नगरपालिकासँग सेवाग्राहीका गुनासाका चाङ

‘वीरेन्द्रनगरको फोहोर व्यवस्थापन कहिले हुन्छ ? व्यवस्थित नाली कहिले बन्छन् ? हामीले नगरबस चढ्न पाउने कहिले होला ? नगरबासी धुलोबाट आजित छौं, यसको व्यवस्थापन किन भएन ?’ वीरेन्द्रनगरका बासीन्दाले नगरपालिकाका प्रमुख र उपप्रमुखलाई एक सार्वजनिक कार्यक्रममा राखेका गुनासा हुन् यी । वीरेन्द्रनगर–६ का शंकर आचार्यले जवाफदेही वक्ताको रूपमा बसेकाहरूलाई प्रश्नको ओइरो लगाए । उनले सोधे, ‘कहिले धुलोबाट मुक्ति पाइन्छ ? सडक र नाला व्यवस्थित बनाउन कति समय लाग्ने हो ? राजधानीका सडकमा जेब्राक्रस खोइ ?’ उनले नागरिकको स्वास्थ्यमा स्थानीय सरकार संवेदनशील नभएको बताए । ‘विकासको नाममा नागरिकको स्वास्थ्यमा असर परेको छ,’ आचार्यले भने ‘कम्तीमा सडक निर्माण गर्दा पानी हाल्नुस्, न्यूनतम सेवा सुविधाबाटै नागरिकहरू वञ्चित भइरहेका छन् ।’ उनले आफूहरूलाई राजधानीबासी भन्न पनि सरम लाग्ने गरेको बताए ।

सोमवार जिल्ला समन्वय समितिको सभाहलमा वीरेन्द्रनगर नगरपालिकाको भौतिक तथा सामाजिक विकास र कार्यालयले प्रदान गरेका सेवाबारे सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा हलभरी खचाखच नगरबासीले नगरपालिका कार्यालय र खासगरी जनप्रतिनिधिसँग थुप्रै गुनासाहरू राखेका थिए । सार्वजनिक सुनुवाइमै सहभागी वीरेन्द्रनगर–११ का देवराज घोडासैनीले नगरले अहिलेसम्म युवासम्बन्धी नीति नबनाएको भन्दै आक्रोश पोखे । ‘चार–चार वर्षसम्म तपाईंहरूले युवाका लागि के गर्नुभयो ? ‘युवा जनशक्तिप्रति नगरको धारण के
हो ?’ उनले भने । घोडासैनीले नगरले युवा लक्षित बजेट समेत विनियोजन नगरेको आरोप लगाए । उनको प्रश्न थियो, ‘युवालाई नीति निर्माण र बजेटमा नसमेटेर कसरी विकास गर्नुहुन्छ ?’

सार्वजनिक सुनुवाइमा सीमान्तकृत समुदायका सवालमा पनि नगरपालिका गम्भीर नबनेको सहभागीले आरोप लगाए । वीरेन्द्रनगर–५ की करिश्मा बैगार ‘गन्धर्व’ ले सीमान्तकृतका लागि बजेट निर्माण गर्दा गन्धर्व जाती नसमेटिएको गुनासो गरिन् । ‘सरकारको नीति कार्यक्रमले हाम्रो समुदायलाई समेट्दैन,’ उनले भनिन् ‘नीति र नेतृत्वमा नभएपछि हाम्रा सवालको बेवास्ता हुने गरेको छ ।’ उनले नगरपालिकाले भौतिक पूर्वाधारमा मात्रै ध्यान नदिइ सामाजिक काममा पनि उत्तिकै जिम्मेवार बन्नुपर्ने सुझाइन् ।

वीरेन्द्रनगर–४ का प्रकाश सारुले बजार क्षेत्रमा छाडा चौपायको बिगबिगी भएको भन्दै यसको व्यवस्थापनमा नगरपालिका लाग्नुपर्ने बताए । उनले नगरका युवाहरूमा बढ्दै गएको दुव्र्यसनी न्यूनिकरण र युवा उमेरका महिला तथा पुरुषका लागि आय–आर्जनका कार्यक्रम ल्याइनुपर्ने बताए । सारुले ट्राफिक व्यवस्थापनमा पनि वीरेन्द्रनगर नगरपालिका चुकेको सुनाए ।

