जोखिमलाई नजरअन्दाज

सार्वजनिक स्थानमा भिडभाडः न मास्कको प्रयोग न साबुनपानीको व्यवस्था

सार्वजनिक स्थानमा भिडभाडः न मास्कको प्रयोग न साबुनपानीको व्यवस्था


गएको शुक्रवार ४६ जनामा गरिएको कोरोना परीक्षणमा २९ जनामा संक्रमण पुष्टि भयो । सोही दिनको भोलिपल्ट शनिवार ३३ जनाको पीसीआर गर्दा तीमध्ये २२ जना संक्रमित भेटिए । आइतवार ३३ जनामा कोरोना परीक्षण हुँदा २१ जनामा संक्रमण पुष्टि भयो । यी तिन दिनको परीक्षण रिपोर्टले नै प्रष्ट हुन्छ, कर्णालीमा कोरोना संक्रमण दर उच्च छ । स्वास्थ्य सेवा निर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार प्रदेशमा हालसम्म संक्रमितको संख्या सात हजार सात सयभन्दा बढी पुगेको छ ।

पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दै गएको छ । त्यसमा पनि कर्णाली सबैभन्दा बढी जोखिममा छ । सरकारले प्रदेश राजधानी सुर्खेतसहित १४ जिल्लालाई कोरोनाको उच्च जोखिममा रहेको बताइसकेको छ । केही महिना संक्रमण शून्य जस्तै भएको कर्णालीमा दोस्रो लहरको संक्रमण देखिन थालेको हो । पछिल्ला दिनमा संक्रमणको दर बढ्दै गएको पाइएको छ ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपनि स्वास्थ्य सुरक्षा सावधानीमा भने बेवास्ता बढ्दो छ । व्यक्तिगतदेखि सार्वजनिक स्थानहरूमा अपनाउनुपर्ने सावधानीमा हेलचक्य्राइँ भएको हो । तीव्र गतिमा संक्रमण फैलिएका भारतका विभिन्न सहरहरूबाट आउनेहरू निष्फिक्री कर्णाली भित्रिएका छन् । यसरी दैनिक सयौं मान्छे कर्णाली आइरहँदा सीमा नाकामा परीक्षण गर्ने व्यवस्था समेत मिलाइएको छैन । बजार र अन्य सार्वजनिक स्थलहरूको भिडभाडले झनै कोरोनाको जोखिम बढाएको छ ।

सेवाग्राहीको भिड लाग्ने कार्यालयहरूमा पटक्कै स्वास्थ्य सावधानी अपनाइएको पाइँदैन । त्यस्ता कार्यालयको भिड हेर्दा संक्रमणबाट बच्न सकिने अवस्था देखिँदैन । गत वर्ष संक्रमण देखिएको सुरूवातीमा निकै सावधानी अपनाउने प्रयास गरेको पाइएपनि यसपटक भने जोखिमलाई नजरअन्दाज गरिएको हो । हिजोआज सरकारी कार्यालय प्रवेश गर्दा सर्वसाधारणहरूका लागि सेनिटाइजर, साबुन र पानीको समेत व्यवस्था गरिएको छैन । सुरक्षा सावधानीमा बढ्दो लापरबाहीसँगै भयावहस्थिति आउनसक्ने चिकित्सक तथा जनस्वास्थ्य विज्ञरूले बताउँदै आएका छन् ।

सबैभन्दा बढी लाभग्राहीको भिडभाड हुने मातपोत कार्यालय सुर्खेतमा पनि स्वास्थ्य सुरक्षा सावधानी अपनाइएको छैन । आइतवार मालपोत कार्यालयमा पुग्दा सेवाग्राहीको भिड उस्तै थियो । तर स्वास्थ्य सुरक्षाका कुनै पनि सावधानी अपनाएको देखिएको थिएन । कार्यालय अगाडी रहेको पुरानो पानीको ट्याङ्कीमा पानी थिएन, फोहोर मात्रै भरिएको थियो । सेवाग्राहीले न मास्कको प्रयोग गरेका थिए न त दूरी कायम । कार्यालयमा सेवा लिन आएका वीरेन्द्रनगर–९ का रमेश शाहीले हात धुनलाई साबुन पानी समेत नराखिएको गुनासो गरे । ‘टुटेफुटेका धारा र ट्याङ्की मात्रै छन्,’ उनले भने । सरकारलाई गुनासो गर्नु भन्दा नागरिक आफै पनि सचेत हुनुपर्ने उनले बताए ।

