पुरातात्त्विक सम्पदा कसले जोगाउने ?

तीर्थराज शर्माले आफू बालखै हुँदादेखि नै सिंजामा रहेका देवल (ढुङ्गाको बान्नो) देखेका हुन् । तीनै देवल स्थलमा पुगेर उनले कयैन् पटक लुकामारी पनि खेलेका छन् । ढुङ्गैढुङ्गाले बनेका देवल उनका लागि नौलो भएनन् । नजिकको तीर्थ हेला भने झैं बालापनमा यो कसले किन निर्माण गरे होला भन्नेमा उनले त्यति चासो पनि दिएनन् । तर, आफूसँगैका साथीहरूसँग देवलको वरिपरि गएर खेल्नुको मज्जा भने राम्रैसँग लिन पाए । जुम्लाको सिंजा गाउँपालिका–२ का बासिन्दा शर्मा त्यही बालापन सम्झँदै अहिले देवल संरक्षणमा जुटेका छन् । यस्ता ऐतिहासिक र धार्मिक महत्त्वका सम्पदा जोगाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने उनको सोच छ ।

‘हिजो म जसरी यी देवलहरूमा रमाएँ । भोलि मेरा सन्तति यसैगरी देवल वरिपरि खेलुन् । पछिल्ला पुस्ताले पनि हेर्न पाउन् । त्यसका लागि यस्ता पुरातात्त्विक सम्पदाको संरक्षण जरुरी छ,’ शर्मा भन्छन् । लामो समय शिक्षण पेसामा बिताइसकेका शर्माले देवलको महत्त्व अहिले आएर बुझेको बताए । यी सम्पदाको संरक्षणका लागि सरकारी स्तरबाट कमै चासो दिने गरेको उनले गुनासो गरे । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले बेलाबखत यस्ता सम्पदा जोगाउन बजेट विनियोजन गरेपनि त्यसको सदूपयोग नभएको शर्माले बताए । ‘ऐतिहासिक सम्पदाको संरक्षणको गीत सरकारले नगाएको होइनन्,’ उनी भन्छन्, ‘तर सम्पदा जोगिनुको साटो जीर्ण बने । नाँसिदै गए ।’

जुम्लाको सिंजा गाउँपालिकामा मात्रै पाँच वटा देवल छन् । तिनको संरक्षणमा कुनै निकायको ध्यान पुगेको देखिदैन । सिंजा गाउँपालिका–२ बिष्टवाडामा रहेका त्रिदेवल र जोगी देवल संरक्षणको पर्खाइमा छन् । कनकासुन्दरी गाउँपालिका–५ पाउँसेडावाडामा रहेको पाण्डव गुफा र सिंजाका ती देवलहरू पाँच पाण्डवले निर्माण गरेको ऐतिहासिक कथन रहि आएको छ । तर त्यससम्बन्धी आधिकारीक दस्तावेज भने नभएको स्थानीयहरू बताउँछन् । ‘ ठ्याक्कै अभिलेख त छैनन्,’ शिक्षक शर्माले भने, ‘ढुङ्गामा कोरिएका मधुरा शिलालेख छन् ।’ उनले देवल निर्माण गर्दाखेरी नै शिलालेख कोरिएको हुन सक्ने अनुमान लगाए ।

स्थानीय देवीकृष्ण तिवारीसमेत देवल संरक्षणको अभियानमा लागेका छन् । बिष्टवाडा घर भएका उनी सिंजा सभ्यता खस संग्रहालय उपभोक्ता समितिको अध्यक्ष भएर काम गरिरहेका छन् । ६० वर्षीय तिवारीले पनि सानै छँदादेखि देवल र गुफा देखेका हुन् । बाउबाजेहरूले देवल पाँच पाण्डवले निर्माण गरेको सुनाएको उनी सम्झन्छन् । धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार पाँच पाण्डव युधिष्ठिर, अर्जुन, नकुल, सहदेव र भीम कुन्तीका छोरा थिए । पाण्डु राजाका यीनै पाँच भाइ छोराहरूले कनकासुन्दरी गाउँपालिका जुम्लाको पाउँसेडावाडामा गुफा निर्माण गरेको किम्वदन्ती छ । पाण्डव गुफासमेत संरक्षण र प्रचार–प्रसारको अभावमा जीर्ण र गुमनाम जस्तै छ ।

