकल छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, दैलेखको नारायण नगरपालिका र जुुम्लाको चन्दननाथ नगरपालिकामा मात्रै अग्नि नियन्त्रणका लागि दमकल राखिएको हो । हुम्ला, डोल्पा, मुगु, रुकुम–पश्चिम, जाजरकोट र सल्यानमा आगो नियन्त्रण गर्ने दमकल लगायतका कुनै पनि साधन छैनन् । जहाँ अत्यधिक आगलागीका घटना हुने गरेका छन् । भौगोलिक विकटताका कारण कर्णालीका सबै ठाउँमा दमकल पुग्न सक्ने अवस्था पनि छैन । कतिपय पालिकाका केन्द्र, ठुला बजार तथा बस्तीसम्म पनि सडक सञ्जाल पुगेको छैन ।

प्रदेशमा चालु आर्थिक वर्षको यो अवधिममा मात्र एक सय ११ वटा आगलागीका घटना भएका छन् । वनमा लागेको आगो निभाउने क्रममा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । चालु आर्थिक वर्षको १० महिनामा आगलागीबाट १६ करोड ४५ लाख ४१ हजार पाँच सय १४ रूपैयाँ बराबरको धनमालको क्षति भएको प्रहरीले जनाएको छ । यो वर्ष वनजङ्गलमा समेत आगलागीका घटना बढेका छन् । आगलागीबाट बच्न पूर्वतयारीमा बेवास्ता गर्दा जनधनको क्षती हुने गरेको छ । अग्नि नियन्त्रणका साधन र खासगरी अधिकांश बस्तीहरूमा पानीको अभाव भएका कारण समस्या हुने गर्छ ।

पछिल्ला चार वर्षको तथ्याङ्क हेर्दा कर्णालीमा आगलागीबाट ठुलो क्षती भएको देखिन्छ । बस्ती र वनमा लाग्ने आगोले जनधनको क्षती हुने गरेको हो । प्रहरीका अनुसार २०७३ यता कर्णालीका १० जिल्लामा आगलागीका कारण २० जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । यो अवधिमा एक अर्ब ७९ करोड १७ लाख नौ हजार आठ सय रूपैयाँ बराबरको धनमालमा पूर्णरूपमा क्षती पुगेको छ ।

बाढी–पहिरोलगायतका प्राकृतिक विपद्मा प्रतिकार्य योजना बनाउने गरिएपनि आगलागी नियन्त्रण तथा रोकथामका लागि पूर्वतयारीसम्बन्धी योजनाहरू प्राथमिकतामा पर्ने गरेका छैनन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकायले आगालागी भइरहने क्षेत्रमा समेत प्रतिकार्य योजना नबनेको बताए ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता अर्जुन चन्द ठकुरी प्रतिकार्य योजना नहुुँदा आगो नियन्त्रण गर्न पनि समस्या हुने गरेको बताउँछन् । स्रोतसाधनको कमीले सुरक्षाकर्मीलाई पनि आगलागी नियन्त्रण गर्न कठिनाइ हुने गरेको उनले जनाए । ‘कर्णालीका सबै ठाउँमा दमकल पुग्ने अवस्था छैन । सडकको पहँुचमा भएका स्थानमा पनि दमकलको व्यवस्थापन नहँुँदा आगलागीले ठुलो क्षती गर्दै आएको छ,’ उनले भने, ‘कर्णालीका तीन जिल्लाका चार वटा पालिकामा मात्र दमकल छन् ।’ कम्तीमा जिल्ला सदरमुकाम, बजार आसपास र सडकको पहुँच भएका ठाउँसम्म दमकल लगायतका अग्नि नियन्त्रणका साधन उपलब्ध भए क्षती कम हुने उनको भनाइ छ ।

बस्तीहरूमा पानी जम्मा गरेर राख्नेलगायतका आगो निभाउन प्रयोग गरिने स्थानीय प्रविधिको प्रयोग गरेर पनि आगलागी नियन्त्रण गर्न सकिने सरोकारवालाहरू बताउँछन् । पराम्परागत रूपमा आगो निभाउने र सतर्ककता नअपनाउने गर्दा ज्यानै समेत जाने गरेको छ । प्रदेश प्रहरी कार्यालयकाअनुसार गएको चैत महिनामा मात्र कर्णालीमा चार जनाको आगो निभाउने क्रममा मृत्युु भएको छ । आगो निभाउने उपायबारे ज्ञान नहुँदा र स्रोतसाधनको अभावले मानवीय क्षतीका घटना हुने गरेका हुन् ।

सुख्यायाममा आगलागीका घटना झनै बढ्ने गरेका छन् । हरेक गर्मीयाममा वन तथा बस्तीमा भीषण आगलागी हुन्छ । कर्णालीका पहाडी तथा उच्च हिमाली भेगमा घरहरूमा काठ र फुसको प्रयोग गरिँदा आगलागीको जोखिम बढी छ । जोडिएर बनेका कच्ची घरहरूका कारण आगोबाट बस्तीनै सखाप हुने गरेका छन् । आगलागी प्राकृतिकभन्दा पनि मानवीय त्रुटिका कारण बढि हुने गरेको पाइन्छ । तीन महिनायता मात्र कर्णाली प्रदेशका झन्डै ७० वटा वन क्षेत्रमा आगलागी भएको छ । मानवीय कमजोरीका कारण ती सामुदायिक वनहरूमा डढेलो लाग्ने गर्छ । मानवीय तथा प्राकृतिक कारणले लाग्ने आगलागीले हजारौँ हेक्टर वन क्षेत्र मासिने गरेको छ । वनमा लागेको आगोले रुख बिरुवा मात्र होइन वन्यजन्तुको समेत ठुलो क्षति हुँदै आएको छ ।

प्रकाशित मितिः   ८ बैशाख २०७८, बुधबार ०६:००