महासंघका पदाधिकारीलाई सम्मान

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका नवनिर्वाचित पदाधिकारीलाई बधाइ ज्ञापन तथा सम्मान कार्यक्रम गरिएको छ । वीरेन्द्रनगरस्थित मदरसा मदीना माध्यमिक विद्यालयले सोमवार महासंघका पदाधिकारीलाई सम्मान कार्यक्रम गरेको हो । विद्यालय परिवारले नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेल, उपाध्यक्ष सुदीप पुरी, सहसचिव ईश्वर अधिकारी र प्रदेश महासंघका सदस्य अकबर खानलाई बधाइ ज्ञापन तथा सम्मान गरेको छ ।

उक्त कार्यक्रममा बोल्दै मदरसा मदीना माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सज्जत खानले राज्यको चौथो अङ्ग मानिने पत्रकारिता जगतले सीमान्तकृत समुदायका सवालमा कलम चलाउनुपर्ने बताए । उनले सुर्खेतका सञ्चारमाध्यमहरूले मदरसा विद्यालयका लागि यसअघि गरेको रचनात्मक सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे । महासंघका अध्यक्ष बसेलले अल्पसंख्यक समुदायका बालबालिका पढ्ने विद्यालय भएकाले पनि मदरसाका सवालले सञ्चारमाध्यममा प्राथमिकता पाउने प्रतिबद्धता जनाए । विद्यालयलाई महासंघ र पत्रकारहरूले रचनात्मक सहयोग प्रदान गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू जमाल बक्स, हजरत बक्स, मो. नइम, सकुरन वि.वि., विद्यालयका प्रधानाध्यापक सुशीला शर्मा, सहायक प्रधानाध्यापक मुस्तफा मिया तथा अन्य शिक्षक र अभिभावकको उपस्थिति रहेको थियो ।

यसैबीच अनलाइन पत्रिका दुल्लूखबर डटकमले पत्रकारलाई सम्मान तथा बधाइ ज्ञापन गरेको छ । सोमवार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति र जिल्ला शाखा सुर्खेतका नवनिर्वाचित पदाधिकारीलाई दुल्लूखबरले बधाइसहित सम्मान ज्ञापन गरेको हो ।

दुल्लू नगरपालिका दैलेखका नगरप्रमुख घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा द्रोणाचल मिडिया प्रालिद्वारा सञ्चालित दुल्लू खबरले २०७८ सालको क्यालेण्डर समेत विमोचन गरेको छ । पत्रकारलाई बधाइ ज्ञापनसँगै दुल्लूखबर डटकमद्वारा प्रकाशनमा ल्याइएको टेबल क्यालेण्डर पनि विमोचन गरिएको हो । नेपाल पत्रकार महासंघ सुर्खेतका पूर्वअध्यक्ष पिताम्बर ढकाल, श्रीधर पौड्याल, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश निर्वाचन समितिका सदस्य यूवराज शर्मा र देवकी तिमिल्सेनालगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मितिः   ३१ चैत्र २०७७, मंगलवार १०:०३