बालबालिका माथि गाउँपालिको लगानी

जुम्ला: जुम्लाको पातारासी गाउँपालिकाले बच्चा जन्मने बित्तिकै तीन हजार रूपैयाँ दिने निर्णय गरेको छ । पालिकाभित्र जन्मिएका छोराछोरी दुवैलाई तीन हजार रूपैयाँ दिने व्यवस्था गरिएको हो । ‘पहिले छोरा र छोरीबीचमा ठूलो विभेद हुन्थ्यो । छोरीलाई पाखा र छोरालाई काखा गर्ने संस्कार थियो, गाउँपालिका उपाध्यक्ष पुन्नकली महतराले भनिन्, ‘अहिले स्थानीय सरकारले छोराछोरी बराबरीको रूपमा हेरेको छ ।’ जन्मिने बित्तिकै उपलब्ध हुने रकमले अभिभावकहरूले बच्चालाई पोषिलो खानेकुरा खुवाउन सहयोग पुग्ने उनले बताइन् ।

‘छोराको न्वारन गर्ने र छोरी जन्मदा नगर्ने, छोरीलाई सरकारी स्कुलमा पढाउने छोरालाई महङ्गो निजी स्कुलमा पढाउने विभेद कायमै छ,’ उपाध्यक्ष महतराले भनिन्, ‘गाउँपालिकाले छोराछोरीको विभेद हटाउन यस्तो योजना ल्याएको हो ।’ यहाँका अभिभावकलाई बालबालिकाप्रति लगानी गर्ने इच्छा हुँदाहुँदै पनि आर्थिक अवस्थाका कारण पोषिलो खानेकुरा खुवाउन सक्दैनन् । गाउँपालिकाले तीन हजार रूपैयाँ दिने र घरपरिवारले तीन हजार थपेर अनिवार्य रूपमा बच्चाको नाममा बैंकमा खाता खोल्नुपर्ने निर्णय समेत गरिएको जनाइएको छ ।

बालबालिकाको जन्मदिनमा आफन्तजनले दिएको दक्षिणा समेत बच्चाकै खातामा जम्मा गर्न सबैलाई भनिएको पालिकाले जनाएको छ । गाउँपालिकाले बालबालिका कोष समेत बनाएको छ । बालबालिकाको भविष्यप्रति जिम्मेवार बन्न प्रेरित गर्न गाउँपालिकाले यस्ता कार्यक्रम ल्याइएको बताइएको छ ।

प्रकाशित मितिः   ६ बैशाख २०७८, सोमबार ०६:००