हिमा गाउँपालिका ४ र ७ नम्बर वडामा आधा शताब्दीभन्दा पुराना काठे पुल छन् । देवदारद्वारा निर्माण गरिएका ती पुललाई काष्ठकलाको रूपमा पनि लिने गरिएको छ । यी पुलहरूले पनि उतिबेलाको शिल्प कला र ऐतिहासिक पहिचान बोकेको पाइन्छ । काठको प्रयोग गरी बनाइएका पुल र पुलको छेउछाउमा बनाइएका मूर्तिमा कोरिएका बुट्टामा कलाको उच्चतम् रूप देखिन्छ । चिउँडी साँघुको पुलले भने आफ्नै विशेषता बोकेको छ । यहाँ स्वर्गीय राजा वीरेन्द्र र रानी ऐश्वर्याको परिवारको काठको मूर्ति कोरिएको छ । पुल २०५८ साल माघ १८ गते निर्माण कार्य पूरा गरी उद्घाटन गरिएको थियो । त्यसकै भोलीपल्ट १९ गते राजदरबार हत्याकाण्ड भएको थियो । जसमा राजा वीरेन्द्रको परिवारका सबै सदस्यको हत्या भएको हो । यही कारणले पनि यो पुलको विशेष महत्त्व रहेको स्थानीय काले रोकाय बताउँछन् । ‘राजा भएको देशमा सम्मानको लागि पुल निर्माण गरी प्रतिमा राखेका थियौं,’ उनले भने, ‘तर उद्घाटन भएको भोलिपल्टै राजदरबार हत्याकाण्ड भयो ।’ स्थानीय बासीन्दाको श्रमदान र तत्कालीन कालीकाखेतु गाउँ विकास समितिको ५० हजार सहयोगमा उक्त पुल निर्माण गरिएको उनले जनाए ।

सो क्षेत्रमा त्यस्ता काठका थुप्रै अरु पुलहरू पनि छन् । स्थानीय कालो तिरुवालाई ज्यालामा उक्त काठको पुल र राजपरिवारको मूर्ति कोर्न लगाएको राकोयले बताए । ‘सम्पदा र कला संरक्षणमा राज्य उदासीन छ,’ उनले भने ‘अब यस्तै काठको मूर्ति बनाउनुपर्दा कोहीसँग सीप छैन ।’ उनले कालो तिरुवाको सीप हस्तान्तरणको लागि स्थानीय सरकारले समेत पहल चाल्नुपर्ने बताए । ‘कला भएको व्यक्ति संधै जिवित रहँदैन । अहिले पनि कालो तिरुवा जिवितै छन् । उनको कला हस्तान्तरण गर्न सकिन्छ । यसमा चासो दिन जरुरी छ,’ उनले भने ।

जुम्लामा देवल, गुफा र काठका पुल मात्रै होइनन् थुप्रै पुरातात्त्विक तथा धार्मिक महत्त्वका सम्पदाहरू छन् । ती सबै सम्पदामा संरक्षणको अभाव देखिन्छ । नेपाली भाषाको उद्गम स्थल जुम्लालाई मानिन्छ । जुम्ला भाषाको मात्रै नभइ संस्कृति र सम्पदाको पनि उद्गम स्थल हो । कर्णालीको भूगोल प्राकृतिक दृष्य र सुन्दरताले धनी नै छ । मानव निर्मित साँस्कृतिक सम्पदामा पनि निकै नै अग्रस्थानमा देखिन्छ । यहाँ रहेका सम्पदाको संरक्षण, यसको खोज र अध्ययनमा बेवास्ता गरिँदै आएको छ । ती सम्पदाहरूले आफ्नो अस्तित्व खोजीरहेका छन् ।

सम्पदा हाम्रा इतिहास हुन् । ती सबैका आफ्नै महत्त्व छन् । सबैजसो सम्पदाको आफ्नै किवंदन्ती पनि छ । हामीले अहिले देखिरहेका साँस्कृतिक, धार्मिक र पर्यटकीय सम्पदाहरू युगौंदेखि उभिएका छन् । यी सम्पदा हेर्दै हाम्रा थुप्रै पुस्ताहरू बिलाइसके । सदियौंदेखि आफ्नो अस्तित्व बचाएर ठडिइरहेका यस्ता सम्पदाहरू संकटमा छन् । संरक्षणको पखाईमा छन् ।खपुराना सम्पदाहरूको संरक्षण, संवद्र्धन नगर्ने र नयाँ पुस्तालाई हस्तान्तरण नगर्दा अस्तित्व नै लोप हुने देखिन्छ ।

प्रकाशित मितिः   २८ चैत्र २०७७, शनिबार ०६:००