डढेलोको डर

पछिल्ला केही दिनयता देखिएको वातावरण प्रदूषणको मुख्य कारण वन डढेलो भएको विज्ञहरू बताउँछन् । गर्मीयाम लागेसँगै बढेको वन डढेलोले धुवाँ र धुलोको मात्रा बढाएको छ । जसका कारण वातावरणमा एक्कासी अनपेक्षित प्रदूषण देखिन थालेको छ । यसले मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर पु¥याइरहेको छ । किनभने डढेलोबाट निस्कने धुवाँ स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यो धुवाँले आँखा पोल्ने तथा चिलाउने, पिरो हुने र श्वासप्रश्वासमा समस्या ल्याउने गर्छ । नागरिकमा यस खालका समस्या समेत देखिन थालिसकेका छन् । त्यसकारण वन डढेलोले एकातर्फ वनजङ्गल सखाप पारिरहेको छ भने सँगसँगै मानव स्वास्थ्यलाई समेत निकै ठूलो क्षति पु¥याइरहेको छ ।

गर्मीको समयमा आगलागीका घटना बढी हुने गर्दछन् । भर्खरै मात्र गर्मी बढेको छ । यो अझै केही महिना बाँकी रहनेछ । वैशाख र जेठ महिना अझ बढी गर्मी हुने महिना हुन् । यो समयमा आगलागी र वन डढेलोका घटना पनि थप बढ्ने जोखिम हुन्छ । यो निकै चिन्ताजनक अवस्था हो । एउटा सानो वन डढेलोले असंख्य क्षति पु¥याइरहेको हुन्छ; जुन हामीले गरिने हिसाबभन्दा कैयन् गुणा ठूलो हुने गर्छ । यसले वनमा रहेका ठूला तथा मूल्यवान् रूख, साना बिरुवा र पुनरुत्पादनलाई नोक्सानी पु¥याई सरलरूपमा आपूर्ति भएको वनबाट प्राप्त हुने सेवा तथा वस्तु आपूर्ति चक्रलाई ध्वस्त बनाउँछ । यसरी वन डढेलोले वनमा रहेका अमूल्य तथा दुर्लभ वनस्पति एवम् महŒवपूर्ण जडिबुटीको हानी गरी पारिस्थितिकीय प्रणाली, जैविक विविधतालगायतमा मात्र नभइ आर्थिक दृष्टिकोणले समेत नोक्सानी गर्ने गर्छ । वन डढेलो नियन्त्रण तथा व्यवस्थापन नगर्ने हो भने यसले पु¥याउने नोक्सानको मात्रा अझ बढ्दै जाने निश्चित छ ।

आगलागीका दुई वटा कारण छन् । एउटा प्राकृतिक रूपमै पनि आगलागी हुने गर्दछ । भने दोस्रो, मानवीय त्रुटिका कारण आगलागी हुन्छ । सानो गल्तीले ठूलो डढेलो निम्त्याउँछ । तर यसको नियन्त्रणमा ध्यान दिइएको छैन । वन डढेलो नियन्त्रण तथा नीतिगत कार्यान्वयन गर्ने प्रमुख निकायहरूले नै बेवास्ता गर्दै आएका छन् । कतिसम्म भने सम्बन्धित निकायहरूसँग डढेलोबारेमा चाहिने आधारभूत तथ्यांक, आगलागी हुन सक्ने सम्भावित क्षेत्रहरूको पहिचान वा डढेलो लागिहाले नियन्त्रण गर्नेका लागि उपयुक्त स्रोत साधन छैन । वन डढेलो नियन्त्रणका लागि पूर्वानुमान वा पूर्व रोकथाममा ध्यान नदिँदा ठूलो क्षति बेहोर्नुपरिरहेको छ । तीन तहका सरकार बने पनि यससँग सम्बन्धित प्रभावकारी योजना र तयारी कसैसँग छैन । वन जोगाउन सामुदायिक वन अवधारणा कार्यान्वयनमा छन् । तर वन जोगाउने दायित्व बोकेका उपभोक्ताहरू नै यसप्रति जिम्मेवारी नबन्दा वर्षेनी वन आगलागीले सखाप बनाउँछ । वन जोगाउनु सबैको दायित्व हो । यो दायित्व राज्यको पनि हो र नागरिकको पनि हो । दुवै पक्ष सचेत भए डढेलोको जोखिम नियन्त्रण तथा रोकथाम गर्न सकिन्छ । डढेलो रोकथाम गर्न सके मात्र प्राकृतिक सम्पदाको रक्षा र मानव जीवनको सुरक्षा गर्न सकिन्छ ।

प्रकाशित मितिः   २७ चैत्र २०७७, शुक्रबार ०६:००