बढ्यो कोरोना जोखिम

दुई सातामा भारतबाट तीन हजार बढी फर्किए, सुर्खेतमा ४३ जना सक्रिय संक्रमित

दुई सातामा भारतबाट तीन हजार बढी फर्किए, सुर्खेतमा ४३ जना सक्रिय संक्रमित


पछिल्लो दिनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दर बढेको पाइएको छ । शनिवारसम्म कर्णाली प्रदेशमा ४३ जना कोरोनाका सक्रिय संक्रमित छन् । यी सबै संक्रमित सुर्खेतका हुन् । शनिवार मात्रै थप १२ जनामा कोरोना पुष्टि भएको हो । प्रदेश स्वास्थ्य सेवा महाशाखाकाअनुसार फागुनको अन्तिमसम्म प्रदेशभर सक्रिय संक्रमितको संख्या ६ जना मात्र थियो । चैत महिना लागेयता यो संख्या बढ्दो क्रममा छ ।

हाल तीन जना संक्रमितको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । संक्रमितमध्ये ४० जना होम आइसोलेसनमा रहेको महाशाखाले जनाएको छ । अघिल्ला महिनाको तुलनामा कोरोना संक्रमणको दर बढेको हो । सुर्खेतबाहेकका अन्य जिल्लामा भने कोरोना संक्रमण देखिएको छैन । सुर्खेतमा पुष्टि भएका सबै संक्रमित स्थानीय हुन् । जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले यी संक्रमितको ‘ट्राभल हिस्ट्री’ नभएको बताए । केही दिनयता कोरोना संक्रमणको दर र जोखिम बढेको उनी बताउँछन् । उनले संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा जोड दिए । ‘कोरोना संक्रमणको जोखिम बढ्दो छ । सतर्कता अपनाएको पाइँदैन । सचेत हुन जरुरी छ,’ उनले भने ।

फेरि कोरोनाको जोखिम बढेपछि सरकारी स्तरबाट नियन्त्रण र रोकथामका प्रयासहरू थालिएका छन् । तर परीक्षण भने बढाइएको छैन । अहिले लक्षण देखिएकाहरूको मात्रै कोरोना जाँच गर्ने गरिएको छ । भारतमा कोरोनाको दोस्रो लहर देखिएको छ । त्यहाँ दैनिक हजारौं नयाँ संक्रमित भेटिने गरेका छन् । जसका कारण रोजगारीका लागि भारत गएका कर्णालीबासी धमाधम फर्कन थालेका छन् । उनीहरू सिधै गाउँमा जाँदा संक्रमण फैलने जोखिम पनि उच्च छ । भारतबाट फर्किएकालाई सीमा नाकामा ज्वरो मात्र जाँच गरेर पठाउने गरिएको छ । परीक्षणविनै गाउँ भित्रिदा संक्रमणको खतरा बढेको हो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रबिन खड्काले एक सातायता संक्रमणको दर बढेको बताए । भारतबाट आएकालाई घरमै क्वारेन्टाइनमा बस्न भनिएको र सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको उनी बताउँछन् । उनकाअनुसार आवश्यक परेको खण्डमा प्रयोग गर्न सकिने गरी प्रदेशमा दुई हजार जनाको क्षमता भएका क्वारेन्टाइनहरू तयारी अवस्थामा राखिएको छ । प्रदेशभरका अस्पतालहरूमा ३४ वटा भेन्टीलेटर र ६२ वटा आइसीयू बेड रहेको निर्देशक खड्काले जनाए ।

कर्णालीमा हाल दुई वटा विधिबाट कोरोनाको परीक्षण हुँदै आएको छ । पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने गरिएको हो । निर्देशनालयका अनुसार अहिले सुर्खेत र जुम्लाबाट मात्रै पीसीआर परीक्षण गरिएको छ । दैलेख र रूकुम–पश्चिममा रहेका ल्याबमा परीक्षण रोकिएको छ । यसअघि प्रदेशका चार स्थानबाट परीक्षण गरिँदै आएको थियो ।

कोरोना संक्रमणको जोखिम बढेकोले जनस्वास्थ्यका मापदण्ड अपनाउन स्थानीय प्रशासनहरूले समेत आग्रह गरेका छन् । सुर्खेतका प्रमुुख जिल्ला अधिकारी छविलाल रिजालले जोखिमजन्य गतिविधि नगर्न अनुरोध गरिएको जनाए । अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र भिडभाड नगर्न आग्रह गरिएको उनको भनाइ छ । पछिल्लो समय भारतबाट आएकाहरूको सामान्य स्वास्थ्य परीक्षण, निगरानी तथा विवरण राख्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कर्णाली सरकारले प्रदेशका तीन वटा नाकामा ‘हेल्थ डेस्क’ राखेर भारतबाट आउनेहरूको विवरण संकलन गरिरहेको छ । भारतबाट आएकाहरूको ज्वरो नाप्ने र लक्षण देखिएको परीक्षण गर्ने व्यवस्था मिलाइएको निर्देशनालयका निर्देशक डा. खड्काले बताए । प्रहरीकाअनुसार पछिल्ला दुई सातामा कमाइका लागि भारतमा गएका तीन हजार ५० जना कर्णाली फर्किएका छन् । प्रदेश प्रहरी कार्यालयका एसपी माधव श्रेष्ठले यो अवधिमा तीन हजारभन्दा धेरै संख्या कर्णाली भित्रिएको जनाए । कर्णाली भित्रिने मुख्य नाका बबई, कुइने र सल्यानको कपुरकोटमा निगरानी बढाउन चैत ११ गतेदेखि ‘हेल्थ डेक्स’ राखिएको हो । खुला सीमा भएको छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएपछि कर्णाली प्रदेश पनि ठूलो जोखिममा परेको छ ।

प्रकाशित मितिः   २९ चैत्र २०७७, आईतवार ०६:००