चीनको लगानीमा सुर्खेतमा मेडिकल कलेज बन्ने

सुर्खेतमा मेडिकल कलेज (शिक्षण अस्पताल) स्थापनाका लागि चीनले सहयोग गर्ने भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको मातहतमा रहनेगरी वीरेन्द्रनगरमा मेडिकल कलेज स्थापना गर्ने समझदारी पत्रमा मंगलवार चीन र नेपालबीच हस्ताक्षर भएको छ ।

चीन सरकार र त्यहाँको चिउच्याङ्ग विश्वविद्यालयले सुर्खेतमा मेडिकल कलेज स्थापना गर्न मध्यपश्चिमाञ्चल विश्वविद्यालयसँग सम्झौता गरेको छ । शिक्षा मन्त्री धनिराम पौडेलको उपस्थितिमा मंगलवार सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

चीनको तर्फबाट त्यहाँको चिउच्याङ्ग विश्वविद्यालयका उपाध्यक्ष चेउ च्याङ्ग र नेपालको तर्फबाट मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । मेडिकल कलेजको सम्भाव्यता अध्ययन गर्न सुर्खेत आएको चिनियाँ टोलीले यस क्षेत्रमा मेडिकल कलेज संचालन गर्न सहज भएको जनाएको छ ।

हस्ताक्षर कार्यक्रममा सहभागि शिक्षा मन्त्री धनीराम पौडेलले मध्यपश्चिम विश्वविद्यालयलाई समृद्ध बनाउन सरकार गम्भीर रहेको भन्दै चिनसँगको हस्ताक्षरले विश्वविद्यालयको थप विकासमा सघाउ पुग्ने बताए । साथै उनले यसले चीन र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउने विश्वाससमेत व्यक्त गरे ।

प्रकाशित मितिः   १४ मंसिर २०७३, मंगलवार १७:४७