असावधानीले जोखिम

प्राकृतिक विपद्ले बर्सेनि ठूलो क्षति पु¥याउँछ । जसमध्ये आगलागी पनि एक हो । यस वर्ष पनि गर्मीयाम सुरु भएसँगै आगलागीका घटना बढेका छन् । दिनहुँ विभिन्न वनजङ्गल तथा बस्तीहरूमा आगलागी भएका घटना सार्वजनिक भइरहेका छन् । आगलागीका कारण सिङ्गो देश नै आक्रान्त बनेको छ । आगलागी प्राकृतिक विपद् हो । तर त्यति मात्रै पनि होइन । आगलागी हुनुमा मानवीय हेलचक्य्राइँ नै प्रमुख कारण हो । आगलागी सामान्यतया सुक्खा र गर्मी हुने मौसममा बढी हुन्छ अनि दुर्घटना, हेलचक्य्राइँ, विद्युत सर्ट र जानाजान कसैले लगाउने मुख्य कारण हुन् । तर दुःखद कुरा के छ भने बर्सेनि दोहोरिने आगलागीको जोखिम नियन्त्रणका लागि सावधानी अपनाइएको छैन । योजना र कार्यक्रम नै छैनन् । असवधानीकै कारण क्षति पनि बढी हुने गरेको छ ।

अहिले आगलागी हुने नै समय हो । किनभने सबैतिर सुक्खा हुन्छ । त्यसमाथि यो समयमा चल्ने हावाहुरीले यसलाई झन् बढावा दिएको हुन्छ । त्यसकारण यसलाई गम्भीरताका साथ लिनुपर्छ । नेपाल संघीय संरचनामा रूपान्तरण भएपछि विपद व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारलाई दिइएको छ । अब स्थानीय सरकारले नीतिगत व्यवस्थाका साथै हरेक वर्ष विशेष योजना र कार्यक्रममार्फत आगलागी नियन्त्रणको कार्ययोजना बनाउन जरुरी छ । स्थानीय सरकारले आफ्नो जिम्मेवारीलाई मनन गरेर पूर्वतयारी गरेको खण्डमा यस्ता विपद नियन्त्रण हुन सक्दछन् । विपद् जोखिम न्यूनिकरण गर्न योजनाबद्ध कार्यक्रम आवश्यक पर्दछ । पूर्वतयारी अपरिहार्य हुन्छ । आगो लागेपछि कसरी नियन्त्रण गर्नेभन्दा पनि आगो लाग्न नदिने उपाय अपनाउनु महŒवपूर्ण हुन्छ । तर यसैमा चुक्दा नोक्सानी बेहोर्नुपरिरहेको छ । अहिले मुलुकमा तीन तहका सरकार छन् । तीनै तहका सरकारले आफ्नो जिम्मेवारीलाई मनन् गर्नुपर्दछ । आगलागी भइसकेपछि नियन्त्रणको कर्मकाण्ड गरेर मात्र पुग्दैन । पूर्वतयारीमा पनि उत्तिकै गम्भिर हुुन जरुरी छ ।

सतर्कता र सावधानी गर्दागर्दै पनि आगलागी हुन सक्ने भएकाले आगो नियन्त्रण गर्ने उपाय र उक्त सूचना दिने प्रणालीमा ध्यान दिनुपर्छ । विकसित देशहरूमा फायर अलार्म सबै संरचनामा अनिवार्य रूपमा जडान गरिएको हुन्छ । धुवाँ र आगोको मात्राबमोजिम अलार्म बज्ने भएकाले आगो फैलिनुअघि नै नियन्त्रणमा लिन सजिलो हुन्छ । साथै आगो निभाउने सिलिन्डर पनि हुन्छ । आजको प्रविधिको युगमा त्यसको सदुपयोग र लाभ उठाउन सक्नुपर्दछ । तब मात्र प्राकृतिक प्रकोप र विपदबाट जोगिन सकिन्छ । विस्तृत अध्ययन गरी आगलागीको उच्च जोखिम भएका ठाउँमा विशेष पूर्वतयारी र सतर्कता अपनाउनुपर्छ । आगलागी नियन्त्रण र रोकथामबारे पर्याप्त सूचना र चेतना सर्वसाधारणलाई दिनुपर्छ । आगो निभाउने सिलिन्डर, पानी, बाक्लो ब्लाङ्केटलगायत उपकरण पर्याप्त मात्रामा राख्न पनि प्रोत्साहन गर्नुपर्छ । दमकललगायतका सहायता आउनुअघि स्थानीय स्तरमा पानी, स्याउलालगायतका सामग्री प्रयोग गर्न आवश्यक तालिम पनि दिनुपर्छ । आगो नियन्त्रण बाहिर हुने स्थितिमा मानवीय क्षति नहुने गरी सुरक्षित ठाउँमा भेला हुने तालिम पनि दिनुपर्छ ।

प्रकाशित मितिः   ३१ चैत्र २०७७, मंगलवार १०:००