प्रदूषण नियन्त्रणको योजना
प्रदूषण बढ्दो छ । यसको प्रत्यक्ष असर मानव स्वास्थ्यमा परेको छ । प्रदूषित वातावरणले जनजीवन कष्टकर बनेको छ । वर्तमान विश्वकै लागि प्रदूषण नियन्त्रण सबैभन्दा ठूलो चुनौती बनिरहेको बेला नेपालका लागि पनि उत्तिकै ठूलो समस्या बनेको छ । किनभने यसले जैविक प्रणालीमै खतरा उत्पन्न गरेको छ । यो वातावरणीय चुनौती हो । वायु प्रदूषणबाट मात्रै विश्वभर वार्षिक करिब ७० लाख मानिसको चाँडो मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । यो चुनौतीको सामना गर्न विश्व समुदाय नै अग्रसर हुनुपर्ने छ ।
प्रदूषणले कुनै एक व्यक्तिलाई मात्र प्रभाव पार्ने होइन, समग्र समाज प्रदूषित भइ स्वास्थ्यमा गम्भीर समस्या आउने खतरा हुन्छ । त्यसैले सबैको प्रयासबाट मात्र यो न्यूनीकरण गर्न सम्भव रहेको तथ्यलाई बुझ्न आवश्यक छ । प्रदूषण केही कम भएको होला तर यो फेरि दोहोरिन सक्छ भन्ने विषय सबैले महŒवका साथ लिन आवश्यक छ । यस्तै अवस्था दोहोरिएमा के गर्ने भन्नेबारे सम्बद्ध निकायसमक्ष विकल्प पनि हुनुपर्छ । प्रदूषण बढ्नुका अनेक कारण छन् । सहरी क्षेत्रमा पछिल्लो समय बढ्दै गएका सवारी साधन पनि मुख्य कारणमध्ये एक हो । खासगरी डिजेलले चल्ने सवारी साधन सहरी प्रदूषणको मुख्य कारण मानिन्छ । सावधानी नअपनाएर गरिने विकास निर्माण कार्यबाट पनि प्रदूषण बढ्दा जनजीवन झनै कष्टकर हुने गरेको छ । प्रदूषणका कारणलाई बेवास्ता गर्ने प्रवृत्तिका कारण समस्या अझ गम्भीर बनेको छ । प्रदूषण नियन्त्रणका लागि सही तरिका अवलम्बन गरिएको छैन । प्रदूषणको सीधा असर जनस्वास्थ्यमा पर्छ ।
फोहोर व्यवस्थापन हुन नसक्नाले पनि प्रदूषण बढाएको छ । यसतर्फ सरकारले विशेष ध्यान दिन जरुरी छ । फोहोरलाई कुनै एक स्थानमा लगेर थुपार्ने गर्दा मात्रै समस्या समाधान हुँदैन, बरु त्यसले थप नयाँ समस्या उत्पन्न गर्छ । त्यसैले अजैविक फोहोरलाई नवीकरण गर्ने, जैविक फोहोरबाट मल, इन्धन तयार गर्न थालिएको छ, त्यसलाई व्यापक बनाउनुपर्छ । अर्को महŒवपूर्ण कुरा भनेको प्लास्टिक प्रयोगलाई निरुत्साहित गर्नुपर्छ । सबै प्लास्टिक पुनः प्रयोग गर्न सकिँदैन र त्यसलाई पुनः प्रयोगयोग्य बनाउँदा पनि थप प्रदूषण हुन्छ । पुराना गाडी चलाउन रोक लगाउने निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । सवारी साधनको प्रदूषणस्तर मापन गर्ने र तिनलाई नियन्त्रण गर्ने, सहरको मुख्य भागमा सवारी साधन निषेध गर्ने, विद्युतीय सवारीलाई प्रवद्र्धन गर्ने, साइकल संस्कृति विकास गर्ने, सहरलाई हरियो बनाउन वृक्षरोपण गर्नेजस्ता उपाय अपनाउन सकिन्छ । जसले प्रदूषण नियन्त्रण गर्न सघाउँछन् । प्रदूषण नियन्त्रणका लागि सरकारसँग स्पष्ट योजनाकै कमी छ । स्पष्ट नीति, दृढ इच्छाशक्ति र व्यवस्थित योजना भएमा मात्र प्रदूषणमुक्त समाज बनाउन सकिन्छ । यसका साथसाथै अब निर्माण हुने नीति र नियमहरू पनि वातावरण केन्द्रित हुन आवश्यक रहेको छ । वातावरण संरक्षण र प्रदूषण नियन्त्रण सरकारका प्राथमिक योजना हुनु अपरिहार्य भइसकेको छ ।
प्रकाशित मितिः ६ बैशाख २०७८, सोमबार ०६:००
साझा बिसौनी ।