पढाइमा सधैँ प्रथम

घनश्याम खड्का सुर्खेत होराइजन एकेडेमीका प्रिन्सिपल हुन् । २०४३ साल कार्तिक ७ गते बुवा मोतिराम खड्का र आमा देवीसरा खड्काको सन्तानका रूपमा बराहताल गाउँपालिको पाग्मामा जन्मिएका उनी विगत १६ वर्षदेखि शिक्षण पेसामा आवद्ध छन् । बाल्यकालदेखि देखेको सपनाअनुसार शिक्षण पेसामा रमाइरहेका खड्काले हाम्रा सहकर्मी मुना हमाल सँग आफ्नो बाल्यकालको सम्झना यसरी साटेः

घनश्याम खड्का

वीरेन्द्रनगरदेखि करिब १३/१४ किलोमिटरको दुरीमा छ, हरिहरपुर । प्रदेश राजधानीसँगै जोडिए पनि विकासको हिसाबले पछि परेको छ । अहिले भर्खर मात्रै मेरो गाउँमा बत्ती पुगेको छ ।

त्यो भेगकै एक मात्र माध्यमिक विद्यालयका रूपमा विजयश्वरी माध्यमिक विद्यालय थियो । हरिहरपुरका मात्र होइन तरङ्गादेखि पनि विद्यार्थीहरू सोही विद्यालयमा पढ्न आउथे । मैले पनि कक्षा एकदेखि दशसम्म त्यही विद्यालयमा पढेँ ।

गाउँले परिवेशमै बाल्यकाल बित्यो । सबैका घरमा गाईबस्तु हुन्थे । गाईबस्तु चराउँदै र घाँस–दाउरा गर्दै पढियो । पढाइबाहेक बिहानको समय र साँझ स्कुलबाट फर्किसकेपछि घाँस–दाउरा काट्न जानु पथ्र्यो । परीक्षाको समयमा पनि परीक्षा सकिए पछि घाँस–दाउरा गर्नु हाम्रो नियमित कमा हुन्थ्यो ।

भेरी नदी तरेर जङ्गल जानुपथ्र्यो । सिमलको काठबाट डुङ्गा बनाइएको हुन्थ्यो । त्यसैमा चढेर नदी वारपार गरिन्थ्यो ।

गाउँमा भर्खरै मात्र बत्ती पुगेको छ । त्यसबेलामा हामीले टुकी बालेर पढ्थ्यौं । मट्टितेल सकिएपछि कहिलेकाँही दियालो बालेर पढ्नु पथ्र्यो । घरायसीदेखि आवश्यक सामान लिन वीरेन्द्रनगर आउनुपथ्र्यो । प्रायजसो बुवा र दाइहरू नै आउनुहुन्थ्यो । म पहिलो पटक कक्षा ८ मा पढ्दा वीरेन्द्रनगर बजार आएको थिएँ । हिँडेर नै वीरेन्द्रनगरमा आउनुपथ्र्यो ।

त्यतिबेला म किताब किन्न भनेर आएको थिएँ । बिहान वीरेन्द्रनगर आएर साँझ फर्किनुपर्ने भए पनि हिँड्न नसकेर त्यसदिन फुपुकै घरमा बसेँ । त्यहीबेला हो मैले पहिलोपटक हलमा गएर फिल्म हेरेको, ‘नाता रगतको’ ।

कक्षामा सधैं प्रथम

पढाइमा राम्रो विद्यार्थी थिएँ । कक्षा एकदेखि दशसम्म पढ्ने बेलामा प्रथम भएँ । कक्षा एकमा प्रथम हुुँदा अब अर्को कक्षामा पनि प्रथम हुनुपर्छ भन्ने लाग्थ्यो । प्रथम हुुँदा पुरस्कार पाइन्थ्यो । त्यसले झन् उर्जा थपिन्थ्यो । म लजालु स्वभावको भएकाले खासै शिक्षकहरूसँग प्रश्न भने गर्दैन्थे ।

२०६० सालमा मैले एसएलसी दिँदा हाम्रो विद्यालयबाट म मात्रै उत्तीर्ण भएको थिएँ । त्यसबेलामा सजिलैसँग नतिजा थाहा हुदैन्थ्यो । पत्रिकाहरू प्रकाशन हुन्थ्यो । मोबाइल फोन हुन्थेन । रिजल्ट आएको भोलिपल्ट वीरेन्द्रनगर आएको थिएँ । बाङ्गेसिमल आउने बित्तिकै ‘बुलबुले’ पत्रिका भेटेँ । आफ्नो नाम देख्दा खुीिको सीमा नै थिएन । भोलिपल्ट घरमा गएर आफू पास भएको थाहा दिएँ ।

