बढ्दो जोखिम

कोरोना भाइरस (कोभिड–१९)को महामारी नियन्त्रणमा नआउँदै दोस्रो अध्याय सुरु भइसकेको छ । यसको असर नेपालमा पनि देखिन थालिसकेको छ । घट्दै गएको संक्रमणदर फेरि उकालो लागेको छ । पछिल्ला दिनहरूमा थप बढ्दै गएको छ । अझ जोखिमको कुरा के छ भने केही समययता भेटिने संक्रमित सिकिस्त खालका छन् । सिकिस्त संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको छ । अहिले पत्ता लागेका संक्रमितमध्ये सिकिस्त संक्रमितको संख्या धेरै छ । जसका कारण त्रास थप फैलिएको छ । जोखिम बढेको छ । समुदायमा संक्रमणको अवस्था खतरान्मुख भइसकेको अनुमान गर्न सकिन्छ । अहिले पत्ता लागेका भन्दा धेरै व्यक्ति संक्रमित भइरहेका छन् भन्ने देखिन्छ । यो तथ्याङ्कले समुदायमा कोरोना भाइरसको दोस्रो लहर घुसिरहेको पुष्टि गर्दछ । त्यसैले यतिबेला थप सतर्कता अपनाउनुपर्ने भएको छ । सचेत र सजग हुनुपर्ने भएको छ ।

संक्रमितको संख्या थपिदैछ । केही दिनयता मृत्यु हुनेको संख्या बढेको त छैन तर अहिले सिकिस्त संक्रमितको संख्या हेर्दा मृत्युदर बढ्ने आँकलन गर्न सकिन्छ । विज्ञहरूले पनि यसतर्फ सचेत गराइरहेका छन् । सिकिस्त संक्रमितमध्ये पनि ५० वर्ष मुनिका बिरामी ५० प्रतिशतकै हाराहारीमा छन् । जुन विगतको तुलनामा संख्यात्मक हिसाबले बढी हो । पछिल्ला दिनमा प्रयोगशालामा गरिएका परीक्षणमा ‘एस जिन टार्गेट फेलियर’ (एस जिन नेगेटिभ) को संख्या बढी देखिएको छ । यसले कोरोना भाइरसको नयाँ प्रजाति (यूके भेरियेन्ट) समुदायमा फैलिरहेको छ भन्ने विश्वसनीय आधार दिन्छ । विश्वव्यापी उदाहरण हेर्ने हो भने, कोरोना भाइरसको नयाँ प्रजाति (यूके भेरियेन्ट) बढी संक्रामक र मृत्युदर उच्च रहेको मान्ने आधार प्रसस्त छन् । कोरोना भाइरसको पछिल्लो संक्रमणको विशेषता हेर्दा नेपालमा पनि नयाँ प्रजातिको संक्रमण भुसको आगोजस्तो सल्किँदै गएको मान्न सकिन्छ ।

कोरोना कहरबाट बाहिर निस्कदै गर्दा दोस्रो लहरतर्फ उन्मुख हुनु परेको छ । खतराको घण्टी बजिसकेको छ । पछिल्ला दिनमा बढ्दो लापरबाहीका कारण पनि जोखिम बढेको हो । जनघनत्व बढी भएका स्थानमा दोस्रो लहर टार्नै नसक्ने गरी फैलिनसक्ने खतरा विज्ञहरूले औल्याएको छ । यसकारण हामीले सुरक्षा मापदण्डको पालनामा हेलचेक्र्याइँ फिटिक्कै गर्नु हुँदैन । कोरोना भाइरसको दोस्रो छाल सम्भावित जोखिमसहित फैलियो भने, हामी अर्को भुमरीमा पर्ने निश्चित छ । कोरोना भाइरसको पहिलो छालमा ज्येष्ठ नागरिक र दीर्घरोगी जोखिममा थिए भने दोस्रो छालमा युवा पुस्ता मात्र होइन बालबालिकासमेत जोखिममा देखिएका छन् । त्यसैले सानोभन्दा सानो पनि लापरबाही गर्दा ठूलो दुर्घटना निम्तिन सक्ने जोखिम छ ।

जोखिमबाट बच्न सावधानी अपनाउनु परिहार्य छ । भिडभाड नगर्नेतर्फ सबै सचेत हुनु जरुरी छ । अनिवार्य मास्कको प्रयोग, स्यानिटाइजरको प्रयोग, साबुनपानीले नियमित हात धुने, भिडभाडमा नजाने जस्ता सावधानीले नै संक्रमण बढ्न र फैलिनबाट रोक्न सक्दछ । साथसाथै कसैलाई लक्षण देखिनासाथ परीक्षण गर्नु अनिवार्य छ । धेरैभन्दा धेरै परीक्षण गर्न सकेमा पनि सम्भावित जोखिम न्यूनिकरण गर्न सकिन्छ । सरकारी तहबाट अझै व्यवस्थित र योजनाबद्ध तयारी गर्नुपर्ने हुन्छ ।

प्रकाशित मितिः   २९ चैत्र २०७७, आईतवार ०६:००