पैठ–दुई

गाइज


महेश नेपाली

‘हेलो गाइज’ विद्यालय बन्दको अर्काे सूचना निस्कने बित्तिकै क्यान्टिन निस्किएका झुमा, रहिना, महाशंकर र बक्रामतिर हात हल्लाउँदै आइते बोल्यो ।

‘खुब के–के न पीएचडी नै गरौंला भनेजस्तो गरि पड्न आउनुभएको थियो त ? प्रदूषण कस्तो छ ध्यान, स्यान दिनुपर्दैन । खाली पढाइ मात्र रे’ क्यान्टिनको टेबुलमा बस्दै आइते फतफतायो ।

‘हेहे पढ्न नपाए के भयो त ? तिमीहरूसँग गफ गर्नलाई भए पनि कलेज त पुग्नै प¥यो नि । त्यसमाथि तिमीरहरूका गफ सुन्न पाइन्छ । के थाहा हामीले गर्ने गफबाट भोली पिएचडी गर्नलाई कुनै विषय पो भेटिहाल्छ की ।’ झुमाले यति भन्दै गर्दा महाशंकरले चिया मगायो । ‘ह्या यस्तो भइरहने हो भने म त घर जान्छु । केही समय क्लास मिस भए होस् । बैशाख पुर्णिमासम्म उतै बसेर कन्डिसन हेरेर फर्किनु पर्ला । पैठ सैठ पनि हेराई हुन्छ ।’ आइलेले योजना सुनायो । ‘म पनि त्यही सोचिरहेकी छु’ झुमाले थपि ।

‘अँ साच्चै अस्ति हामीले एक पटक पैठको बारेमा छलफल गरेका थियौं है । त्यसबेला केही कुरा बाँकी रहेजस्तो लागेको थियो । अब तपाईंहरू त पैठ हेर्न पाउनुहुन्छ । हामीले कुरा सुन्न पाए हुन्थ्यो नी । ल आज बाँकी कुरा पुरा गरौं न । पछि त उही जुमबाट भेट हुने त होला नी’ रहिनाले विषय छानी ।

‘सहि हो यार । आज चैं मज्जा आउने भयो । तर एउटा सर्त पैठको बारेमा दिदीले भन्ने मात्र हामी सुन्ने मात्रै । प्रवचन टाइपको गरौं न’ बक्रामले सहमति जनायो । ‘पैठको बारेमा त दिदी र आइते दुवैले उत्तिकै राम्रो प्रवचन दिन सक्नु हुन्छ जस्तो लाग्छ, मलाई । कसले भन्ने ?’ ‘दिदी हुँदाहुँदै म कहाँ जान्ने पल्टिनु ? फेरी प्रवचन दिने जस्तो कठिन कार्य’ आइते पन्छिन खोज्छ ।

‘नाई तिमी पनि त गुड स्टोरी टेलर हौ नी । अनि यो विषयमा तिमीले अस्ति एउटा सानो सोध पनि त गरेका थियौ नी । तिमी नै भन ।’ ‘ल ढिलो नगरिकन कुरा सुरु गरिहाल त आइते । अब कोही बोल्ने छैन है’ महाशंकरको आदेशलाई आज्ञाकारी छात्रलेझैं पालना गर्दै आइतेले प्रवचन सुरु गर्छ ।

‘म पहिला पूर्णिमाबाट कुरा सुरु गर्छु । मस्टो देउताको पूजा लाग्ने मध्ये कार्तिक पूर्णिमा ठूलो मानिन्छ । जसलाई बलि खाने पुर्णिमा पनि भनिन्छ । कार्तिक पुर्णिमाको बेला अधिकांश थानहरूमा खसी, बोका, कुखुराको बलि दिने चलन छ । जुम्लामा मष्टो देउताको पूजा लाग्ने बैशाख, साउन, कार्तिक र माघ पूर्णिमा मध्ये साउन पूर्णिमामा तिर्थ व्रत गरिने तथा मागलाई धर्मी महिना मानिने हुनाले बलि चढाइदँैन ।