सानैदेखि शिक्षक बन्ने सपना थियो । एसएलसीपछि घरमा स्वास्थ्य क्षेत्रतर्फ पढाउने परिवारको इच्छा थियो । सिएमए पढ्नका लागि भन्नुु भएको थियो । सिएमए पढ्नका लागि त्यस बेलामा १९ हजार धरौटी राख्नु पथ्र्यो । त्योबेलामा हाम्रा लागि ठूलो रकम नै हो । खेती किसानी गर्ने परिवारसँग त्यो रकम जुटाउन मुस्किल नै थियो । पु¥याउन सक्ने अवस्था भएन । त्यसपछि मैले सुर्खेत शिक्षा क्याम्पसमा कक्षा ११ मा अंग्रेजी र इकोनोमिक्स विषय लिएर पढेँ । कक्षा १२ को परीक्षा दिए पछि मैले शिक्षण पेसा सुरु गरेँ ।

कक्षा नौं मा पढ्दा बुवाको निधन भयो । उमेरले कम भए पनि क्यान्सर भएको थियो । दाइ पहिले नै छुटिसक्नु भएको थियो । त्यसैले पनि बुुवाको निधनपछि घरको जिम्मेवारी मेरो काँधमा आयो । त्यसले पनि जिन्दगीका राम्रा पाटाहरू पनि सिकायो । दुःख, संघर्ष गर्न सिकायो ।

विद्यालयको दिउँसोको छुुट्टीको समयमा बयर खान गएको सम्झना आउँछ । पाग्मा र भेरी नदीको टापुमा बयर खान जान्थ्यौँ । एक दिन काँडाले साथीको कपडा च्यातियो । विद्यालय डे«स च्यातिए पछि साथीले स्कुुल जान्न भन्न थाल्यो । म च्यातिएको सर्ट लगाउँछु भनँे । अनि आफ्नो कपडा दिएर मैले उसको च्यातिएको कपडा लगाएर गएँ । पछि सजाए पनि मैले पाएँ ।

हामीले त्यसबेलामा बिताएका बाल्यकालको समय र अहिलेको धेरै फरक छ । अहिले सिकाईका कुराहरू आधुनिक भइसक्यो । हामीले इन्टरनेट, फोन भन्ने नै देखेनौँ । किताबमा जे हुन्थ्यो त्यही पढ्थ्यौँ । शिक्षकले जे सिकाए, त्यही सिक्थ्यौँ । बाल्यकाल अभाव, दुःख र संघर्षमा बित्यो । तर पनि सन्तुुष्ट थियौँ । ठूला–ठूला आकांक्षा थिएनन् । पढ्नुु पर्छ भन्ने चाहि हुन्थ्यो । त्यस बेलामा तत्कालीन माओवादीले अनिश्चितकालका लागि विद्यालयहरू बन्द गर्दा जसरी पनि एसएलसी पास गर्न पाएको भए हुन्थ्यो भन्ने लागेको थियो । अहिलेका बालबालिकाले इन्टरनेट, टेक्नोलोजिको माध्यमबाट धेरै कुरा थाहा पाउँछन् ।

बाल्यकालमा पढाइबाहेक गीत संगितमा पनि रुचि थियो । मैले गीतहरू पनि लेख्ने गर्छु । अहिले आएर आफैले लेखेका केही गीतहरूको म्यूजिक भिडियोमा अभियन पनि गरेको छु । अहिलेसम्म पाँच वटा गतिहरू रेकर्ड गरेको छु । हातमा बाला, मजेरीको दियो, लुकीलुकी, हे ब्यूटीफुल र बितेको पल गीत रेकर्ड गरेको हुँ । अहिले म राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको मानार्थ सदस्य, फोर्कलर सोसाइटी नेपालको संस्थापक महासविच र रोयल्टी संकलन समाज नेपालमा आवद्ध छु ।

मेरो सानैदेखि सामाजिक कार्यहरूमा पनि रुचि थियो । हामी क्लबहरू मार्फत गाउँमा विभिन्न कार्यक्रमहरू गथ्र्यौ । अहिले पनि विभिन्न संघ–संस्थामा आवद्ध भएर सामाजिक कार्यहरूमा सहभागी हुन्छु । लायन्स क्लब अफ सुर्खेत रोयलको अध्यक्ष छु ।

मैले २०६३ सालदेखि अंग्रेजी विषयको ट्युशन पढाउन थालेँ । मैले अंग्रेजी र छत्र बडुवालले गणित पढाउँथ्यौं । मिलेरै पढाउँथ्यौं ।

म किताबहरू पनि लेख्ने गर्दछु । कक्षा ८ देखि स्नातकसम्मका प्राटिक्स बुुकहरू लेखेको छु । शिक्षण पेसासँगै लेखन कार्यलाई पनि अघि बढाएको छु । कुनै पनि लक्ष्य हासिल गर्नका लागि आफ्नो धरातल सम्झेर उद्देश्य प्राप्तिका लागि निरन्तर अघि बढनुपर्छ । त्यसैमा लागिरहँदा एउटा उद्देश्यमा पुगिन्छ भन्ने लाग्छ ।

प्रकाशित मितिः   २८ चैत्र २०७७, शनिबार ०६:००