सेवाग्राहीको भिडभाड हुने अर्को कार्यालय हो, यातायात व्यवस्था सेवा कार्यालय । यहाँ पनि उस्तै लापरबाही छ । कार्यालयमा हात धुनका लागि साबुनपानीको समेत व्यवस्था छैन । यातायात कार्यालयमा भेटिएकी वीरेन्द्रनगर–११ की भीमा ढकालले भौतिक दूरी कायम नगराई भिडभाडमै काम हुने गरेको बताइन् । ‘साबुन, पानी र सेनिटाइजरको त कुरा नगरौं । भिडभाड समेत व्यवस्थित गरिएको छैन,’ उनले भनिन् । कतिपय कार्यालय तथा सार्वजनिक स्थलमा साबुनपानीको व्यवस्था भए पनि प्रयोगमा कडाइ गरिएको छैन । वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा सेवाग्राहीका लागि साबुन र पानीको व्यवस्था छ । तर कसैले पनि हात धोएर कार्यालय प्रवेश गरेको भने पाइएन । यहाँ केही महिना पहिलेसम्म हात धुन लगाउने र स्यानिटाइजर छर्कने गरिन्थ्यो । अहिले मास्क लगाए÷नलगाएको समेत निगरानी गर्न छोडिएको छ ।

कर्णाली प्रवेश गर्ने सीमा नाकाहरूमा पनि निगरानी फितलो छ । मुख्य नाका बबईमा ज्वरो मात्र चेक गरेर भारत तथा नेपालकै अन्य सहरबाट आएकाहरूलाई सीधै गाउँ पठाउने गरिएको छ । भारतबाट फर्किनेहरू प्रायः यही नाका भएर आउँछन् । गुराँस गाउँपालिका–६ दैलेखका टेकबहादुर रानाले भारतबाट आउनेहरूले नाकामा छलेर आउने गरेको सुनाए । ‘भारतबाट आएको भनेपछि चेकजाँचमा कडाइ हुन्छ भनेर धेरैजसोले नेपालबाटै आएको भन्छन्,’ उनले भने, ‘सुरक्षाकर्मीले समेत निगरानी नगरी छोडिदिन्छन् ।’

केही दिनयता कर्णालीमा कोरोना संक्रमण देखिएकाहरूको दैनिक मृत्यु समेत हुने गरेको छ । दैलेखमा शनिवार एक जना संक्रमितको ज्यान गयो भने आइतवार गुर्भाकोट नगरपालिकाकी ५८ वर्षीय एक महिलाको मृत्यु भयो । अहिलेसम्म कोरोना संक्रमण देखिएकामध्ये प्रदेशभर ३३ जनाको मृत्यु भइसकेको छ । दैनिक परीक्षणको दर कम भए पनि संक्रमण पुष्टि हुने दर भने बढेको छ ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा. रबिन खड्काले संक्रमणको प्रतिकार्यका लागि पूर्ण तयारीमा बसेको दावी गरे । पहिलो चरणमा कोरोना संक्रमण प्रतिकार्यका लागि बनाइएका आइसोलेसनहरू पुनः तयारी अवस्थामा राख्नको लागि सबै जिल्लाहरूमा भनिसकेको उनले जनाए । उनकाअनुसार प्रदेशभर झन्डै दुई हजार जना क्षमताका आइसोलेसनहरू तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित मितिः   ६ बैशाख २०७८, सोमबार ०६:००