वैशाख र कार्तिक पूर्णिमामा भने भोगको रूपमा बोको बलि चढाउने चलन छ । बोको चढाउने चलन पुर्नउत्पादनसँग जोडिएको छ । पञ्चायती राज्य व्यवस्थाले जुम्लाका हरेका गाउँमा कम्तीमा पाँच कक्षासम्म पढाइ हुने स्कुल खोलेको थियो । आज ती गाउँका स्कुलहरू केही अपग्रेड भएर १२ कक्षासम्म पढाइ हुने भएका छन् ।

कति स्कुलहरू राजनीतिको कुचक्रमा फसेर बन्द भइसेका छन् भने कति बन्द हुने अवस्थामा पुगेका छन् । त्यस्तै कर्णालीमा सभ्यताको सर्वेपरी विधान मस्टो परम्पराले पुस्तौंअघि जुम्लाका हरेक गाउँमा कम्तीमा एउटादेखि दशौंसम्म देउताका थान निर्माण गरेर गन्ने मान्य कुल देउटा र इष्ट देउता पुज्ने ठाउँ छोडेर गएको छ । विशेष गरि मष्टो देउताका थान बढी छन् ।

मष्टो संस्कृतिको उद्गमस्थल कर्णाली प्रदेश मानिन्छ । माहाकाली नदिदेखिको त्रिशूली नदिसम्मको पर्वतीय खण्ड, सिंजा साम्राज्य अन्तर्गत हाल तिब्बतमा पर्ने खारी प्रान्त र भारतीय पहाडको भूभागको काश्मीरदेखि कुमाउसम्मको क्षेत्र विस्तार भएको थियो ।

यही क्षेत्रमा बसोबास गर्ने मानिसहरूले पुज्ने देउतालाई मष्टो भनिन्छ । त्यसैले मष्टो देउता कर्णालीका मान्ठहरूका कुल देउता हुन । मष्टो परम्परा कर्णाली क्षेत्रको सभ्यता र संस्कृतिको अभिन्न अङ्ग हो । अध्येता डा. पर्याकराज शर्माका अनुसार मष्टो कर्णाली प्रदेशको अत्यधिक लोकप्रिय ग्राम देवता हो । मष्टोबारे विभिन्न लेखकहरूका भिन्न किसिमाका मतहरू पाइन्छन् । कोही मरुत् देवबाट मष्टो आएको भन्छन् भने कसैले भगवान शंकरको शक्तिशाली वीरभद्र वा क्षेत्रपालको रूपमा लिन्छन् । ‘मष्टो परम्परा र संस्कृति’का लेखक श्यामबहादुर खड्का मष्टो देउतालाई भगवान इन्द्रको छोरा मान्छन् ।

कर्णालीमा कुन कामको सुरुवात कहिले गर्ने ? साइत के गर्ने ? भन्ने सबै मष्टोको प्रतिनिधिबाटै हुन्छ । शत्यमोहन जोशी आफू कर्णाली क्षेत्रमै बस्दाको समय देखेका मष्टोका धामीलाई यसरी सम्झिन्छन्, ‘फलानो दिन धानको बीऊ राख्ने भनेर छुट्याएपछि सबैले त्यही दिन राख्ने । त्यो बीऊ राख्ने दिन तोक्ने काम मष्टोको धामीले बताउँथ्यो । ठ्याक्कै त्यही दिन कर्णाली अञ्चलभर लागू हुन्थ्यो ।’

सबै कामको साइत दिने धामी नै हुन । धामी मष्टोको प्रतिनिधि हुनाले सामाजिक नेतृत्व मानिन्छन् । खेतीपाती, धर्मकर्म, भोटमधेश बिहे व्रतबन्ध, सबैको लागि धामी सर्बेसर्बा हुन् । तर, पछिल्लो समय यसरी धामीको अनुमति लिने चनल घट्दै गएको छ । यद्यपि केही ठाउँमा कायमै छ । जुम्ला सिंजाको मोफ्लामा अहिले पनि धामीकै बोलवाला चल्छ । उसले दिएको दिन बाहेक अगाडी पछाडि गर्न पाइदैन । मष्टोलाई न्याएका देउता पनि भनिन्छ । अन्यायमा परेका मान्छेले मष्टोलाई सम्झिने गर्दछन् । महिला वा छोरीहरूले अन्याय भएको भनि आँसु बगाइन् भने मात्र पनि उनीहरूलाई न्याय दिलाउने काम मष्टोले गर्छ, भन्ने विश्वास छ । ती बाहेक अरूले न्याय माग्नका लागि बलि चडाउनुपर्ने मान्यता छ ।