युवा तेजेन्द्र चन्दले समेत वीरेन्द्रनगरमा अपाङ्गतामैत्री भौतिक संरचनाको खाँचो रहेको औल्याए । ‘सडकको कुरा छोडौं,’ उनले भने, ‘कम्तीमा पनि भौतिक संरचना अपाङ्गतामैत्री त बनाउनुस् ।’ सार्वजनिक सुनुवाइमा नगरको खानेपानी संकट, ढल निकाश, फोहोर व्यवस्थापन, भौतिक संरचना, शिक्षा र स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा नागरिकहरूले प्रश्न गरेका थिए ।

सोमवार वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा नेपाल युवा संस्था ‘आयोन’ प्रयास परियोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेशको आर्थिक सहयोगमा आयोजित सार्वजनिक सुनुवाइमा सहभागी नागरिकहरूले धक फुकाएरै नगरपालिकाका प्रतिनिधिलाई प्रश्न राखेका हुन् ।

कार्यक्रममा बोल्दै एकल महिला संस्था सुर्खेतकी अध्यक्ष ममता नगालले नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम समेत नगरले लुकीछिपी गर्ने गरेको बताइन् । सबै वर्ग, टोल विकास संस्था, नागरिक सरोकारवालाहरूको सहभागिता सुनुवाइ हुनुपर्नेमा सीमित मान्छे जम्मा गरेर औपचारिकता निभाउने गरिएको उनको आरोप थियो । एकल महिलाका लागि समेत नगरले उचित बजेट तथा कार्यक्रम नल्याएको उनको भनाइ थियो ।

जवाफदेही वक्ताका रूपमा रहेका नगर प्रमुख देशकुमार सुवेदीले सबै वर्ग र समुदायलाई समेटेर विकासका काम अगाडि बढाउने प्रयास गरिएको जनाए । उनले नागरिकका गुनासालाई समेट्न भनेरै बेलाबेलामा यस्ता कार्यक्रम राख्ने गरिएको बताए । ‘सार्वजनिक सुनुवाइले हामीलाई आगामी दिनमा सच्चिन मद्दत पुग्छ,’ उनले भने, ‘यहाँहरूका सुझावअनुसार नै अघि बढिनेछ ।’ नगरप्रमुख सुवेदीले उठेका सवालमा आफूहरू गम्भीर भएको बताउँदै आउँदा दिनमा नगरबासीका गुनासाको सम्बोधन गर्ने प्रयास गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।

सार्वजनिक सेवाको गुणस्तरियताका लागि सार्वजनिक सुनुवाइ कार्यक्रममा १३ वटा प्रतिबद्धता समेत व्यक्त गरिएको छ । जसमा वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ युवा लक्षित कार्यक्रमका लागि बजेट वृद्धि गर्र्ने, कृषि क्षेत्रको बेजटमा वृद्धि गर्ने, फरक क्षमता भएका व्यक्तिहरू कार्यालयमा सूचना लिन आएमा बुझिने गरी सूचना उपलब्ध गराउने साथै फरक क्षमता भएका बालबालिकाका विषयमा आगामी दिनमा योजना बनाउँदा अझै बढी ध्यान दिने, महिला स्वास्थ्य स्वयम्सेविकालाई तत्काल परिचय–पत्र उपलब्ध गराउने र प्रोसाहन भत्ता उपलब्ध गराउनका लागि पहल गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरिएको हो ।

अर्का जवाफदेही वक्ता नगर उपप्रमुख मोहनमाया ढकालले बढ्दो सहरीकरणका कारण नागरिकका अपेक्षा धेरै र स्रोत साधनको सीमितताका कारण सोचेअनुरूप काम गर्न नसकिएको स्वीकार गरिन् । यसका बाबजुद पनि नगरले देखिने गरी थुप्रै काम गरेको उनले दावी छ । नयाँ पर्यटकीय क्षेत्रको पहिचान र विकास, सडक सुधार तथा विस्तार, विभिन्न आय–आर्जनका कार्यक्रमहरू समेत नगरले गर्दै आएको उनको भनाइ थियो । उपप्रमुख ढकालले नगरबासीका गुनासाअनुसार आफूहरूको कार्यशैली समेत सुधार गर्देै लैजाने प्रतिबद्धता जनाइन् ।

प्रकाशित मितिः   ३१ चैत्र २०७७, मंगलवार १०:००