‘झुक्किएर विश्वासको मत दिएँ’

नेकपा एमालेकी कर्णाली प्रदेशसभा सदस्य देवी वलीले झुक्कीएर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको बताएकी छन् । एमाले संसदीय दल कर्णाली प्रदेशले सोधेको स्पष्टीकरण दिँदै उनले मतदानका लागि लाइनमा उभिने क्रममा झुक्किएर विश्वासको मतको पक्षतिर उभिएको जिकिर गरेकी हुन् ।

आफूले भुल गरेको थाहा पाउने बित्तिकै पार्टी ससंदीय दलको बैठकको ह्वीपअनुसार नै विश्वासको मतको विपक्षमा मतदान गरेको उनले स्पष्टीकरण दिएकी छन् । एमालेले गत चैत ५ गते माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सर्मथन फिर्ता लिएसँगै अल्पममतमा परेका मुख्यमन्त्री शाहीले वैशाख ३ गते संसद्मा विश्वासको मत मागेका थिए ।

एमाले माधव नेपाल पक्षका चार जना प्रदेशसभा सदस्यहरूले पार्टीको ह्वीप विपरीत फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत दिएका थिए । नेपाल पक्षकी प्रदेशसभा सदस्य वलीले पनि पहिले विश्वासको मतमा मतदान गरे पनि लगत्तै सच्याएकी थिइन् । मतदान गरेर फर्किए पछि उनले सच्चाएर विपक्षमा मतदान गरेकी हुन् ।

एमाले प्रदेश कमिटीले फ्लोर क्रस गर्ने तीन जनालाई पार्टीको सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ भने एक जनालाई कारबाहीका लागि सिफारिस गरिएको छ । सोही विषयमा वलीसँग पनि स्पष्टीकरण मागिएकोे थियो । उनले दिएको स्पष्टीकरणमा दलको नीति, निर्णय र निर्देशनप्रति पूर्ण प्रतिबद्ध रहेको र सोहीअनुसार विपक्षमा मतदान गरेको जनाइएको छ ।

प्रकाशित मितिः   ८ बैशाख २०७८, बुधबार ०६:००