प्रदेशसभाको बैठक आह्वान
कर्णाली प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन आह्वान गरिएको छ । प्रदेशसभाको बैठक वैशाख ३ गतेका लागि बोलाइएको हो । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सोमवार वैशाख ३ गतेका लागि बैठक आह्वान गरेका हुन् ।
आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन वैशाख ३ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । प्रदेश प्रमुख कलौनीले वैशाख ३ गते दिउँसो दुई बजेका लागि प्रदेशसभाको बैठक बोलाएका हुन् । प्रदेशसभाको छैठौं तथा वर्षे अधिवेशन सकिएको करिब ६ महिनापछि हिउँदे अधिवेशन बस्न लागेको हो । वर्षे अधिवेशन गएको कार्तिक ९ गते अन्त्य भएको थियो । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेशसभाको बैठक प्रभावित हुँदै आएको थियो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारबाट नेकपा एमाले बाहिरिसकेको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको वैशाख ५ गते एक महिना पुग्दै छ । एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहीले वैशाख ३ गते बस्ने प्रदेशसभाबाट विश्वासको मत लिने प्रयास गर्ने बुझिएको छ । मुख्यमन्त्री शाहीसँग अब राजीनामा दिने वा विश्वासको मत लिने भन्नेबारे दुई वटा विकल्प मात्र बाँकी छन् । गएको चैत ५ गतेदेखि लागू हुनेगरी एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाही सरकार अल्पमतमा छ ।
यसैबीच, नेकपा माओवादी केन्द्रको दलको बैठक भोलि (बुधवार) बस्दै छ । दलको बैठकमा विकसित राजनीतिक घटनाक्रमअनुसार कसरी अघि बढ्ने भन्नेबारे निर्णय गरिने माओवादी केन्द्रका प्रदेशसभा सदस्य गोपाल शर्माले बताए । ‘मुख्यमन्त्रीले विश्वासको मत लिनुहुन्छ होला । बुधवार हाम्रो संसदीय दलको बैठक पनि बस्दै छ । अब कसरी अघि बढ्ने भनेर दलले निर्णय लिन्छ ।’
प्रकाशित मितिः ३१ चैत्र २०७७, मंगलवार १०:०६
साझा बिसौनी ।