न्याय पाएपछि देउता खुसी बनाउन पनि बलि नै दिने चलन कायम छ । त्यस्तै कुनैपनि शुभकार्यको लागि सबैभन्दा पहिला सम्झिने कुल देउता नै हुन । सरकारी जागिर पाउँदा, सेना वा प्रहरीमा काम मिल्दा वा अरु सफलता हात लाग्दा हर्सले देउता रिजाउन बलि दिने गरिन्छ ।

आपतमा सहयोग गर्नेलाई इष्ट देउता भनिन्छ । घरदेखि टाढा हुँदा सहयोग गर्ने देउतालाई कुल देउताझैं पुज्ने गरिएको धामी र थानबारे पाँच वर्ष लगातार अनुसन्धान गरेका सिंजा लुड्कुका तुङ्गनाथ उपाध्याय बताउँछन् । बलि चढाउने उपयुक्त समय भनेको कार्तिक पूर्णिमा हो । त्यसैले कार्तिक पूर्णिमामा ठूलो संख्यामा एकै थानमा बलि दिइन्छ ।

मष्टो परम्पराको महŒवपूर्ण पक्ष, यो हिन्दु परम्पराजस्तो अन्यायपूर्ण छैन । हिन्दु धर्म विधानमा पूजा पाठको अधिकार केवल एउटा जाति विशेषसँग मात्र हुन्छ । त्यस बाहेक अरु सबै अनुसरण गर्ने मात्र हुन । तर मष्टो परम्परा फरक छ । मष्टोको प्रतिनिधि जनसुकै जातको हुन सक्छ । न उसले कसैमाथि विभेद गर्छ, न फलानो धामी यो वा ऊ जताको हो, यसले भनेको मान्दैनौं भन्ने कथित माथिल्लो वा तल्लो जातिका नै भेटिन्छन् । सिंजा मोफ्लामा रहेको राहादेव देउताका धामी सार्की जातका हुन्छन् भने पाली सबै गाउँलेहरू हुन्छन् । कुल देउता र इष्ट देउता सबैका प्रतिनिधि पात्र जोसुकै कोही जातको हुन सक्छ ।

पछि मष्टो परम्परको हिन्दुकरण भएपछि यसमा थुप्रै परिवर्तन भएका छन् । धामीहरू पनि कतै न कतै चुकिरहेका छन् । मष्टोका धामी छुई (छाउपडी) प्रथाको ढोका पाले भएको आरोप लाग्ने गरेको छ । विशेष त कर्णली र सुदूर–पश्चिमका केही पहाडी जिल्लामा जातीय विभेद भन्दा बढी क्रुर रूप धारण गरेका कारण थुप्रै महिलाले गोठमा अनेकौं पीडा भोग्नु परेको छ भने कतिले ज्यान गुमाएका छन् । साथै यसैलाई निउ बनाएर कति एनजिओ र आइएनजिओहरू समेत छिर्ने ढोका खुलेको छ ।

मष्टोका धामीहरू आपसी सम्वाद गर्दा भोटेहरूको जस्तो भाषा बोल्छन् । अरुले बुझ्दैनन् । कर्णाली क्षेत्रमा पुजिने अधिकांश देउताहरू भोटबाट आएको बुढापाकाहरू बताउँछन् । उनीहरू आफ्ना पालीहरूसँग पुराना दिन सम्झिदा भीर पाखामा दुःख भोगेको पड्यौली हाल्छन् । यसले उनीहरू भोटबाटै आएको बुझ्न गाह्रो पर्दैन । उनीहरू आएको र उनीहरूको जस्तै भाषा बोलिने भोटमा छुई प्रथा छैन । अनि मष्टो वा मष्टोको धामी छुई प्रथाको ढोका पाले कसरी हुनसक्छ ? त्यसैले छुई प्रथासँग कुनै न कुनै रूपमा हिन्दु संस्कार र संस्कृतिको साइनो छ । मष्टो परम्परालाई विटुल्याउने काम हिन्दु संस्कार कै हुनुपर्छ ।

