एशिया कपमा नेपालको लगातार तेस्रो पराजय
थाइल्याण्डमा जारी एशिया कप महिला ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार तेस्रो पराजय ब्यहोर्नेक्रममा नेपालले बंगलादेशसँग ९२ रनले पराजित भएको छ ।
१३४ रनको बिजयलक्ष्य पछ्याएको नेपाल १७।३ ओभरमा ४१ रनमै समेटियो । नेपाली ओपनर सीता रानामगरले मात्रै दोहोरो अंकको रन बनाउन सफल रहिन् । उनले १५ रन जोडिन् । नेपालका चार ब्याट्सवुमनले खाता नै खोल्न सकेनन् ।
बलिङतर्फ बंगलादेशकी फहिमा खातुनले सर्बाधिक ४ विकेट लिँदा नाहिदा अक्तरले २ विकेट लिइन् ।
यसअघि टर जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ४ विकेट गुमाएर १३३ रन बनाएको थियो । उसका लागि ओपनर सञ्जिदा इस्लामले ३५ र नागर सुल्तानाले ३९ रन बनाउँदै उकृष्ट सुरुवात गरेका थिए । त्यस्तै साइला सर्मिनले १९ र कप्तान रुमाना अहमिदले पनि १७ रन टोलीको खातामा जोडे ।
बलिङतर्फ नेपालकी संगीता राईले दुई विकेट लिइन्, त्यस्तै कप्तान रुविना क्षेत्री र सीता मगरले समान एक एक विकेट लिए ।
नेपालले यसअघिका दुवै खेलमा पराजय ब्यहोरिसकेको छ । पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा श्रीलंकासँग नेपाल पराजित भएको थियो ।
प्रतियोगिताको आफ्नो चौथो खेलमा नेपालले पर्सी बिहीबार आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मितिः १४ मंसिर २०७३, मंगलवार १६:२४
साझा बिसौनी ।