सांसद रेग्मी पदमुक्त

कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन् । नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गरेका रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई पठाएको थियो । प्रदेशसभा सचिवालयले उक्त पत्र प्राप्त भएको भनी सूचनामार्फत जानकारी गराएपछि उनी पदमुक्त भएका हुन् । सोमवार कर्णाली प्रदेशसभा सचिव जीवराज बुढाथोकीले एक सूचना प्रकाशित गरी रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्र संसदीय दलबाट चैत २० गते प्रदेशसभा सचिवालयमा प्राप्त भएको जानकारी दिएका छन् ।

दैलेख निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित रेग्मी हालै मात्र एमाले प्रवेश गरेका हुन् । उनलाई एमालेले केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनित गरेको छ । कुनै प्रदेशसभा सदस्यले दल त्याग गरेको सूचना प्रदेशसभा चालु रहेको अवस्थामा प्रदेशसभा बैठकमा जानकारी गराउने र प्रदेशसभा अधिवेशन स्थगित भएको अवस्थामा सचिवालयले सूचना प्रकाशित गरेपछि ती सांसदको पद रिक्त भएको मानिने कानुनी व्यवस्था छ ।

प्रकाशित मितिः   ३१ चैत्र २०७७, मंगलवार १०:०५