त्यस्तै उनीहरू बस्ने खोपा, थान लगायतका स्थानहरू हुन । सबै थानमा त्रिकोणत्मक आलम (झण्डा) प्रयोग भएको हुन्छ । जुन नेपालको राष्ट्रिय झण्डा विकासको आधार हो । छाना काठका हुन्छन् । महङ्गा धातुका मूर्तिहरू हुँदैनन् । काठको तारूमा (बिम) ध्वजा बाँधिएको हुन्छ । वर्षमा चार पटक थान पुज्दा वा धुमेलो बसाल्दा अथवा हेराउन, कोराउन (हेराउने) गर्दा प्रयोग हुने थानको साजसज्जा धेरै आकर्षक हुँदैन । गोरू रङ्ग वा रातो वा कालो माटोले पोत्नु नै रंगरोगन र साजसज्जा हो ।

मष्टो मान्नेहरू प्रकृति पुजक भएकाले काठको सामान्य प्रयोगमा मात्र गर्ने गरेको देखिन्छ । कलात्मक ढङ्गले कुँदेका काठका मुर्तिको रूपमा मुर्काट्टो र धौले (घरको छतमा राखिने) मात्र हुन् । धामी पतुर्ने बेला हातमा समाउने चौंरी फुर्को (चौंरीको पुच्छर) हो । हाल त्यसको ठाउँमा घण्टा आएको छ ।

केही समय अघिसम्म काठले मात्र बनेका थानमा जस्ता पाता हालि सकिएको छ । धामी देखि सबैको रोजाईमा जस्ता पाता नै हुन थालेका छन् । जस्ता पाता हुनु, थान सम्पन्न हुनु हो । मानौ थान समृद्धिको आधार नै जस्ता पाता हो । पालीहरूले जस्ता पाता हाल्न चासो देसाएनन् भने धामी रिसाउन वा रुष्न थाल्छन् । पालिले बचन दिए भने खुसी भैहाल्छन् ।

जिल्लाको सबैभन्दा ठूलो सुनरगाँ मष्टोको थानमा जस्तापाता प्रयोग भएको उहिल्यै हो भने अरु थानपनि विस्तारै जस्ता पातावाला समृद्धिको उकालो चढिरहेका छन् । हालसम्म जिल्लामा त्यस्तो कुनै थान छैन जसमा जस्ता हालिएको नहोस् ।

अब १२ भाइ मष्टाकी बहिनीहरू बस्ने सानो खोपो पनि एउटा जस्तापातालाई टुक्र्याएर बनाउन थालिएको छ। मष्टोकी बहिनी भनेर पतुर्ने उनीहरूका खोपो जस्ताको भएन भने रुसिहाल्छिन् । फकाउनलाई जस्ता हाल्ने बचन दिनुपर्छ ।

नगरपालिका र गाउँपालिकाका बजेट पनि थानमा जस्तापाताको लागि खर्च हुन थालेको छ । जुम्लाको कुनैपनि थानकमा काठ बाहेक अरु धातु प्रयोग परम्मरा होइन । पछिल्लो समय स्थानीय स्रोत साधको प्रयोग हुने र परम्परागत मूल्य मान्यतालाई कायम राख्ने विषयमा सोचिएन । आफ्नै सीप, क्षमताको प्रयोग गरेर त्यसलाई नयाँ ढाँचामा ढाल्दा स्वीकार्य हुन्छ । अब हाम्रो आफ्नो भन्नु के नै बाँकी रह्यो र ?

मेरो दिमागमा यति नै आयो । बाँकी कुरा पछि पनि गरौंला ।’ यति भनेर आइतेले प्रवचन सकायो । ‘वाओ गज्जब यार गज्जब । त्यसै तँलाई छान्छु त । तँ त गुड स्टारी टेलर नै होस नी,’ रहिनाले दुसी हुँदै भनि, ‘एक कप चियासैं दुनड पनि खा ल, मेरो तर्फबाट ।’