शंकाको घेरामा ‘नेपाल पक्ष’का सांसद : फ्लोर क्रस होला ?

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिँदै

सुर्खेत : आज(शुक्रवार) दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूचि छ । सत्तासाझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा परेका छन् । अल्पमतमा परेपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

कर्णाली प्रदेशमा एमालेबाहेकका दलहरु मिलेर पनि सरकार गठनका लागि बहुमत पुग्दैन । एमालेसँग एकल सरकार गठनका लागि आवश्यक बहुमत छ । तर उच्च आत्मविश्वासका साथ मुख्यमन्त्री शाहीले विश्वासको मत लिने बाटो रोज्दा यसले अनेक प्रश्न उब्जाएको छ । के शाहीले संसदबाट विश्वासको मत पाउँछन् ? त्यसका आधार के छन् ?

अंकगणितीय हिसाबले शाही यतिबेला प्रष्ट अल्पमतमा छन् । बहुमत पु¥याउने सम्भावना शून्यप्रायः छ । तर उनले कुन विश्वासका साथ संसद ‘फेस’ गर्दैछन् ? माओवादी केन्द्र निकट स्रोतका अनुसार शाहीले नेपाली कांग्रेस र राप्रपका साथै नेकपा एमालेभित्रको माधव नेपाल पक्षका सांसदहरुबाट मत पाउने अपेक्षा गरेका छन् । अर्थात हालै मात्र सरकारबाट बाहिरिएको एमालेको नेपाल समूहका सांसदहरुले ‘फ्लोर क्रस’ गर्ने अपेक्षा मुख्यमन्त्री शाहीको छ । तर नेपाल निकट सांसदहरु नै यस्तो सम्भावना नरहेको बताउँछन् । पूर्व मन्त्रीसमेत रहेका सांसद दल रावलले एमाले संसदीय दलको निर्णयअनुसार नै अघि बढ्ने भन्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्न नसकिने बताए ।

यस्तै नेपाल पक्षमै लागेका अर्का सांसद एवम् पूर्वमन्त्री नन्दसिंह बुढाले पनि पार्टी निर्णयअनुसार नै सरकारबाट बाहिरिएको बताउँदै अब पनि दलले गरेको निर्णयअनुसार अघि बढ्ने जनाए । ‘पार्टीको निर्णयअनुसार मन्त्री पदबाटै राजीनामा दिएका हौं’ बुढाले भने, ‘अब पनि पार्टीको निर्णय विपरित जाँदैनौं, हामी संसदमा फ्लोर क्रस गर्दैनौं, मुख्यमन्त्रीको विपक्षमा मतदान गर्छौं ।’

यसअघि पनि संकटमा परेका मुख्यमन्त्री शाहीको पद एमालेको नेपाल पक्षका सांसदहरुकै कारण जोगिएको थियो । तत्कालिन नेकपाका बहुमत सांसदहरुले शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको नेपाल समूहकै सांसदहरुले आफ्नो निर्णयबाट पछि हटेर मुख्यमन्त्री शाहीको समर्थनमा उभिएका थिए । जसका कारण शाहीको पद जोगिएको थियो ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा विघटन भएर एमाले र माओवादी केन्द्र अलग भइसक्दा पनि नेपाल पक्षका सांसदहरु शाहीकै पक्षमा उभिएका थिए । गत चैत ५ गते एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएर सरकारमा सहभागि मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिदासमेत अटेर गरेका थिए । कतिसम्म भने पूर्वमन्त्री बुढाले सामाजिक सञ्जाल फेसबुकमा, ‘मृत्युपत्रमा हस्ताक्षर गर्न सकिएन’ लेखेका थिए ।

यसरी पटक–पटक संकटमा परेका मुख्यमन्त्री शाहीको पद जोगाउन भूमिका खेलेका कारण पनि यतिबेला नेपाल पक्षका सांसदहरु शंकाको घेरामा परेका छन् । त्यसमाथि माओवादी निकटबाटै नेपाल पक्षले मुख्यमन्त्रीलाई साथ दिने अभिव्यक्ति आइरहेका छन् । उनीहरुले फ्लोर क्रस गरेर शाहीलाई साथ दिने बताइएको छ । तर नेपाल पक्षका सांसदहरुको अभिव्यक्तिले भने फ्लोर क्रस हुने सम्भावना देखिदैन ।

प्रकाशित मितिः   ३ बैशाख २०७८, शुक्रबार ११:५७