‘जनयुुद्धका उपलब्धी खतरामा’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धले हासिल गरेका उपलब्धीहरू खतरामा परेको बताएका छन् । बिहीवार वीरेन्द्रनगरमा अखिल नेपाल महिला संघ (क्रन्तिकारी) कर्णाली प्रदेश समन्वय समितिले आयोजना गरेको प्रदेशस्तरीय बृहत भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्धका उपलब्धीहरू खतरामा परेको बताएका हुन् । उपलब्धीको रक्षा गर्न अब नयाँ क्रान्ति आवश्यक रहेको समेत अध्यक्ष प्रचण्डले बताए ।

उनले अब नयाँ प्रकारको जनयुद्ध गर्नका लागि तयार हुनुपर्नेमा जोड दिए । संविधानलाई उल्टाउने षड्यन्त्र भएको भन्दै यसलाई रोक्ने जिम्मेवारी आफूहरूको काँधमा आएको भन्दै प्रचण्डले भने, ‘अब नयाँ प्रकारको जनयुद्ध गर्न आवश्यक छ ।’ पहिलेको जसरी बन्दुक उठाएर क्रान्ति गर्ने पक्षमा भने आफूहरू नरहेको उनको भनाइ थियो । ‘अब आवाज लिएर सडकमा उत्रिनुपर्ने महसुस भएको छ । देशभर प्रतिक्रान्तिका खतरा छन् । यसलाई रोक्नुपर्छ,’ उनले भने ।

कम्युनिष्ट एकता गरेर समाजवादको आधार निर्माण गर्ने सपनासहित वामगठबन्धन गरिएको उनले बताए । वाम एकतालाई फेरि एक गराउने संकल्प लिएर आफूहरू लागेको अध्यक्ष प्रचण्डले जनाए । उनले संगठनलाई मजबुुत र गतिशील बनाउन नेतृत्वबाट कमजोरी भएको स्वीकार गर्दै अब आफ्ना कमजोरीहरूलाई पनि सच्चाउँदै लैजाने उनले बताए ।

प्रकाशित मितिः   २७ चैत्र २०७७, शुक्रबार ०६:००