तीन मन्त्रीको राजीनामा स्वीकृत

कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ । नेकपा (एमाले)बाट सरकारमा सहभागी मन्त्रीहरूले दिएको राजीनामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पाँच दिनपछि स्वीकृत गरेका छन् । एमालेको तर्फबाट मुख्यमन्त्री शाही नेतृत्वको मन्त्रिमण्डलमा प्रकाश ज्वालाले आर्थिक मामिला तथा योजना मन्त्रालय, दल रावलले सामाजिक विकास मन्त्रालय र नन्दसिंह बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि एमालेकातर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले मंगलवार राजीनामा गरेका थिए । मुख्यमन्त्री शाहीले रिक्त रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई दिएका छन् । यस्तै, सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीलाई दिइएको छ ।

प्रकाशित मितिः   २९ चैत्र २०७७, आईतवार ०६:००